Comments Add Comment

प्रचण्डको प्राथमिकतामा माडी

११ मङ्सिर, चितवन । चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका प्रचण्डको विकास वजेट माडी केन्द्रित भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले निर्वाचनको समयमा माडी क्षेत्रबाट निकै आलोचना खेप्नुपरेको थियो ।

स्थानीय पूर्वाधार विकास तथा साझेदारी कार्यक्रमवापत निकासा भएको रकममा माडी क्षेत्र प्राथमिकतामा परेको हो । सो क्षेत्रको निर्वाचित सांसद संयोजक हुने गरी ४ करोड विकास वजेट जिल्ला समन्वय समितिमार्फत् निकासा हुने गर्दछ ।

जिल्ला समन्वय समितिले उपलब्ध गराएको कार्यक्रम तालिकाअनुसार माडी नगरपालिका क्षेत्रका लागि एक करोड ७१ लाख वजेट विनियोजन गरिएको छ ।

भरतपुर महानगरपालिकाका २० वटा वडाका लागि दुई करोड २७ लाख वजेट विनियोजन भएको छ । माडीमा ९ वटा वडा रहेका छन् ।

माडीका पूरै नगरपालिकामा २१ हजार ६७३ मतदाता छन् । भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । ती सबै वडामा एक लाख ५० हजार २७३ मतदाता रहेका छन् जसमध्ये ६६ प्रतिशत हाराहारी क्षेत्र नं ३ मा पर्दछ ।

प्रचण्डले माडीमा सडक, कल्भर्ड, पुल, पार्क, विद्यालयलगायतका पूर्वाधारमा वजेट विनियोजन गरेका छन् । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जनसङ्ख्याको तुलनामा प्रचण्डको प्राथमिकता माडी क्षेत्रमा परेको बताए । विकासका दृष्टिले पछाडि परेको क्षेत्रलार्इ नै अध्यक्ष प्रचण्डले प्राथमिकतामा राखेको उनले बताए ।

सशस्त्र द्वन्द्वमा माडीको बाँदरमुढेमा भएको घटनाका कारण प्रचण्डले निर्वाचनको समयमा आलोचना खेप्नु परेको थियो । अहिले विकास वजेटमा प्राथमिकतामा परेसँगै स्थानीयवासीमा उत्साह थपिएको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले दाहालले वजेट बाँडफाँटमा माडीलाई प्राथमिकतामा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment