Comments Add Comment

बलात्कारपीडितको बयानः एक वर्ष भयो, न्याय माग्न कहाँ जाऔं ?

मेरो जन्म ०५३ साउनमा ललितपुरको एउटा गाउँमा भयो । मेरो बाल्यकाल पनि आम बालबालिकाको जस्तै धुलोमाटोमा खेलेर बित्यो ।

हामीलाई हुर्काउन मम्मी र बाबाले धेरै मिहिनेत गर्नुभयो । हामीलाई पढाउन-बढाउन उहाँहरूको धेरै पसिना बगेको छ ।

काठमाडौं उपत्यकाभित्रै घर भए पनि निजी विद्यालय जाने मेरो परिवारको आर्थिक हैसियत थिएन । त्यसैले प्ले ग्रुप, नर्सरी होइन मेरो पढाइ शिशु कक्षाबाट शुरु भयो ।

सानोमा मम्मीसँग अस्पताल जाँदा डाक्टरले विरामीलाई उपचार गरेर ठीक बनाएको देखेकी थिएँ । त्यसैको प्रभाव हो कि, मलाई पनि डाक्टर बन्न मन लाग्यो । सानोमै बिरामीलाई सञ्चो बनाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।

त्यसपछि विद्यालयमा सरहरूले सोध्दा होस् वा आफन्तसँग कुराकानी हुँदा, मैले ठूलो भएर डाक्टर बन्छु भन्न थालेँ । मम्मीबाबालाई पनि छोरी ठूलो भएर डाक्टर बन्छिन् भन्ने लाग्न थाल्यो ।

तर, डाक्टर बन्नका लागि कति खर्च लाग्छ, कति पढ्नुपर्छ ? भन्ने न मलाई थाहा थियो, न परिवारका अन्य सदस्यलाई । आर्थिक कारणले नै निजी विद्यालयको सट्टा सामुदायिक विद्यालयमा पढेकी मलाई डाक्टर बन्न लाग्ने खर्चको आँकलन पनि थिएन ।

मेरो पढाइ विद्यालय तहबाट अगाडि बढ्न सकेन । मम्मी बाबालाई भरथेग होला भनेर सानोतिनो जागिर गर्न थालेँ । लगनशील भएर काम गरेकाले होला तलब पनि बढ्दै गयो । पछिल्लो पटक मासिक ११ हजार ५०० रुपैयाँ तलब पाउँथे ।

राम्रो केटा पाए हुर्के बढेकी छोरी अन्माउने चाहना कुन बाबाआमाको हुँदैन र ? मेरो मम्मी बाबाको पनि पृथक चाहना हुने कुरै भएन ।

२०७४ असोजमा मेरो विवाह भयो । मागी विवाह भए पनि हामी एक अर्काबीच परिचित थियौँ ।

श्रीमानको मामाको घर र मेरो माइती घर सँगसँगै भएकाले सानैदेखि हामी एक अर्कालाई चिन्थ्यौं । दुबै परिवारको सहमतिमा हाम्रो विवाह भयो । अहिले मेरा श्रीमान सानोतिनो जागिर गर्नुहुन्छ ।

डाक्टर बन्ने चाहना पूरा नभए पनि जीन्दगीसँग कुनै गुनासो थिएन । आफन्त र चिनेजानेकाहरू हाम्रो जोडीको खुलेर प्रशंसा गर्थे । संसारमा सबैभन्दा खुशी मै छु कि जस्तो लाग्थ्यो ।

घर र माइत धेरै टाढा नभएकाले आउने जाने चलिरहन्थ्यो । ०७४ मंसिर १ गते शुक्रबार कामबाट फर्केपछि माइत गएँ । आमा छोरी रातभरि मीठामीठा कुरा गरेर बस्यौं ।

शनिबार साँझ मम्मीले कोशेली पोको दिएर घरका लागि बिदाइ गर्नुभयो । घर पुग्न केही मिनेटको दुरी बाँकी थियो ।

झिसमिसे अँध्यारो भईसकेको थियो । मलाई पछाडिबाट कसैले पिछा गरेजस्तो लाग्यो । पिछा गरेको ठम्याउन पाउँदा नपाउँदै मलाई धकेलेर लडाए । म कान्लामुनि पल्टिन पुँगे ।

धकेलेर लडाउने व्यक्ति र उसका अन्य साथीहरूले एकअर्कालाई ‘रघु-रघु, पवन-पवन र विशाल’ भनेर बोलाएका थिए । उनीहरू मध्येका एकजनाले टाउकोमा ढुंगा प्रहार गरेपछि म बेहोश भएँछु ।

होश खुल्दा म अस्पतालको सघन कक्षमा थिएँ । बेहोश भएको एक हप्ताभन्दा बढी भइसकेको रहेछ । ०७४ मंसिर ३ गते तोरीबारीमा अचेत अवस्थामा भेटेर मलाई अस्पताल लगिएको रहेछ ।

माइतबाट चंगाजस्तो मन लिएर फर्केकी म अस्पतालमा मूर्दा जस्तो लडीरहेकी थिएँ । जीउ भारी भइरहेको थियो । शरीरमा नदुखेको कुनै अंग नै थिएन ।

शारीरिक दुखाई भन्दा पनि ठूलो दुःखाई मानसिक थियो । तीन-तीनजनाले ममाथि जे गरे त्यो म शब्दमा बयान गर्न सक्दिनँ । प्रहरी, अदालत, वकिलको अगाडि मैले सम्झनै नचाहेको त्यो घट्नाको वयान पटक-पटक गरिसकेकी छु ।

एक महिना निरन्तरको उपचारपछि मात्रै राम्ररी होश आयो र दोहोरो संवाद गर्न सक्ने भएँ ।

अनुसन्धान अधिकृतले डाक्टरको रोहवरमा अस्पतालको बेडमै मेरो बयान लिनुभयो । मेरो जीवन बर्बाद पार्ने अपराधीहरूविरुद्ध जिल्ला अदालत ललितपुरमा जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र जबरजस्ती चोरी मुद्दा दायर भयो ।

सामूहिक बलात्कार गर्ने र मलाई मार्ने उद्धेश्यले ढुंगा प्रहार गर्ने विशालध्वज कार्की, पवन कुँवर र रघु सिलवाल तीनै जना पक्राउ परेछन् । अस्पतालमा शारीरिक तथा मानसिक पीडाले छटपटिरहे पनि अदालतले न्याय दिन्छ भन्नेमा ढुक्क थिएँ ।

एक दिन अचानक, एकजना आफन्तले पक्राउ परेका तीनै जना रिहा भएको खबर लिएर आउनुभयो । मलाई विश्वासै लागेन । टाउको घुमेजस्तो लाग्यो । ती अपराधीहरूले आएर मार्ने हुन् कि जस्तो लाग्यो ।

पत्रिका पढेर थाहा पाएँ, जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारिखमा छोड्न आदेश दिएपछि उनीहरू रिहा भएका रहेछन् ।

वकिलहरूले भन्नुभएको ज्यान मार्ने उद्योग र सामूहिक बलात्कार जस्ता मुद्दामा आरोपीलाई साधारण तारिखमा रिहा गर्न मिल्दैन रे । रिहा गर्ने आदेशमा बलात्कारको प्रसंगै उल्लेख छैन रे । दिउँसै अँध्यारो पार्ने यस्तो काम किन गरेका होलान् ?

न्यायाधीशले के आधारमा त्यस्तो आदेश दिनुभयो, मलाई थाहा छैन । तर त्यति ठूलो घटना हुँदा पनि न्याय पाँइदो रहेनछ भन्ने लाग्न थालेको छ । उहाँहरूको आफन्तमाथि यस्तो घटना भएको भए के गर्नुहुन्थ्यो होला ? मलाई जस्तै पीडितलाई पीडा दिने आदेश दिनुहुन्थ्यो कि ?

उच्च अदालत पाटनले ०७४ माघ २५ गते जिल्ला अदालतको आदेश खारेज गरेको रहेछ । बलात्कार र ज्यान मार्ने उद्योगको मुद्दामा अभियुक्तलाई साधारण तारेखमा छोड्न नमिल्ने आदेश दिएको छ ।

तर विडम्बना, अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छैन । अपराधीहरू निर्धक्क खुल्ला आकाशमुनि रमाइलो गरेर हिँड्दा हामी भने विस्थापित हुनु परेको छ ।

मेरा श्रीमान र म नयाँ ठाउँमा एउटा अँध्यारो कोठामा बसिरहेका छौं । यो दशैंमा घर र माइत जान पनि सकिनँ । दशैं मात्रै होइन, यो एक वर्ष कसरी बित्यो त्यो मलाई मात्रै थाहा छ ।

परिचय लुकाएर बस्नुपरेको छ । अपराधीहरू छाती फुकाएर हिँडेको समाजमा पीडित परिवार बसाई सर्नुपर्ने अवस्थामा पुग्दो रहेछ । त्यही घटनाका कारण मेरा ससुरा नयाँ ठाउँमा बसाई सर्ने तयारीमा हुनुहुन्छ रे ।

कताकता पीडित हुनु पो अपराध रहेछ भन्ने लाग्न थालेको छ ।

मेरो हात र टाउको पूर्ण रुपमा सन्चो भइसकेको छैन । कसैले सोध्यो भने सडक दुर्घटना परेको भनिरहेकी छु ।

उपचार गर्दा १० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । डाक्टरले तीन महिनाभित्र सञ्चो नभए हातको अपरेसन गर्नुपर्छ भन्नुभएको छ । कति खर्च लाग्छ थाहा छैन । उपचार गर्दा धेरै ऋण लागिसकेको छ । काम गरेर खाने मेरो हात अपराधीले सात ठाउँमा भाँची दिए ।

निर्मला पन्त बहिनीको बलात्कारपछि हत्या भएको समाचार आइरहेको छ । त्यो घटनामा पनि अपराधी पत्ता लागेको छैन रे ।

अपराधी फुक्काफाल घुमेर हिँड्न पाएपछि नै दिदीबहिनीहरू यसरी दिनदिनै बलात्कारमा परेका होलान् जस्तो लाग्छ । पक्राउ परिसकेको अपराधी पनि अदालतको आदेशमा उम्कन सफल हुँदोरहेछ ।

त्यो नारकीय घटना भएको एक वर्षमा पनि मैले न्याय पाइनँ । मजस्ता पीडित न्याय खोज्न कहाँ जाने ? मैले अब न्याय पाउँछु कि अब यसैलाई नियती मानेर सहेर बस्नुपर्ने हो ?

(०७४ मंसिर २ गते सामूहिक बलात्कारमा परेकी ‘गोदामचौर-क’ ले अनलाइनखबरकर्मीसँग गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment