Comments Add Comment

‘नेपाल भारत सीमा हृवाङ्ङै भयो, नियमन गर्नुपर्छ’

विश्वमा तीन प्रकारका सीमा व्यवस्थाहरु प्रचलनमा छन् । एउटा खुला, अर्को नियन्त्रित (रेगुलेटेड) र अर्को बन्द सीमा । छोटकरीमा बुझ्दा नेपाल र भारतबीचको सीमाना खुला हो । नेपाल र चीनबीचको सीमा नियन्त्रित र उत्तरकोरिया-दक्षिण कोरियाको बन्द सीमा हो ।

नियमन (नियन्त्रित) व्यवस्था भनेको भिसा, पासपोर्ट परिचयपत्र देखाउनुपर्ने खालको हो । चीनको ३० किलोमिटरसम्म जाँदा पहिले नेपालीलाई भिसा, पासपोर्ट चाहिँदैनथ्यो । १ जनवरी २००७ देखि आईडी कार्ड सिष्टम लगाएको छ ।

अब नेपाल र भारतबीचको खुला सीमानाको चर्चा गरौं ।

खुला सीमाले प्रशस्त अवसर पनि दिएको छ र हदैसम्मको चुनौती पनि खडा गरिदिएको छ । अवसरको कुरा गर्दा अन्तर्राष्ट्रिय सीमा तत्काल पार गरेर दुबैतिरका नागरिक आफन्त भेट्न जान पाउँछन् । विपदका बेलामा सहयोग लिन सजिलो हुन्छ । उदाहरणको रुपमा ७ वर्षअघि इलामको पशुपतिनगर बजारमा ठूलो आगलागी भयो । त्यहाँ आधा घण्टामा दार्जीलिङबाट दमकल आएर आगो निभायो । इलाम सदरमुकामबाट गएको दमकल भोलिपल्टमात्र पुगेको थियो ।

सिरहाको आँखा अस्पतालमा धेरै भारतीय बिरामीहरु आएर उपचार लिन्छन् । बिराटनगरमा धान काट्नुपर्‍यो भने भारतीय श्रमिक आउँछन्, रोप्नुपर्‍यो भने पनि आइपुग्छन् ।

हाम्रा राजनीतिक दलका नेताहरुले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ भन्नुहुन्छ । नेपालका छोरी भारतका बुहारी भएकी छन् । भारतको छोरा नेपालका ज्वाइँ भएका छन् ।

खुला सीमानाको अर्को पाटो पनि छ । यसलाई अवाञ्छित तत्वले हदैसम्म दुरुपयोग गरेको छ । खुला सीमाका कारण क्रस बोर्डर टेरजिम (सीमापार आतंकवाद) र क्रम बोर्डर क्राइम (सीमापार अपराध) अत्यधिक भएको छ । भारतमा खून खराबा गर्छन् र नेपालमा पसेपछि सुरक्षित हुन्छन् । विध्वंशकारीले नेपालमा योजना बनाउँछन् । भारतमा गएर बम पड्काउँछन् ।

ईपीजीको पाँचौं बैठकमा भारतका तर्फबाट सदस्य रहेका डा. भीसी उप्रेतीले ठाडै प्रपोज गर्नुभयो- दुई देशबीचको सीमा नियमन हुनुपर्छ ।

केही वर्षअघि इण्डियाको मोस्ट वान्टेड अब्दुल करिम टुण्डा काठमाडौंको सीतापाइलामा पक्राउ परेका थिए । उनलाई नेपालले अनअफिसियल सुपर्दगी गरेको थियो ।

उनी नेपालमा कसरी प्रवेश गरे त ? खुला सीमा भएकाले म भारतीय हुँ भने, पसे । वास्तवमा उनी भारतमै मोस्ट वान्टेड थिए । खुला सीमाको दुरुपयोग यसरी भइरहेको छ ।

भारतले जहिले पनि भनेको छ कि तेस्रो देशबाट नक्कली भारु आउँछ, अनि नेपालबाट स्थलमार्ग हुँदै भारत प्रवेश गर्छ । बिहारका तत्कालीन मुख्यमन्त्री नितीशकुमारले भनेका थिए – नेपालबाट प्रवेश गरेको नक्कली भारुले बिहारको अर्थतन्त्र चौपट गर्‍यो ।

खुला सीमा दुरुपयोग गरेर मानव तस्करी भएको छ । हिजोआज बम्बईको कोठीमा मात्र होइन नेपालीहरु इराक, इरान अर्जेन्टिनासम्म पुर्‍याइएको छ । भारतको बाटो हुँदै अन्य देशमा लगिएको छ ।

खुला सीमा भएकै कारण लिपुलेक, कालापानी र लिम्पियाधुरामा सीमा मिचिएको हो । सन् २०१५ मे १५ मा भारत र चीनले नेपालको सम्प्रभुता इग्नोर गरेर लिपुलेकको बाटो हुँदै ब्यापार वाणिज्य अभिवृद्धि गर्ने सम्झौता गरे ।

कालापानी नेपालको हो, भारतले अतिक्रमण गरेको भन्ने चीनलाई पनि थाहा छ । तर दुई देशको स्वार्थ मिल्दा चीनले पनि नेपालको सार्वभौमसत्ताको बेवास्ता गर्‍यो । नेपालको सार्वभौमसत्तामा आघात पार्न चीन पनि पछि पर्दैनरहेछ भन्ने यो गतिलो उदाहरण हो ।

कहिलेदेखि खुला ?

नेपाल र भारतबीचको सीमाना जटिल र विश्वकै लागि अध्ययनयोग्य छ । पहिला नेपाल र भारतबीचको सीमाना बन्द थियो, पछि नियन्त्रित भयो, त्यसपछि खुला हुँदै अहिले त हृवाङ्ङै भएको छ ।

सुगौली सन्धीअघिसम्म नेपाल र भारतबीचको सिमाना बन्द थियो । सुगौली सन्धीपछि विस्तारै श्री ३ महाराजको अनुमति लिएर नेपालमा भारतीय कार्यालयहरु खुल्न थाले ।

त्यसपछि नजादिँदो तरिकाले खुला हुँदै गयो ।

ब्रिटिटिस रेजिमेन्टलाई नेपाली लक्का जवान केटाहरु भर्ना गर्नु थियो । उनीहरुलाई विदामा घर आउन जान सीमाना खुला गर्दै गयो भारतले । त्यसलाई नेपाली प्रशासनले पनि रोकेन ।

भारतलाई नेपाली जडिबुटी लैजानु थियो । चारकोसे झाडी अन्धाधुन्ध काटेर रेलवेको सिल्पर बनाउनुथियो । नेपालले किन लग्यौ भन्न सकेन ।
नेपालबाट पशुका छाला भारतको कारखानामा पेलेर फिनिस प्रोडक्ट बनाउन भारतकै तर्फबाट सीमा खुला हुँदै गयो ।

सीमा खुला गर्न नेपाल र भारतबीच कुनै सन्धी, सम्झौता भएकै छैन । मेरो अध्ययनमा त्यस्ता कुनै लेखोट, सन्धी सम्झौता भएकै छैन । दुबै देशले बेवास्ता गरे । यसरी नै चल्दै चल्दै आयो ।

२०११ वैशाख ६ गतेको राजपत्रमा भारतबाट प्रवासी नेपाली पनि नेपाल आउँदा परमिट लिएर आउनुपर्छ भन्ने लेखिएको छ । अहिलेसम पनि त्यसलाई कुनै निर्णयले काटिएको छैन ।

नेपालको अध्यागमन ऐन र नियमावलीमा नेपालीबाहेक अन्य पक्षलाई राहदानी वा परिचयपत्रविना आवत-जावत गर्न नपाइने उल्लेख छ ।
नेपाल र भारतको प्रवुद्ध व्यक्ति समूहले २ वर्षसम्म काम गरे । असार २० गते अवधि सकियो । उहाँहरुले प्रतिवेदन बुझाउन खोज्नुहुन्छ, सरकारले बुझ्न मानेको छैन । प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले एक हप्तामा बुझाउँछौं भनेको थियो । अहिलेसम्म बुझाइएको छैन ।
ईपीजीको प्रतिवेदनमा के होला ? अहिले धेरैलाई चासो छ ।

मलाई जानकारी भएसम्म ईपीजीको पाँचौं बैठकमा भारतका तर्फबाट सदस्य रहेका डा. भीसी उप्रेतीले ठाडै प्रपोज गर्नुभयो- दुई देशबीचको सीमा नियमन हुनुपर्छ । ७० वटा आवागमनका नाका बनाउनपर्छ, परिचयपत्र बनाएर आवत-जावतको व्यवस्था मिलाउनुपर्छ भन्नुभयो ।

ईपीजीमा नेपालतर्फका सदस्यहरुले पर्सामा सीमानातिरका वासिन्दाको धारणा बुझ्दा पनि खुला सीमानाले विकृति ल्याएको छ, नियमन हुनुपर्छ भनेर अधिकांशले भने ।

भारततर्फबाट ईपीजीका प्रवक्ताले अहिले आएर किन त्यसो भने होलान् ? भारतका धेरै नेताले नेपाल भारतबीचको सम्बन्ध सन् १९५० को शान्ति तथा मैत्री सन्धीमा आधारित छ । सीमामा गडबड भयो भने दुई देशको सम्बन्ध खत्तम हुन्छ, खुला सीमा चलाए सम्बन्ध गल्र्याम-गुर्लम हुन्छ भन्थे । अहिले भारतले नै किन सीमाना नियमन गर्नुपर्छ भन्यो ?

मेरो बुझाइ के छ भने नेपालमा चिनियाँ परियोजनाहरु धेरै आए । ती परियोजना भारतको सीमा नजिक दक्षिण क्षेत्रमा पनि पुगेका छन् । उदाहरणका रुपमा गौतमवुद्ध एयरपोर्ट, भेरी बबई आयोजनालगायत ।

चिनियाँ नागरिक नेपालका जनजातिजस्ता देखिन्छन् । त्यस्ता चिनियाँहरु नेपाली भनेर भारत प्रवेश गरे भने भारतको सुरक्षा निकायको मुटु छाम्छ भनेर भारतले सीमाना नियमन हुनुपर्छ भनेको हो कि ?

इस्लामिक स्टेटका आतंकवादीहरु नेपाल हुदै भारत पस्छन् कि भन्ने भारतलाई चिन्ता छ । नेपाललाई पनि त्यही चिन्ता छ । त्यसैले अब सीमा नियमन गर्नुपर्छ ।

मेरो विचारमा पनि भारतसँगको सीमालाई कुनै पनि हालतमा खुला छाड्नुहुँदैन । पहिले काठमाडौंबाट दिल्ली जाँदा राहदानी लिनुपथ्र्यो, मेरी हजुरआमा दिल्ली जानुपर्दा राहदानी लिनका लागि म नै गएको थिएँ । त्रिभुवन राजपथ बनेपछि भने नेपाल भारत सीमा हृवाङ्ङै भयो । अब यसरी जानुहुँदैन नियमन गर्नुपर्छ ।

इस्लामिक स्टेटका आतंकवादीहरु विश्वब्यापी छन् । कहिले अमेरिकामा, कहिले बेलायतमा हमला गरिरहेका छन् । डेढ वर्षअघि बंगलादेशमा आईएसको हमलामा २० जना मारिए, पाकिस्तानमा ५ जना मारिए ।

इस्लामिक स्टेटका आतंकवादीहरु नेपाल हुदै भारत पस्छन् कि भन्ने भारतलाई चिन्ता छ । नेपाललाई पनि त्यही चिन्ता छ । त्यसैले अब सीमाना नियमन गर्नुपर्छ ।

पहिले नेपाल र भारतबीचको हवाई सीमाना पनि खुला थियो । तर, सन् १९९९ मा नेपालबाट उडेको इन्डियन एयरक्राप्ट अपहरणमा परेर अफगानिस्तानको कान्दाहारमा पुर्‍याइएपछि भारतले आफ्नो जहाजमा आफ्नै सुरक्षाकर्मी राख्न थालेको छ ।

के अब सतह मार्गलाई पनि नियमन गर्नका लागि त्यो हवाइ दुर्घटनाभन्दा ठूलो घटना पर्खेको हो ? त्यसैले त्यस्तो दुर्घटनाअघि नै खुला सीमानालाई नियमन गर्दै जानुपर्छ । सीमालाई नियमन गरेर क्रमिक रुपमा सीसीटीभी राख्नुपर्छ ।

तर, नेपालले चाहे पनि नचाहे पनि नियमन सुरु भइसकेको छ । नियमन गर्ने काम भारतले नै सुरु गरेको छ । भारतले नेपालको सीमा क्षेत्रमा ४५ हजार एसएसबी खटाएको छ । यो हिसाबले एक किलोमिटर क्षेत्रमा २४ जना एसएसबी खटिन्छन् ।

हाम्रो नेपालमा ६ हजार जना सशस्त्र प्रहरी तैनाथ गरिएको छ । यस हिसाबले एक किलोमिटरको दूरीमा ३ जनामात्रै पुग्छ । भारतमा बोर्डर अब्जरभेसन पोस्ट २०० वटा छ भने नेपालमा ९० वटामात्रै छ ।

उनीहरुको सीमाको १ किलोमिटर नजिकै पोस्ट छ नेपालको २ किलोमिटर पर छ । नेपाली सुरक्षाकर्मी छाप्रोमा बस्नुपर्ने बाध्यता छ ।
विदेहमा अन्य देशहरुमा पनि खुला सीमाना छ । क्यानडा र अमेरिकाको सीमा पनि खुला हो । तर त्यहाँ आवतजावत गर्दा परिचयपत्र देखाउनुपर्छ ।

दुई देशको सीमा सुरक्षालाई ध्यान दिने हो भने अबको १०/१५ वर्षपछि सिमानामा काँडेतार नै लगाउनुपर्छ । तर १८० ठाउँमा आवागमनको नाका हुनुपर्छ ।

यति गर्नका लागि ठूलो दुर्घटना, इस्लामिक स्टेटको आक्रमण पर्खिनु हुँदैन । भारतीय जाली नोट नेपालबाट भारत गएर भारतको टाउको नदुखाउन पनि सीमा बन्द गर्नुपर्छ ।

(बुधबार काठमाडौंमा आयोजित खुला सीमाना : अवसर र चुनौती विषयक कार्यक्रममा श्रेष्ठले दिएको मन्तव्यको सारसंक्षेप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment