Comments Add Comment

सप्तरीमा घुमुवा प्रहरीको सरुवा

१ असोज, सप्तरी । सप्तरीमा नयाँ प्रहरी प्रमुख आएसँगै युनिटमा फेरबदल गर्ने काम सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालयदेखि बिभिन्न इलाका प्रहरी कार्यालयमा काम गर्दै आएका र घुमुवाको रुपमा काम गर्नेहरुलाई पनि अन्यत्र सरुवा गरेर बाहिरबाट बोलाइएको छ ।

तीन साताअघि नयाँ प्रहरी प्रमुखको रुपमा राजेन्द्र बिष्ट आएपछि सप्तरी प्रहरी भित्र फेरबदल गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयसहित बिभिन्न यूनिटमा काम गर्ने प्रहरीलाई प्रदेशका अन्य जिल्लामा पठाइएको छ । दरबन्दी सप्तरीमै भएपनि कसैलाई बारा, कसैलाई रौतहट, कसैलाई प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ ।

श्रोतका अनुसार १३ जना प्रहरीलाई सप्तरीबाट अन्यत्र सरुवा गरिएको छ । यीमध्ये तीनजना प्रहरी नायब निरीक्षक, केही प्रहरी सहायक निरीक्षक र अन्य प्रहरी हबल्दार र जवान छन् ।

सरुवा गरिएका एक जना जुनियर प्रहरी अधिकृतका अनुसार आफ्नो दरबन्दी सप्तरीमै भएपनि एक्कासी बाहिर पठाएको छ । एकाएक बाहिर पठाउनुको कारण पनि केही नखुलाइएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी प्रमुख उपरीक्षक राजेन्द्र बिष्ट आफूले सरुवा नगरेको बताउँछन् । उनले प्रदेश प्रहरी कार्यालयले पत्राचार गरेर उनीहरुलाई सरुवा गराएको दावी उनको छ ।

यद्यपी सरुवा भएका प्रहरीहरुले अन्यत्र दरबन्दी भएर वर्षाैदेखि एकै ठाउँमा बस्दै आएकालाई आफ्नो दरबन्दीमा पठाउनुभन्दा यहीँ दरबन्दी भएकालाई सरुवा गरिनुले प्रहरी भित्र पनि काखापाखा रहेको बताउँछन् ।

उनीहरुले प्रहरी अधिकृतका निकटतम र सोर्स भएकाहरु वर्षाैंदेखि एकै ठाउँमा बस्दै आएपनि केही फरक नपरेपनि दरबन्दी भएको ठाउँमा एक वर्ष मात्र बसेको अवस्थामा समेत सरुवा गरिनुले प्रहरी संगठनमा सोर्स भएकाहरुकै हालीमुहाली झल्किने गरेको बताउँछन् ।

जिल्ला प्रहरी प्रमुख बिष्ट भने एकै ठाउँमा धेरै दिन बसेका कारण प्रदेशले सरुवा गरेको हुन सक्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment