Comments Add Comment

निर्मला हत्याकाण्डः ‘भजाइनल स्वाब’ सक्कली त हो ?

१४ असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शवबाट संकलन गरिएको ‘भजाइनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज समेतले ‘भजाइनल स्वाब’ निर्मलाकै भएको पहिले पुष्टि गरिनुपर्ने माग गरेका छन् ।

निर्मलाको शवबाट संकलित भनिएको ‘भजाइनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ । यसबाट प्राप्त डीएनएलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टको डीएनएसँग टेस्ट गर्दा नेगेटिभ रिजल्ट आएपछि उनी साधारण तारेखमा छुटेका छन् ।

यसैगरी विवादमा मुछिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए पनि मेल खाएन ।

बिष्टमाथि घटनाका अन्य प्रमाणहरु नष्ट गरेको आरोप लागेको छ भने किरण र आयुषमाथि स्थानीयबासीले सुरुदेखि नै शंका गर्दै छानविनको माग गरेका थिए । तर, केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको टेष्टमा डिल्लीराज, किरण र आयुषको डीएनए म्याच नभएपछि अनुसन्धान थप जटिल बनेको छ ।

निर्मलाको भजाइनल स्वाबमाथि दुईवटा प्रश्न उठाउन सकिन्छ । पहिलो घटनाका सबै प्रमाण नष्ट गर्ने प्रहरीले राखेको ‘भजाइनल स्वाब’ सक्कली नै हो त ? दोस्रो, सक्कली नै हो भने पनि के यसलाई उचित तवरले संरक्षण गरेर राखिएको थियो ?

वैधता जाँच्न बाबुआमाको माग

निर्मलाकी आमा दुर्गादेवी सबै प्रमाण नष्ट गर्न प्रहरी प्रशासनले ‘भजाइनल स्वाब’ को वैधता जाँच गर्नुपर्ने माग गरिन् । उनले भनिन्, ‘सबै प्रमाण नष्ट गर्ने प्रहरीले यो चाहीँ सही संकलन गर्‍यो भन्न सकिदैन ।’

आफ्नो डीएनएसँग म्याच गराएर छोरीको हो वा होइन भन्ने पुष्टि गर्न सकिने भए त्यसका लागि आफू तयार रहेको उनको भनाई छ । ‘म आफ्नो (डीएनए) टेष्ट गराउन तयार छु’ आमा दुर्गादेवीले भनिन्, ‘मलाई जसरी हुन्छ, सत्य चाहिएको छ, न्याय चाहिएको छ ।’

तर, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती भने भजाइनल स्वाबबाट परिक्षण गरिने डीएनए आमाको डीनएनएसँग नमिल्न पनि सक्ने बताउँछन् । ‘छोराछोरी हो कि होइन भनेर पुष्टि गर्न लिइने डीएनए र भजाइनल स्वाबको डीएनएको सेल अलग हुन्छ,’ उनले भने ।

यो पनि पढ्नुहोस निर्मला पन्तको बचेको प्रमाण ‘भेजिनल स्वाब’ मात्रै हो ?

बाबु यज्ञराजले पनि प्रमाणका रुपमा संकलित ‘भजाइनल स्वाब’ माथि शंका लागेको भन्दै आवश्यक परिक्षण गरेर भए पनि दोषी पत्ता लगाउनुपर्ने बताए । उनले भने, ‘हामीलाई जोमाथि शंका थियो, उनीहरुको रिपोर्ट मिलेन भने कसका लागि सबै प्रमाण नष्ट गरेका हुन्, उनीहरुले भन्नुपर्छ ।’

संकलन र संरक्षण विधिको प्रश्न

जानकारहरुका अनुसार यस्ता घटनामा संकलन गरिने प्रमाण सही हो वा होइन भन्ने मात्र होइन, कसरी संकलन र संरक्षण गरियो भन्ने पनि महत्वपूर्ण हुन्छ । सही रुपमा संकलन गरिएन वा प्याकिङ मिलेन भने पनि कन्टामिनेसन अर्थात प्रदुषित हुन्छ ।

एक प्रहरी अधिकारीले सुनाए, ‘मदन भण्डारीको रगतको नमुनामा पनि कन्टामिनेसन भेटिएको रहेछ । रिपोर्टमा बेहोस पार्ने केमिकल देखिएको थियो, जुन वास्तविक थिएन ।’

‘कस्टडी मेन्टेन’ अहिलेसम्म गुपचुप

निर्मला पन्तको भनिएको भजाइनल स्वाबको बैधताबारे अहिलेसम्म कुनै पनि सूचना बाहिर आएको छैन । स्वाब संकलनका बेला गरिएको ‘कस्टडी मेन्टेन’ मा को-को सहभागी थिए र क-कसले सहीछाप गरेका थिए भन्नेसमेत अहिलेसम्म बाहिर ल्याइएको छैन ।

मृतकको भजाइनल स्वाब संकलन गर्दा जनप्रतिनिधि, परिवारका सदस्य एवं स्थानीय मानिसहरुको रोहबरमा मुचुल्का उठाई शीलबन्दी गरिएको हुनुपर्छ । यो प्रक्रियालाई कस्टडी मेन्टेन भनिन्छ

अस्पतालले पोष्टमार्टमका बेला निर्मलाको भजाइनल स्वाब संकलन गरेको र तीन दिनपछि सीआइबीको टोली घटनास्थल पुगेपछि परीक्षणका लागि प्लेनबाट काठमाडौं पठाइएको भनिएको छ ।

कानुनतः त्यसरी मृतकको भजाइनल स्वाब संकलन गर्दा विश्वसनीय ढंगले प्रक्रिया पुर्‍याएर गरिएको हुनुपर्छ । अनुसन्धानकर्मीहरुका अनुसार स्वाब संकलन गर्दा जनप्रतिनिधि, परिवारका सदस्य एवं स्थानीय मानिसहरुको रोहबरमा मुचुल्का उठाई शीलबन्दी गरिएको हुनुपर्छ । यो प्रक्रियालाई फौजदारी अनुसन्धानको भाषामा ‘कस्टडी मेन्टेन’ भन्ने गरिन्छ ।

निर्मला पन्तको भेजिनल स्वाब संकलन गर्दा परिवारका सदस्यहरुले सहीछाप गरेको वा स्थानीय जनप्रतिनिधिहरु रोहबरमा बसेको सूचना अहिलेसम्म बाहिर आएको छैन । स्वाब शीलबन्दी गर्दा रोहबरमा हस्ताक्षर गर्नेहरु कोको थिए भन्ने कञ्चनपुर प्रहरीले अहिलेसम्म गुपचुप राखेको छ ।

सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले निर्मलाको दाहसंस्कारपूर्व निर्मला पन्तका बुबाको आंैठाछाप नक्कली रहेको पाइएको रिपोर्ट गृहमन्त्रालयलाई बुझाइसकेको छ । तर, सो रिपोर्टमा भेजिनल स्वाबको ‘बैधानिकता’ का विषयमा के भनिएको छ भन्ने अहिलेसम्म गृहमन्त्रालयमै गुपचुप छ ।

भजाइनल स्वाबको कस्टडी मेन्टेनबारे समितिको प्रतिवेदनले चर्चा गरे/नगरेको स्पष्ट हुन सकेको छैन । र, यहीबेला निर्मलाका आमाबुबाले भेजिनल स्वाबको बैधानिकतामाथि प्रश्न उठाएपछि अब यो विषयमा पनि अनुसन्धान गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ ।

यसैवीच, कञ्चनपुरवासीले छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शनिबार प्रदर्शन गरेका छन् ।

यो पनि पढ्नुस् 

निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

निर्मलाका हत्यारा प्रकरणः अपराधी भेटिन १२ वर्ष लाग्न सक्छ- प्रधानमन्त्री

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment