Comments Add Comment

दशैं लक्षित ट्राफिक योजना–टिकट काउन्टरमा ‘सुराकी’ प्रहरी !

२२ असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ ।

शुक्रबार महाशाखामा पत्रकार सम्मेलन आयोजना गरी सह–आयुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जनाएका हुन् ।

उनका अनुसार भिडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी एवं अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकका  प्रहरी परिचालन गरिएको छ ।

‘यात्रुलाई ठग्ने, एउटै व्यक्तिले धेरै वटा सीटको टिकट काट्ने, आवश्यकताभन्दा बढी रकम लिने गरिएको जस्ता गुनासा यसअघि आउने गरेकाले अहिले हामीले त्यसको सुराकीका लागि काउन्टरहरुमा सादा पोशाकका प्रहरी परिचालन गरेका छौं’, पन्तले भने, ‘उनीहरुले काउन्टरमा भइरहेको गतिविधिबारे सुक्ष्म निगरानी गर्नेछन् । कानुन विपरित कार्य भएको पाइए कारबाही हुनेछ ।’

ट्राफिक प्रहरीले यात्रुको सहायताका लागि हेल्प डेक्सको पनि व्यवस्था गरेको छ ।

‘डेस्कमा यात्रुहरुको पिरमर्का तथा गुनासोलाई सुक्ष्म रुपमा अनुसन्धान गरी आवश्यक व्यवस्थापन गरिने छ’, पन्तले भने, ‘नागरिक सहायता कक्ष र टिकट काउन्टरहरुमा देखिने गरी भाडा दररेट राखेर अनिवार्य कार्यान्वय गर्ने व्यवस्था पनि मिलाएका छौं ।’

हाल राजधानीको कलंकी, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबाहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगाती गरी १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

म्याप सौजन्यः ट्राफिक प्रहरी महाशाखा ।

टिकट सकिएको क्षेत्रमा थप गाडीको व्यवस्था गर्ने तयारी

सार्वजनिक यातायातको टिकट वितरण खुलेको दुई दिनमै सकिएको गुनासो आउन थालेपछि उनले थप बुकिङका लागि पहल भइरहेको बताए ।

नागढुंगा खडकखण्डमा ठूला मालबहाक सवारी बिग्रेर घण्टौंसम्म जाम हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न ४० टन क्षमताको क्रेन नागढुंगामा राखिएको महाशाखा प्रमुख पन्त बताउँछन्

‘अहिलेसम्म २८ हजार टिकट बुकिङ भइसकेका छन्’, उनले भने, ‘बुकिङ सकिएका क्षेत्रमा थप सवारी राख्ने विषयमा यातायात व्यवस्थापन विभागसहितका निकायसँग पहल गरिरहेका छौं ।’

महाशाखाको रेकर्ड अनुसार गत वर्ष दशैं अघि उपत्यकाबाट २५ लाख यात्रु बाहिरिएका थिए ।

‘यो वर्षपछि लगभग त्यहीँ हाराहारीमा यात्रु बाहिरिने हाम्रो अनुमान छ’, पन्तले थपे, ‘अन्तिम दुई दिनमा अलि बढी चाप हुन सक्ने विषयलाई मध्यनजर गरेर योजना बनाएका छौं ।’

हाल दैनिक ८ हजार यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।

नाकामा बिशेष चेकिङ, जाम हटाउन नागढुंगामा क्रेन

हाल उपत्यकामा १४ सय ५० ट्रफिक प्रहरी कार्यरत् छन् । दशैंलाई लक्षित गरेर उनीहरुको परिचालनलाई व्यापक बनाउँदै नियमित चेकिङमा थप कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उपत्यका भित्रिने र बाहिरिने नाकाहरु थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा मापसेसहितको चेकजाँच राखिनेछ ।

नागढुंगा खडकखण्डमा ठूला मालबहाक सवारी बिग्रेर घण्टौंसम्म जाम हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न ४० टन क्षमताको क्रेन नागढुंगामा राखिएको महाशाखा प्रमुख पन्त बताउँछन् ।

‘चालकले मादक पदार्थ सेवन गरेको पाइए सम्बन्धित व्यवसायिक कम्पनीसँग समन्वय गरेर अर्को चालकको व्यव्स्थापन गरी यात्रुलाई गन्तव्यसम्म सहज रुपमा पुर्याउने व्यवस्था मिलाउने छौं’, उनले थपे, ‘छठ पर्वमा मेला लाग्ने स्थानहरु गहुेश्वरी, कमलपोखरी, बागमती किनार, थापाथली, बल्खु लगायतका क्षेत्रमा सवारी साधन डाइभर्सन गरी पार्किङको व्यवस्था राख्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment