Comments Add Comment

दशैं त सकियो, खोई मेलम्ची ? अधिकारीहरु ‘तैं चुप मैं चुप’

९ कात्तिक, काठमाडौं । मेलम्ची कहिले आउँछ काठमाडौं ? प्रश्न भईंमा खस्न नपाउँदै मन्त्री मात्र होइन, सचिवदेखि आयोजना प्रमुख सबैले जवाफ दिन्थे-दशैंमा ।

मेलम्ची खानेपानी आयोजनाको पानी दशैंमा आउँछ भन्दा भदै २०७५ सालको दशैं आयो र गयो तर, मेलम्चीको अत्तोपत्तो छैन ।

पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारले काठमाडौंवासीलाई दशैंमा मेलम्चीको पानी खुवाउने नयाँ भाका राखेको थियो । तर, यो भाका पनि पूरा नभएपछि मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरु ‘तैं चुप मैं चुप’ बनेका छन् । अहिले उनीहरुले नयाँ भाका राखेका पनि छैनन् ।

पटक-पटकको भाका असफल हुँदा जनतामा वितृष्णा र अविश्वास पैदा भएकाले अब सबै काम सकेर मात्रै घोषणा गर्ने योजना छ ।

अहिले खानेपानी आयोजना अन्तरगतको सुरुङमार्ग लाइनिङको (क्रंक्रिट ढलानसहित फिनिसिङ) को काम जारी छ । आयोजनाका अनुसार अब ६ किलोमिटर मात्रै फिनिसिङ बाँकी छ । अहिले दैनिक २ सय मिटर सुरुङको ‘लाइनिङ’ भइरहेको आयोजनाका प्रमुख सूर्यराज कँडेलले बताए ।

‘अबको एक महिनामा लाइनिङको काम सकिन्छ र त्यसपछि सुरुङमार्गमा भेन्टिलेसन राख्ने काम सुरु हुनेछ,’ उनले भने ।

सुरुङमार्गमा पानी हालेपछि हावा बाहिर जान सक्ने गरी ‘एयर भेन्ट’ राख्नुपर्छ । ३ ठाउँमा यस्ता एयर भेन्ट राख्नुपर्ने कँडेलले जानकारी दिए ।

त्यसका लागि सुरुङबाट माथिल्लो भागमा प्वाल पार्नुपर्छ र भेन्टिलेसनको संरचना तयार गर्नुपर्छ । यस्तै अडिट टनेलहरु थुन्ने काम बाँकी नै छ । भेन्टिलेसन र अडिट टनेल थुन्ने कामका लागि सबै उपकरण र सामानहरु आइसकेको कँडेलले बताए ।

यी कामहरु सम्पन्न गर्न कति समय लाग्छ भन्नेबारे आयोजनाले केही बताएको छैन । कँडेलले मेलम्ची थुनेर सुरुङमा पानी हाल्न सकिने गरी प्रायः सबै संरचना तयार भएको बताए ।

‘एउटा अस्थायी ड्यामको काम बाँकी छ, त्यो एक-दुई हप्तामै सकिएला’ उनले भने, ‘सुरुङभित्रकै बाँकी काम महत्वपूर्ण छन् ।’ उनले जतिसक्दो छिटो काठमाडौंमा मेलम्चीको पानी ल्याउन प्रयास भइरहेको बताए ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ तीन खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो । सुरुङ खन्ने काम सकिए पनि त्यसभित्रका मसिना तर जटिल काम बाँकी छन् ।

‘सुरुङ खन्ने भन्दा पनि जटिल कामहरु अझै गर्न बाँकी छ । भेन्टिलेसन राख्ने र अडिट टनेल थुन्ने गेटहरु राख्ने काम पनि चुनौतीपूर्ण हुन्’ आयोजना प्रमुख कँडेलले भने ।

सरकारले दशैंअघि नै काठमाडौंका वासिन्दाले मेलम्चीको पानी खुवाउने योजना सुनाएको थियो । अहिले आयोजनाका अधिकारीहरु अनौपचारिक सम्वादमा नयाँ वर्ष लाग्ने बताउन थालेका छन् ।

सरकारले इटालियन कम्पनी सीएमसीसँग ७ अर्ब ७१ करोडमा सुरुङ र इन्टेक निर्माण गर्ने गरी सम्झौता गरेको थियो । आयोजनाका अनसार यो कामका लागि ८ अर्ब ५९ करोड रुपैयाँ खर्च हुनेछ ।

इटालियन कम्पनीले सन् २०१४ बाट सुरुङ निर्माणको जिम्मा पाएको थियो । यसअघि चिनीयाँ ठेकेदार कम्पनी चाइना फिफि्टन रेल्वे ब्युरोले ढिलासुस्ती गरेको भन्दै सरकारले सीएमसीलाई सुरुङ निर्माणको जिम्मा दिएको थियो ।

सन् २०१३ को सुरुमै सुरुङ निर्माण सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदारले झन्डै चार वर्षमा जम्मा साढे ६ किमीमात्र सुरुङ निर्माण गरेपछि सीएमसी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment