१० मंसिर, काठमाडौं । ललितपुरस्थित खोकना र बुङमतीवासीले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्न संसदीय समितिसँग माग गरेका छन् ।
उचित मुआब्जालगायतका विभिन्न माग राखेर आन्दोलनरत खोकना र बुङमतीवासीले सोमबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा द्रुतमार्ग रोक्न माग गरेका हुन् ।
ललितपुर महानगरपालिका-२२ का वडाअध्यक्ष अमृतराज शाक्यले स्थानीय जनताको माग सम्बोधन गरेर मात्रै द्रुतमार्ग अगाडि बढाउने व्यवस्था गरिदिन संसदीय समितिसँग माग गरे ।
नेवारी संस्कृतिको मुल थलोको रुपमा रहेको उक्त क्षेत्रका जनतालाई पेलेर माग सम्बोधन नगरी द्रुतमार्ग निर्माणको काम सुरु गरिएको भन्दै शाक्यले आपत्ति जनाए ।
वडाध्यक्ष शाक्यले दू्रतमार्गको जिरो प्वाइन्ट बुङमतीमा राख्न आफूहरु तयार भएपनि त्यसका लागि गरिएको सहमति कार्यान्वयन गर्न सरकारले नचाहेको आरोप लगाए ।
यता, खोकना क्षेत्रसमेत समेटिएको वडा नम्बर २१ का वडाध्यक्ष रविन्द्र महर्जनले स्थानीय जनतालाई पेलेर मुआब्जा वितरण गरी द्रुतमार्ग निर्माण सुरु गरिएको भन्दै आपत्ति जनाए ।
उनले स्थानीय जनताको मागको सम्बोधन नभइ द्रुतमार्ग निर्माणको काम अघि बढाउन नहुनेतर्फ पनि समिति र सरकारको ध्यानाकर्षण गराए ।
खोकना र बुङमतीका स्थानीयले उचित मुआब्जाको व्यवस्था गर्न तथा स्थानीय सांस्कृतिक तथा पूरातात्विक महत्वको सम्पदाको संरक्षण हुने व्यवस्था गरेर मात्रै द्रुतमार्ग निर्माणको काम अघि बढाउन माग गर्दै विरोध प्रर्दशन गर्दै आएका छन् ।
स्थानीयवासीको मागको सुनुवाई गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले उक्त क्षेत्रको स्थलगत अनुगमनसमेत गरेको छ ।
समितिकी सभापति शशी श्रेष्ठले स्थानीयको मागका सम्बन्धमा विस्तुत जानकारी लिएपछि सरकारलाई सो द्रुतमार्गको कामलाई कसरी अघि बढाउने भन्ने विषयमा आवश्यक निर्देशन दिने जानकारी दिइन् ।
नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिएको द्रुतमार्ग खोकना र बुङमतीका स्थानीय जनताको माग सम्बोधन नगरी अघि बढाएकोमा त्यस क्षेत्रका सांसदहरुको पनि आपत्ति छ ।
प्रतिक्रिया 4