Comments Add Comment

वीरगञ्जको बस टर्मिनल निर्माणमा किन हुँदैछ ढिलाइ?

२ कात्तिक, वीरगञ्ज । कतिपयलाई लाग्न सक्छ, आर्थिक नगरी वीरगञ्जको बसपार्क अत्याधुनिक होला । वर्षौदेखि वीरगञ्जमा बसपार्क बन्ने चर्चा छ तर बन्न सकेको छैन ।

आर्थिक नगरीको बसपार्कको अवस्था अस्तव्यस्त छ ।जीर्ण सडक, अव्यवस्थित सवारी पार्किङ, घाम लाग्दा धुलो र पानी पर्दा हिलो यहाँको विशेषता नै बनेको छ ।

वीरगञ्ज बसपार्कमा एकपटक पुगेपछि अर्कोपटक आउन नपरोस भन्ने सोच्छन् । व्यवस्थित बसपार्क नहुँदा सवारी चालक, यातायात व्यवसायी र यातायात क्षेत्रमा काम गर्ने मजदुर श्रमिक मात्रै नभएर त्यस क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्नेहरु समेत मर्कामा छन् ।

स्थानीय जनप्रतिनीधि आएपछि पनि बसपार्कको अवस्थामा सुधार नआउनु दुःखद भएको यातायात व्यवसायीहरुको भनाइ छ । वीरगञ्जमा निर्माणाधीन सुविधा सम्पन्न अत्याधुनिक बस टर्मिनलको काम सम्पन्न भएको खण्डमा यो नियतिबाट थोरै भएपनि राहत मिल्ने उनीहरु बताउँछन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी संघ प्रदेश नं २ का अध्यक्ष जगरनाथ प्रसाद कलवार बसपार्क निर्माण समयमा नहुँदा यातायात व्यवसायीहरुले निकै सास्ती खेप्नु परिरहेको बताउँछन् ।

‘व्यवस्थित वीरगञ्ज अभियान चलाएर सडकमा गाडी पार्किङ गर्न दिईएको छैन, बसपार्क पनि तयार भएको छैन,’ उनले भने ‘यसबाट यातयात व्यवसायीहरु निकै मर्कामा परेका छन् । छिटोभन्दा छिटो बसपार्क बन्नुपर्छ ।’

जर्मन विकास बैंकको ऋण सहयोगमा वीरगञ्ज नगर विकास कोष मार्फत १८ करोडको लागतमा वीरगञ्जमा अध्याधुनिक बसपार्क निर्माण भईरहेको छ । तर परियोजनाको काम सम्पन्न नभएका कारण सबै पक्षले सास्ती भोग्नु परिरहेको छ । निर्माणमा भएको ढिलासुस्तीका कारण वीरगञ्जमा साढे ४ विगाहामा बन्ने अत्याधुनिक वर्षपार्क अझै अधुरै छ ।

पटक पटकको विवाद र मुद्धा मामिला पछि १५ महिनाको कार्य अवधि दिएर नगर विकास कोषले २०७१ फागुनमा ठेक्का लगाउन सफल भएको थियो ।

आशिष-पप्पु-रोशन जेभीले ठेक्का सकार गरेको परियोजनाको अहिलेसम्म झण्डै ६० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । बस टर्मीनलको भूँई पीच गर्ने लगायतका मुख्य काम बाँकी नै छ ।

विभिन्न बहानामा ठेकेदार कम्पनीले काममा आलटाल गर्दै आएको छ भने अन्य महानगरपालिका लगायत सरोकारवाला निकायले पनि काम गर्ने वातावरण बनाउन सकेका छैनन् ।

पटक पटक म्याद थपिएको भएपनि काम सम्पन्न हुन सकेको छैन । पछिल्लो पटक थपिएको म्याद अनुसार कार्त्तिक भित्रै काम सक्नुपर्ने छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुसाल काम तिव्र गतिमा सम्पन्न गर्न महानगरपालिकाले पटक पटक दवाव दिईनै रहेको बताउँछन् ।

यस्ता छन् अवरोध

ठेक्का लगाएपछि नगर विकास कोषले कन्सल्टेन्ट नियुक्त गर्न समय लगायो । ठेकेदार कम्पनीले ठेक्का पाएको एक महिनापछि मात्रै केहि काम शुरु गर्न सक्यो ।

त्यसपछि ०७२ साल वैशाख १२ गतेको महाभूकम्पले काममा प्रभाव पार्‍यो । त्यसलगत्तै मधेस आन्दोलन शुरु भयो, आन्दोलनमा बन्द हडताल र नाकाबन्दी ६ महिना चल्यो । त्यसपछिको समयमा पनि विभिन्न बहानामा ठेकेदार कम्पनीले काममा गति दिन नसक्दा बसपार्क तयार भएको छैन । ठेकेदार कम्प्पनीले ६ करोड भुक्तानीका लागि बिल पेस गरिसकेको छ ।

बसपार्क वीरगञ्ज महानगरपालिकाको आफ्नो साढे ४ विगाहा जमिनमा निर्माण भईरहेको छ । तर स्थानीयले बसपार्क निर्माणमा विभिन्न बहाना निकालेर अवरोध पुर्‍याईरहेका छन् ।

बसपार्कमा पर्खाल लगाउन नदिने र बसपार्कपट्टी सटर निकालेर भाडामा लगाउने दाउमा कतिपय घरधनी देखिएका छन् । त्यसले गर्दा पर्खाल निर्माण कार्यले समेत पूर्णता पाउन सकेको छैन । स्थानीयले अदालतमा महानगरपालिका विरुद्ध मुद्दा हालेर काममा अवरोध पुर्‍याउने गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाकाको तर्फबाट बसपार्क हेर्नेगरि नियुक्त गरिएका फोकल पर्सन प्रकाश अमात्य अदालतले मुद्धाको फैसला नगरकोले पर्खाल लगाउन समस्या भईरहेको बताउँछन् ।

‘उत्तरपट्टी सडक छ, तर केहि घरधनीहरुले दक्षिण बसपार्कपट्टी घर फर्काएका छन् । बसपार्कमा सटर पार्ने र व्यवसाय गर्ने दाउ उनीहरुको देखिएको छ,’ उनले भने ‘ एक जनाले मुद्धा हारिसकेको भएपनि अर्को एक जनाको मुद्धाको फैसला आउन बाँकी हुँदा पर्खाल निर्माणको काम सम्पन्न हुन सकेको छैन् ।’

कमजोर नीतिका करण देशभर थुप्रै परियोजना यसैगरि अलपत्र बनेका छन् । विभिन्न बहानामा मुद्दा हालिदिने र फैसला नभएसम्म काम नहुने गरेको छ ।

लापरबाही गर्ने ठेकेदार कम्पनीहरुलाई पनि कारबाही हुन सेकेको छैन । माथिल्लो निकायले यसमा समन्वयकारी भूमिका निर्वाह गर्न समिति बनाएर जानुपर्ने र समिति मार्फत कडा नीति बनाउनुपर्ने आवश्यकता देखिएको सरोकारवालाको तर्क छ ।

त्यसैगरी व्यवस्थित वीरगञ्ज अभियानका क्रममा सडक अतिक्रमण हटाएपछि पुराना गाडी र टायरहरु बसपार्कमै थुपारिएको छ । त्यसको बहानामा पनि ठेकेदारले काम गर्न आलटाल गरिरहेका छन् ।

‘बाईपास सडक अतिक्रमण हटाउने अभियान नै चलेको थियो, त्यहाँको सडकबाट उठाएर ल्याएको थोत्रा गाडीहरु बसपार्कमै राखिएको छ । ठूला ठूला टायरहरु पनि छन् ।’ अमात्यले भने ‘ठेकेदार पक्षले त्यसलाई हटाउन भनिरहेको छ । महानगरपालिकाले हटाउन नसक्दा काम रोकिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment