Comments Add Comment

प्रहरी कार्यालय धमाधम पुनर्निर्माण, पालमा बस्नुपर्ने बाध्यता हट्यो

२१ कात्तिक, सिन्धुपाल्चोक । विनाशकारी भूकम्पमा कार्यालयहरु भत्किएपछि पालमा बसेर जनताको शान्ति सुरक्षाका लागि खटिदै आएका सिन्धुपाल्चोकका प्रहरीहरु यतिबेला भने सुविधासम्पन्न भवनमा बस्न थालेका छन् ।

२०७२ सालको भूकम्पमा जिल्ला प्रहरी कार्यालय सहित प्राय सबै भवन ध्वस्त भएका थिए । उनीहरुलाई लामो समयसम्म पालमा बसेर ड्युटी गर्नुपर्ने बाध्यता थियो ।

भूकम्पमा भत्किएका प्रहरी कार्यालयका भवनहरु केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको अन्तिम चरणमा छन् । भूकम्पपछि निर्माण सुरु गरिएकामध्ये इलाका प्रहरी कार्यालय जलविरे, प्रहरी चौकी सानोसिरुवारी, ठोकर्पा, साँगाचोक र लामोसाँघु निर्माण सम्पन्न भइसकेका छन् । अन्य प्रहरी कार्यालयहरु पनि निर्माण सम्पन्न हुने क्रममा छन् ।

केही प्रहरी चौकीहरु भने बजेट भए पनि जग्गा अभावमा निर्माण हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

भूकम्प गएको एक वर्षपछि प्रहरी चौकीहरु सुविधासम्पन्न रुपमा निर्माण भइरहेको प्रमुख मरासिनीले बताए । जवानहरुको लागि ब्यारेक, महिला र पुरुषका लागि छुट्टाछुट्टै थुनुवा कक्ष, कार्यालय लगायतका संरचनाहरु नयाँ प्रहरी कार्यालयहरुमा रहेका छन् ।

३१ प्रहरी कार्यालयमध्ये जग्गा भएका जिप्रकासहित १७ प्रहरी कार्यालय निर्माणका लागि राष्ट्रिय प्राधिकरणले २२ करोड रुपैयाँ पठाएको थियो

जग्गा नहुँदा रोकिएका प्रहरी कार्यालयहरु बाहेक आउने वर्ष सबै प्रहरी कार्यालयहरु निर्माण सम्पन्न हुने जिल्ला प्रहरी कार्यालयका डीएसपी विमलराज कँणेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयसहित पाँच इलाका प्रहरी कार्यालय, पाँच अस्थायी प्रहरी पोष्ट र २१ प्रहरी चौकीसहित सिन्धुपाल्चोकमा विभिन्न स्थानमा गरी ३१ प्रहरी युनिटहरु छन् । साढे ५ सय प्रहरीहरु कार्यालयहरु भूकम्पपछि अस्थायी टहरो र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पालबाट सञ्चालन भएका थिए ।

चिसो मौसम र वर्षामा समेत अस्थायी संरचनामा बस्दा प्रहरीलाई समस्या भएपनि भवन निर्माण भएपछि भने त्यो सबै समस्याबाट मुक्ति पाएको जिल्ला प्रहरी प्रमुख एसपी मरासिनीले जानकारी दिए । अस्थायी संरचनामा बस्दा धेरै प्रहरीहरु विरामी भएका र हातहतियारको सुरक्षा गर्न समेत प्रहरीहरुलाई समस्या भएको डीएसपी कँणेलले बताए ।

प्रहरी प्रधान कार्यालयको समन्वयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पमा भत्किएका प्रहरी चौकीहरु निर्माणका लागि बजेट दिएको थियो । ३१ प्रहरी कार्यालयमध्ये जग्गा भएका जिप्रकासहित १७ प्रहरी कार्यालय निर्माणका लागि प्राधिकरणले २२ करोड रुपैयाँ पठाएको थियो । अन्य प्रहरी कार्यालय निर्माणका लागि प्राधिकरणले बजेट पठाए पनि जग्गा अभावमा बजेट फिर्ता भएको डीएसपी कँणेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment