Comments Add Comment

गोर्खाको सिर्दिवास सेवा केन्द्र अधिकृतविहीन, सर्वसाधारण सदरमुकाम धाउन बाध्य

९ असोज, गोरखा । अधिकृतस्तरको कर्मचारी नहुँदा गोरखाको चुमनुव्री गाउँपालिका-३ सिर्दिवासस्थित एकीकृत सेवा केन्द्रबाट हुदै आएको नागरिकता वितरणको काम विगत सात महिनादेखि ठप्प भएको छ । दरवन्दीमा खटिएका अधिकृत गौतम भण्डारीको जिल्ला प्रशासन कार्यालयमा काज सरुवा भएपछि सेवा केन्द्रले नागरिकता वितरण गर्न सकेको छैन ।

‘यहाँ अधिकृत कर्मचारीमा गौतम भण्डारी सरको दरवन्दी हो तर गत फागुन ५ गते उहाँ काजमा जिल्ला प्रशासन कार्यालय जानुभयो,’ केन्द्रका नायव सुब्वा राम प्रसाद शर्माले भने, ‘त्यसयता नागरिकता वितरणको काम हुन सकेको छैन ।’

पासपोर्ट र सीमा पासको सिफारिसको काम पनि सेवा केन्द्रले गर्न नसकेको उनले बताए । ‘त्यो काम गर्न अधिकृतस्तरकै कर्मचारी चाहिन्छ हामीले मिल्दैन, भएको एक जना अधिकृत पनि काजमा जिल्ला प्रशासन कार्यालय गोरखामा हुनुहुन्छ अनि सेवा त ठप्पै,’ उनले भने ।

केन्द्रले सेवा दिन नसकेपछि उत्तरी क्षेत्रका स्थानीयहरु अहिले नागरिकता बनाउन सदरमुकाम धाइरहेका छन् । सँगै राहदानीको सिफारिस र तिब्बत जान-आउन प्रयोग हुने प्रस्थान प्रवेश अनुमती पत्र लिन पनि सर्वसाधारण सदरमुकाम नै आउनुपर्छ । अधिकृत स्तरको कर्मचारी रहँदासम्म यी सबै काम सिर्दिबासबाट हुँदै आएको थियो ।

सडक सञ्जालको पहुँच नभएका कारण सो क्षेत्रका स्थानीयलाई सदरमुकाम आउन कम्तिमा तीन दिनदेखि पाँच दिनसम्म लाग्छ ।

गाउँमै पाउने सेवाका लागि सदरमुकाम धाउनु परेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । स्थानीय तहको सरकार गठन भएसँगै गाउँमै सरकारी सेवा पाउने भनिए पनि उत्तरी क्षेत्रका स्थानीयहरु भने गाउँमै पाएको सेवा लिन पनि सदरमुकाम धाइरहनुपरेको छ ।

उत्तरी क्षेत्रको साविकका नौ गाविसका स्थानीयलाई नागरिकतासँगै अन्य प्रशासनिक सेवा दिनका लागि २०६८ सालमा सिर्दिवासमा एकीकृत सेवा केन्द्र स्थापना गरिएको थियो । केरौजा, उहिया, सिर्दिवास, विही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत र छेकम्पारका स्थानीयले सो केन्द्रबाट सेवा लिइरहेका थिए ।

तर भइरहेको कर्मचारीलाई सदरमुकाममा काज सरुवा गरेपछि विगत सात महिनादेखि केन्ऽले सेवा दिन सकेको छैन । स्थानीयहरु नागरिकता र पासपोर्टको सिफारिसका लागी पुन सदरमुकाम धाउनुपर्ने बाध्यता दोहोरिएको छ ।

‘दिनमा कहिले एक-दुई जना, कहिले चार-पाँच जना नागरिकता बनाउन आउनुहुन्थ्यो, तर अहिले अधिकृतस्तरको कर्मचारी नभएपछि सदरमुकाम नै जानुस् भन्नुपरेको छ,’ केन्द्रका नासु शर्माले भने ।

यसअघि दैलोमै पाउने सेवाका लागि सदरमुकाम धाउनुपर्ने भन्दै स्थानीयहरुले गुनासो गर्ने गरेको उनले बताए । उक्त केन्द्रमा ६ जना कर्मचारीको दरवन्दी रहेपनि हाल नायव सुव्वा र दुई जना कार्यालय सहयोगीको भरमा कार्यालय चलिरहेको छ । ‘यसलाई इलाका प्रशासन कार्यालय बनाउन भनेर चिठी आएको छ, कर्मचारी भने छैनन्, भएका कर्मचारी पनि काज सरुवा भएका छन्, सेवा नै दिन सकिएको छैन,’ उनले भने ।

दर्ता चलानी, सनाखत गराउने र नागरिकताको प्रतिलिपि लिनेका लागि सिफारि दिने काम बाहेकको अन्य सेवा दिन नसकेको शर्माको भनाइ छ ।

अधिकृत दरवन्दीको कर्मचारी पठाउन जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीलाई बारम्वार आग्रह गरिरहेका छन् । ‘भएको दरवन्दी पनि काजमा लगिदियो, पाइरहेको सेवा पनि स्थानीयले पाउन छाडेपछि समस्या भएको छ,’ चुमनुव्री गाउँपालिका अध्यक्ष धुनबहादुर गुरुङले भने, ‘काम विशेषले सदरमुकाम जाँदा त ठीकै होला तर नागरिकता बनाउन, पासपोर्टको सिफारिस लिन भनेरै जानुपर्दा त निकै समस्या छ ।’

दरवन्दीमा रहेका कर्मचारीलाई पुनः सोही ठाउँमा पठाउन प्रजिअलाइ बारम्वार आग्रह गरिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले अधिकृत स्तरको कर्मचारी खटाउन गृहलाई लिखित रुपमा आग्रह गरिएको बताए । ‘गृह मन्त्रालयले काज सरुवा गरेको हो, फिर्ता गर्ने सरुवा गर्ने त्यसमा हाम्रो केही अधिकार हुँदैन, सबै काम मन्त्रालयबाटै हुने भएकाले हामीले बारम्वार आग्रह गरिरहेका छौं,’ प्रजिअ भट्टराईले भने ।

कर्मचारी नभएकै कारण सेवा दिन नसकेको उनी स्विकार्छन् । दुर्गम भेग भएका कारण खटाइएका कर्मचारी त्यहाँ बस्न नमान्ने प्रवृति हावी हुँदा उत्तरी गोरखामा सरकारी कार्यालयका कर्मचारी अभाव हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment