Comments Add Comment

अब सलिनमानले गाउनेछन्-‘चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा’

चलचित्र ‘आफ्नो मान्छे’मा समावेश ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीतले त्यो समयमा हंगामा नै मच्चायो । अहिले पनि यो गीत दर्शक तथा श्रोताको मुखबाट हटेको छैन ।

केशव भट्टराइको निर्माण तथा शिव रेग्मीको निर्देशनमा तयार भएको यो चलचित्रको व्यापारमा यो गीतले ठूलो फरक पार्‍यो । बाबुराम दाहालले यो गीत लेखेका हुन् ।

अब यो गीत फेरि दर्शकले सुन्न र हेर्न पाउने भएका छन् । केशव भट्टराइले नै निर्माण गरेको चलचित्र ‘यात्रा’मा यो गीतलाई समावेश गरिएको छ । पुरानो गीतमा स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहले नृत्य गरेका थिए । अब, यसको रिमेक गीतमा नायक सलिनमान बनियाँ, सलोन बस्नेत, नायिका मल्लिका महत्त लगायतले नृत्य गरेका छन् । चैत्रमा रिलिज हुने भनिएको चलचित्रको यो गीतको भिडियो केही समयपछि सार्वजनिक गरिनेछ ।

यो गीतले पुरानो गीतले जस्तो हंगामा मच्चाउँछ या मच्चाउदैन, समयले नै बताउनेछ । बलिउडमा अहिले पुराना हिट गीतलाई नयाँ चलचित्रमा समावेश गर्ने प्रचलन बढेको छ । नेपालमा पनि अब विस्तारै यसको सुरुवात हुन थालेको छ ।

निर्माता केशव भट्टराइले ‘यात्रा’ चलचित्रमा ‘अल्लारे’ चलचित्रमा समावेश ‘रातो टिका निधारमा’लाई समावेश गर्न चाहेका थिए । तर, यो चलचित्रका निर्देशक अशोक शर्माले आफूले नै गीत नयाँ चलचित्रमा राख्ने भनेपछि केशवले आफूले नै निर्माण गरेको ‘आफ्नो मान्छे’ चलचित्रको सुपरहिट गीत समावेश गरेका हुन् ।

यस्तै, हेमराज वीसीले निर्देशन गरेको चलचित्र ‘ब्रेकअप’मा पनि पुरानो हिट गीतलाई समावेश गरिएको छ । चलचित्र ‘ज्वाला’मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतलाई ‘ब्रेकअप’मा समावेश गरिएको छ । यो गीतको छायांकन भैसकेको छ । चलचित्रमा मुख्य कलाकार आशिरमान देशराज, शिल्पा मास्के लगायतले यसमा नृत्य गरेका छन् ।

‘ज्वाला’को गीतमा नायक सरोज खनाल र कृष्टी मैनालीले नृत्य गरेका थिए । बलिउडमा विकास भएको पुराना गीतलाई नयाँ भर्सनमा चलचित्रमा समावेश गर्ने प्रचलन अब नेपाली चलचित्रमा पनि हाबी हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment