Comments Add Comment

नेपाल र बंगलादेशकाे ऊर्जा संयन्त्रको पहिलो बैठक आज

१७ मंसिर, काठमाडौं । नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रकोे बैठक आजदेखि शुरु हुँदैछ ।  बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि ‘संयुक्त कार्य समूह’को पहिलो बैठक काठमाडौँमा बस्न लागेको हो ।

बैठकका लागि बंगलादेशका उर्जा मन्त्रालयका उर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउसहितको १३ सदस्यीय प्रतिनिधिमण्डल आइतबार नै काठमाडौं आइसकेको छ ।

नेपालकोतर्फबाट उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बैठकमा नेतृत्व गर्नेछन् ।

पहिलो दिन आज सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

आजको सहसचिव स्तरीय बैठकमा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र बंगलादेशका तर्फबाट उर्जा विभागका सहसचिव शेख फैजुल अमिनले नेतृत्व गर्नेछन् ।

बैठकमा अन्तरदेशीय प्रसारण लाइन तथा प्रसारण संयन्त्रका विषयमा छलफल हुनुका साथै विद्युत् व्यापारका बारेमा दुवैपक्षबीच छलफल हुनेछ ।

नवीकरणीय ऊर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युतमा बङ्गलादेशले लगानी गर्नेसम्बन्धी छलफल र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकाजुर्न राव (जिएमआर) बाट ५०० मेगावाट बिजुली बङ्गलादेशले खरीद गर्नेबारे बैैठकमा छलफल हुनेछ ।

आजको बैठकले एजेण्डा तय गरेपछि भोलि सचिवस्तरीय बैठकले त्यसलाई मुर्तरुप दिने कार्यतालिका छ ।

गत भदौमा ऊर्जामन्त्री वर्षमान पुन बङ्गलादेश भ्रमणमा गएका बेला दुर्इ देशबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।

मन्त्री पुनले त्यसका लागि छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताएका थिए ।

बङ्गलादेशसँग ऊर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । काठमाडौँमा भएको उक्त समझदारीमा बङ्गलादेशको तर्फबाट ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका थिए ।

ऊर्जामन्त्री पुनले नेपालको जलविद्युत् बङ्गलादेशलाई बेच्ने वातावरण आफूले बनाउने दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment