Comments Add Comment

भारतीय सेनापतिले भने : नेपाल भारततिर ढल्किनैपर्छ

१ असोज, काठमाडौं । बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाउने निर्णय गरेकोमा भारतीय सेनाको असन्तुष्टि सार्वजनिक भएको छ ।

यो सैन्य अभ्यास पुनेमा सम्पन्न भएको छ । नेपालले अन्तिम समयमा अभ्यासमा सहभागी नहुने निर्णय लिएको थियो । समापन कार्यक्रमपछि पत्रकारहरुसँग बोल्दै भारतीय सेनापति विपीन रावतले नेपालमाथि कटाक्ष गरे ।

नेपालले चीनसँग झुकाव राख्न खोजेको आशयसहित उनले यो अस्थायी हुने टिप्पणी गरे ।

नेपालको चीनसँग बढ्दो निकटताका विषयमा पत्रकारले प्रश्न गर्दा सेनापति रावतले भनेका छन्, ‘भौगोलिक कारणले नेपाल र भुटानजस्ता राष्ट्रहरु भारततिर ढल्किनै पर्छ । जहाँसम्म चीनसँगको निकटताको कुरा छ, यो अस्थायी हो ।’

उनले पाकिस्तान र अमेरिकाको सम्वन्धको उदाहरण दिए । भारतीय सेनापति रावतले नेपालले चीनसँग आर्थिक सहयोग लिएको विषयमा पनि टिप्पणी गरे ।

‘चीनसँग पैसा छ र उनीहरु त्यसलाई लगानी गर्न चाहन्छन्’ उनले भने, ‘आज उनीहरुसँग आर्थिक सहयोग लिएका राष्ट्रले भोलि महसुस गर्नेछन् कि कुनै पनि कुरा सित्तैमा पाइँदैन ।’

अर्थ राज्यमन्त्री सुभाष भाम्रेले नेपालले संयुक्त सैन्य अभ्यासमा भाग नलिएको विषयमा प्रष्ट पार्दै भने, ‘संयुक्त अभ्यासको ठीक अगाडि मात्र नेपालको सैन्य कमान्ड परिवर्तन भयो । यद्यपि, नेपालले पर्यवेक्षक पठाएको छ । हामीले कुनै किसिमको अड्कलवाजी गर्नु हुँदैन ।’
सैन्य अभ्यासमा बिमस्टेक राष्ट्रहरु बंगलादेश, भुटान, म्यानमार र श्रीलंकाका सेना सहभागी भए ।

नेपाल र थाइल्यान्डले पर्यवेक्षक मात्र पठाए । संयुक्त सैन्य अभ्यासमा सहभागी हुने विषयमा देशभित्र सरकारको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सैन्य अभ्यासमा सहभागी नहुने निर्णय लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment