Comments Add Comment

पूर्वराजदूत हत्या प्रकरण : शंकाको घेरामा सुरक्षागार्ड !

४ मंसिर, काठमाडौं । राजधानीको बबरमहलमा भएको एउटा ‘हाइप्रोफाइल मर्डर’ प्रहरीका लागि टाउको दुखाइको विषय बनेको छ । चार महिना वितिसक्दा पनि प्रहरीले पूर्वराजदूत केशवराज झा हत्याको गुत्थी सुल्झाउन नसकेको हो ।

४ भदौमा ८० वर्षीय झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी हानेर हत्या भएको थियो । घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको प्रहरीले बताएको छ तर, भरपर्दो प्रमाण फेला पार्न नसक्दा अनुसन्धान अधिकारीहरु मौन छन् ।

घटनाबारे अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंह भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं तर, उपलब्धी हासिल भइसकेको छैन ।’

अनुसन्धानमा बलियो सबुत हात पर्न नसकेको उनी स्वीकार्छन् । प्रहरीले घटनालगत्तै अनुसन्धानका लागि सुरक्षागार्ड ४८ वर्षीय कान्छाराज तामाङ, माली ५३ वर्षीय आइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

तर, उनीहरु सबै छुटिसकेका छन् ।

शंकाको घेरामा सुरक्षागार्ड

घटनालगत्तै प्रहरीले घटनास्थलमा ल्याएको जर्मन सेफर्ड कुकुर म्याक्सले घरभित्रै हत्यारा रहेको संकेत गरेको थियो । त्यही आधारमा प्रहरीले पहिले सुरक्षागार्ड तामाङ र दुई मालीमाथि अनुसन्धान अघि बढायो । तर, बन्द कोठाभित्रको रहस्यमय हत्यामा प्रहरीले उनीहरुबाट कुनै महत्वपूर्ण सुराक हात पार्न सकेन ।

प्रहरीले पोलिग्राफदेखि नार्को परीक्षणसम्म गरेको छ । त्यसमा दुई मालीले ‘क्लीन चिट’ पाए भने ‘सुरक्षागार्ड’माथि भने शंका गर्नुपर्ने प्रशस्त आधारहरु भेटिएका छन् । स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा गरिएको पोलिग्राफ परीक्षणले तामाङले प्रहरीसामू झुटो बयान दिएको खुलेको थियो ।

परीक्षणका क्रममा सोधिएका संक्षिप्त प्रश्नहरुमा तामाङले दिएको अधिकांश जवाफ शंकास्पद देखियो ।

यो पनि पढ्नुहोस बन्द कोठाभित्र कसले हान्यो पूर्वराजदूतलाई छुरी ?

यसले अनुसन्धान अधिकारीहरुलाई झा प्रकरणको रहस्य सुल्झाउने आधार त दियो तर, प्रमाणले पुष्टि गराउन नसक्दा अधिकारीहरुले उपलब्धि हासिल गर्न सकेनन् ।

नेपाल प्रहरीले अनुसन्धानमा कमै मात्र अपनाउने अर्को एउटा विधि पनि झा प्रकरणमा अपनाइयो । त्यो हो, ‘नार्को’ टेष्ट । ललितपुरस्थित पाटन अस्पतालमा गरिएको नार्को परीक्षणबाट कुनै महत्वपूर्ण उपलब्धी भने हात लागेन ।

नार्को परीक्षणमा अभियुक्तलाई लठ्याउने औषधि दिएर प्रश्न सोधिन्छ । लठ्याएर एउटा अवस्थामा पुगेपछि व्यक्तिले झुठ नबोल्ने विश्वासमा यो परीक्षण गरिन्छ ।
यसअघि ०६५ सालमा डा. उपेन्द्र देवकोटीकी छोरी मेघाको अपहरण भएको घटनामा पनि नार्को परीक्षण गरिएको थियो ।

झासँग तामाङको असन्तुष्टि

पारिवारिक स्रोतका अनुसार तामाङ झण्डै एक दशकयता झाको घरमा कार्यरत थिए । उनले सुरक्षागार्डसँगै सेफको काम गर्दै आएका थिए । गेटनजिकै रहेको टहरोमा सुत्थे ।

स्रोतका अनुसार तामाङले तलबलाई लिएर केही समयदेखि असन्तुष्टि व्यक्त गरिरहेका थिए । ‘पहिले उसले मासिक १३ हजार पाउँदै आएको थियो’ स्रोतले भन्यो, ‘पछिल्लो समय दुई हजार बढाएर १५ हजार बनाइएको थियो ।’

तर, त्यतिमा पनि उनी सन्तुष्ट थिएनन् । खाना पकाउनेसँगै सुरक्षागार्डको पनि काम गर्नुपर्ने हुँदा उनले आफूलाई अन्याय गरिएको बताउने गरेका थिए । उनी यति ‘फ्रस्टेड’ भइसकेका थिए कि गाडी धुन लगाउँदा पैसा माग्ने गरेका थिए ।

यो पनि पढ्नुहोस पूर्वराजदूत झा हत्या प्रकरणः प्रहरीले गर्‍यो सेफ र २ मालीको ‘पोलिग्राफ टेस्ट’

घरमा आउने आफन्तसमक्ष पनि असन्तुष्टि राख्ने गरेको परिवारका एक सदस्य बताउँछन् । ‘कहिले घाँस काट्न लगाउँछन्, कहिले कपडा धुन लगाउँछन् । तर, पैसा चाहिँ दिँदैनन्’, तामाङको भनाइलाई स्मरण गर्दै एक आफन्त भन्छन् ।

झाको घरमा काम गर्नुअघि भारतमा पनि सेफको काम गरेको बताउने तामाङको श्रीमती र दुई छोरा छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ८ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी अहिले आफ्नै गाउँ पनौतीस्थित खोपासीमा छन् ।

प्रश्नै प्रश्नले जेलिएको अनुसन्धान

झा हत्यालाई अनुसन्धान अधिकारीहरुले सीमित रहस्यमय घटना मध्येको एक मानेका छन् ।

शंका गर्ने ठाउँ अनेक छन् तर, ठोस प्रमाण छैन । घटना क्रमले पेशेवर अपराधीले घटना गराएको जस्तो पनि देखिन्छ । तर, हालसम्मको अनुसन्धानको ट्याक कुनै पेशेवर व्यक्तिसम्म पुगेको छैन । सुरक्षागार्ड तामाङमै अड्किएको छ ।

छोरी राजश्री नेपाल बाहिर हुनु र छोराबुहारीलाई बिदाइ गरेको २४ घण्टा बित्न नपाउँदै झाको हत्या हुनु संयोग हो या नियोजित हो भन्ने विषयलाई जोडेर पनि प्रहरीले अनुसन्धान गर्‍यो । तर, परिवारभित्रै गरिएको अनुसन्धानले कुनै निकास दिन सकेन ।

झा पत्नी ज्ञानुतिर पनि शंकाको सुई नघुमाइएको होइन । घटना भएको रात उनी पहिलो तलामा सुतेकी थिइन्, जहाँबाट हत्यारा घरभित्र प्रवेश गरेको प्रहरीको अनुमान छ । झ्यालमा रहेको जालीको सानो भाग काटिएको छ । त्यहाँबाट हात छिराएर चुकुल खोलिएको हुनसक्ने प्रहरीको आशंका छ ।

तर, झ्यालको जाली काटेर हत्यारा कोठामा छिर्दा समेत त्यहीँ सुतेकी श्रीमतीले किन केही अत्तोपत्तो पाइनन् ? यो प्रश्नले अधिकारीहरुलाई शंका गर्ने ठाउँ दिएको थियो ।

घरको छतमा प्रहरी अधिकारीहरू ।

यति मात्र होइन, झाको हत्यामा श्रीमती सुत्ने कोठामै भएको भान्सामा राखिएको चक्कु प्रयोग भएको थियो । त्यसैले झाको काजकिरिया सकिएपछि पत्नीतर्फ निगरानी बढाइएको थियो भने बयान लिने प्रयास समेत गरिएको थियो ।

तर, उनी बयान दिन सक्ने अवस्थामै थिइनन् । ७० वर्षकी उनलाई चाँडै विर्सिहाल्ने रोग छ ।

‘चिया खाएको केहीबेरमै फेरि चिया खाउँ न भन्ने अवस्था छ’, एक अनुसन्धान अधिकारीले अनलाइनखबरसँग भने, ‘उनी औषधिसमेत लिइरहेकी थिइन् ।’
हरेक दिन साँझ उनी निदाउने औषधि खाएर सुत्छिन् । त्यसैले उनीतर्फ शंका गर्नु व्यर्थ रहेको प्रहरीको निश्कर्ष थियो ।

घरको सबैभन्दा माथिको भागको एक छेउमा पूजा कोठा छ । त्यसअगाडि बार पनि छ । त्यसको नजिकै रहेको झ्यालमा पनि जाली काटिएको भेटिएको थियो । त्यसैले छतबाट ज्ञानुको कोठासम्म हत्यारा पुगेको प्रहरीको अनुमान छ ।

तर, हत्यारा छतसम्म कसरी पुगे भन्ने प्रश्न अनुत्तरित छ ।

राति २५ फिट अग्लो भर्‍याङ लगाउनु सहज कुरा होइन । साथै भर्‍याङ प्रयोग भएको संकेत पनि छैन । बरु झ्यालको एक भागमा नांगो खुट्टाको ३ वटा डाम देखिएको छ, जसले घटनालाई रहस्यमय बनाएको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment