+
+

पार्टी प्यालेसमा मनपरीः खसीको भनेर बाख्राको मासु !

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते १८:१०

१७ भदौ, काठमाडौं । शहर तथा शहरोन्मुख गाउँहरुमा पार्टी प्यालेसहरु बाक्लिएसँगै बैंक्वेट कल्चर झांगिँदैछ । तर, जति बैंक्वेटहरु बढ्दैछन्, अस्वस्थ प्रतिस्पर्धा पनि बढ्दैछ ।

यसको नकारात्मक प्रभाव बैंक्वेटहरुको खाना र सेवाको गुणस्तरमा देखिन थालेको छ । यहाँ हुने बदमासीतर्फ सरकारी निकायको ध्यान पुग्न सकेको छैन । राजमार्गको होटलका खानाको समेत गुणस्तर नियन्त्रण गर्न असफल सरकारलाई बैंक्वेटका खनामा गुणस्तर नियन्त्रण गर्ने चुनौति थपिएको छ ।

शनिबार नयाँबजारको ‘नयाँ बजार पार्टी भेन्यु’ मा भएको घटना एउटा दृष्टान्त मात्र हो । उपभोक्ताले नै बोलाएपछि बैंक्वेटमा सरकारी अनुगमन टोली पुगेको थियो । तर, बदमासी गर्ने बैंक्वेटको पक्षमा लविङ गर्न घटनास्थलमै सांसद बसन्त मानन्धर पुग्नुले बैंक्वेटलाई सही बाटो हिँडाउन सहज छैन भन्ने प्रष्ट गरेको छ ।

विश्वास गुम्ने डर

पछिल्लो समयमा बैंक्वेटहरुमा बासी खाना खुवाउने प्रचलन बढेको पार्टी प्यालेस सञ्चालकहरु नै स्वीकार्छन् । पार्टी प्यालेसमा ठूला फि्रजहरु राखेर बचेका खाना राख्दै पाहुनालाई खुवाउन थालिएको एक व्यवसायीको भनाई छ । मूल्यमा अस्वस्थ प्रतिस्पर्धाका कारण यस्तो अवस्था आएको उनले तर्क गरे ।

पार्टी प्यालेसहरुको छाता संगठन इभेन्ट्स एन्ड भेन्यु एसोसिएसनका पूर्वअध्यक्ष श्रीमान सिंह पछिल्लो समय पार्टी प्यालेसहरुबारे आइरहेका गुनासो चिन्ताजनक रहेको बताउँछन् ।

‘यस्तो हुनु नपर्ने हो । गल्ती भयो भनेर माफी माग्ने विषय नै होइन । यो जानाजानी जनस्वास्थ्य माथिको खेलवाड हो,’ सिंह भन्छन्, ‘पार्टी प्यालेस होटल होइन । बासी खुवाउने हाम्रो कल्चर नै होइन । हामीले ग्राहक धेरै बटुलेको प|mेस खाना दिएर हो । यस्तो लापरवाही हुनु लज्जाजनक भयो ।’

उनकाअनुसार केही समयअघिसम्म पार्टी प्यालेसमा पाँचतारे होटलका सञ्चालकहले समेत आएर खाने गर्थे । बिशिष्ट व्यक्तिहरु अझै पनि पार्टी प्यालेसको खानामा विश्वास गर्छन् । अब यही स्थितिमा अघि बढे पार्टी प्यालेसमाथिको विश्वास नै गुम्ने डर पुराना व्यवसायीलाई छ ।

कुहिएका तरकारी, बाख्राको मासु

‘बिजनेस राम्रो हुने देखेपछि आफ्नै जग्गामा पार्टी प्यालेस बनाउने धेरै भए । मूल्य केही घट्यो । भाडामा बस्नेले सेवा शुल्कबाट धेरै बचाउन खानेकुरामा सम्झौता गरिदिन थाले,’ सिंह भन्छन्, ‘अब पार्टी प्यालेसहरुको राम्रोसँग सुपरभिजन हुनुपर्छ ।’

पछिल्लो समयमा पार्टी प्यालेसहरुले बजारमा गलेका, नबिकेका, तरकारी उठाउन थालेका छन् । पसलहरुबाट म्याद सकिएका र लेभल नै नलगाएका सस्ता खाद्यान्न तथा मसलाहरु ल्याउन थालेका छन् ।

केही राम्रो खाद्यपदार्थमा अधिकांश गुणस्तरहीन तरकारी तथा खाद्यान्न मिसाएर मिष्ठान्न तयार गर्ने प्रचलन बढ्दै गएको छ । तेल पनि सकेसम्म सस्तो र गुणस्तरीहन प्रयोग गर्ने क्रम बढेको छ ।

एक व्यवसायीका अनुसार कतिपय पार्टी प्यालेसले खसीको मासुको लागि बुकिङ लिएर बाख्राको समेत खुवाउने गरेका छन् । किलोमै ५ सय रुपैयाँसम्म सस्तो पर्ने भएपछि बैंक्वेटहरुले मासुमा पनि सम्झौता गर्न थालेका हुन् । मासु पसलहरुबाट नबिकेका मासु उठाएर ल्याउने प्रचलन पनि चिन्ताजनक रुपमा बढेको छ ।

एशोसियसनका अध्यक्ष अनिल शर्मा पार्टी प्यालेसको सेवामा प्रश्न उठ्ने अवस्था आउनु दुखःद भएको बताउँछन् । उनले यस्तो अवस्था आउन नदिन शनिबार भएको घटनाको समिति बनाएर छाविन गर्ने बताए ।

‘हाम्रो व्यवसाय जनस्वास्थ्यसँग जोडिएको छ । त्यसैले यसमा हेलचेक्र्याइँ हुनुहुँदैन,’ उनले भने, ‘बढेका विकृति नियन्त्रण गर्न संघले काम गर्छ । सरकारले पनि गर्नुपर्छ ।’

रेष्टुरेन्ट जोडेर बदमासी

पूर्वअध्यक्ष सिंह पार्टी प्यालेसहरु जिम्मेवार बन्नुपर्ने बताउँछन् । ‘पार्टी प्यालेस भनेको आजै पकाउने, आजै खाने र आजै सकाउने हो । अर्डर भएर पनि खाना सकिएन भने ग्राहकलाई नै घरमा खानेकुरा पठाउँछौं हामी,’ सिंह भन्छन्, ‘आजको खाना भोलि खुवाउने हो भने त हामी होटल भइहाल्यौं नि ।’

पछिल्लो समयमा यो क्षेत्रमा बढेको अर्को विकृति हो, पार्टी प्यालेसमै कुनै कुनामा होटल, रेष्टुरेन्ट र खाजाघर चलाउने । यसका कारण नै सबैभन्दा बढी समस्या आइरहेको अर्का एक व्यवसायीको तर्क छ ।

‘रेष्टुुरेन्टका लागि खाना-खाजा तयार गरेर राखिन्छन् । बिकेन भने फेरि भेन्युमा लगेर खुवाइन्छ,’ ती व्यवसायी भन्छन्, ‘पार्टीका बचेको खाना रेष्टुरेन्टका ग्राहकलाई पनि खुवाउन मिल्छ । यसले बासी खाना राख्ने संस्कृति बढेर गएको छ, नियन्त्रण गर्नुपर्छ ।’

संघका अध्यक्ष शर्मा भने पार्टी प्यालेसभित्रै होटल चलाउन नहुने बताउँछन् । दुई व्यवसायलाई बिल्कुलै फरक गरेर चलाउनुपर्ने उनको भनाइ छ । सँगै राख्दा विकृति बढेको उनको स्वीकारोक्ति छ ।

नेताको लगानी

काठमाडौंमा अहिले कति पार्टी प्यालेसहरु सञ्चालनमा छन् भन्ने एकिन तथ्यांक छैन । राम्रो कमाई हुने भएपछि एउटै पार्टी प्यालेसमा एउटै समयमा धेरै कार्यक्रम गर्न सकिने गरी विभिन्न आकार प्रकारका हलहरु तयार गरिएका छन् ।
यो पनि पढ्नुहोस्-  सडेको खाना खुवाउने बैंक्वेट बचाउन सांसदको मरिहत्ते (भिडियोसहित)

 

धेरै हलहरु भएपछि विहान एउटा समारोहका लागि तयार गरिएको खाना बेलुकैसम्म अन्य कार्यक्रमका लागि आउनेहरुलाई दिने चलन छ । खेर गएको खाना पनि नफाली फ्रिजिङ गरेर राख्ने र हप्तौंसम्म बासी खानामाथि बासी खाना नै मिसाउने चलन बढेको छ ।

‘कमाइ छ भन्ने देखेपछि हस्पिटालिटीको कुनै अनुभव नै नभएका व्यक्तिहरु यो बिजनेसमा छिरेका छन् । राजनीतिक दलका नेता र कार्यकर्ताको लगानी यस्ता पार्टी प्यालेसमा निकै उच्च दरमा बढेको छ,’ एक व्यवसायी भन्छन्, ‘नेताको आड पाएपछि जे गर्दा पनि हुन्छ भन्ने मनोविज्ञानले पनि यहाँ बदमासी गर्न प्रोत्साहन गरेको छ ।’

पार्टी प्यालेसमा समस्या बढ्नुमा अर्को कारण हो, व्यवस्थापनको कमजोरी । एउटै व्यक्तिले धेरै कमाउने प्रलोभनमा धेरै ठाउँमा पार्टी प्यालेसहरु खोलेका छन् । सँधैभरि एकनासको बिजनेस नहुने भएकाले धेरै कर्मचारी राख्न प्यालेसहरुलाई गाह्रो हुन्छ । त्यसैका कारण अनुभव नै नभएकाहरुले पार्टी प्यालेसहरु व्यवस्थापन गर्दै आएका छन् । खाना पकाउने सेफ र कुकहरु पनि पार्ट टाइमरका रुपमा राख्ने प्रचलन छ । त्यसले गर्दा स्वस्थकर खाना बनाउने कुरामा ध्यान दिने गरेको पाइँदैन ।

मनपरी सेवा शुल्क

पार्टी प्यालेसहरुको सेवा शुल्क मनलाग्दी छ । जोसँग जति सकिन्छ उति उठाउने गरी पार्टी प्यालेस सञ्चालकहरु लागेका छन् । शहरभरी एकै किसिमका हलमा पनि एउटै दरको सेवा शुल्क छैन । सरकारले पार्टी प्यालेस सञ्चालन गर्ने र सेवा शुल्क तोक्ने कुनै मापदण्ड पनि बनाएको छैन ।

यस्तो अवस्थाले पार्टी प्यालेसहरुमा विकृति मौलाएको छ । यसलाई रोक्न नसके पार्टी प्यालेसहरु राजमार्गका होटलभन्दा बढी गतिछाडा हुने सम्भावना बढेको व्यवसायीहरु नै स्वीकार्छन् ।

थप तस्वीर र समाचार 

बैंक्वेटको बदमासीः सडेको मासु र तरकारीको मिष्ठान्न भोजन

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?