Comments Add Comment

स्कुलमा सुनाउन नसकेको ‘मीटु’ कलेजमा….

स्कुले जीवनमा छँदा एकजना नजिकका दाजुले नराम्रो व्यवहार गर्ने प्रयास गरेपछि म सधैं ती दाजुसँग भागेर हिँडे । तर, कहिल्यै पनि घरका अरु सदस्यलाई सुनाउनुपर्छ भन्ने चेत आएन । न त यो कुरा अरु साथीसँग सुनाउनुपर्छ भन्ने लाग्यो ।

त्यसयता मेरो जीवनमा अंकल, दाजु भनेर परिचय गरेका केहीसँगसमेत केही दुर्व्यवहारका नमीठा अनुभव छन् । पढ्न जाँदा होस् वा सुरुवाती चरणमा काम गर्न थाल्दा होस् । या सार्वजनिक यातायातमा यात्रा गर्दा नै किन होस्, मैले यौन दुर्व्यवहार बेहोर्दै आएका केही नमीठा अनुभव छन् ।

त्यस्ता दुर्व्यवहारको कहीँ कतै थोरै प्रतिकार गरियो । तर, कहीँ कहिले पीडकलाई कारवाहीको दायरामा लानुपर्छ भनेर मेरो दिमागले सोच्नै सकेन ।

एउटा क्याम्पसमा पत्रकारिता अध्यापन गराउने मैले बीए तेस्रो बर्षका विद्यार्थीसँग #मीटू अभियानका बारेमा बुझाउँदै गर्दा छात्राहरु बीच सानो उमेरबाट आफूले भोगेका, अझ आफ्नाहरुबाट नै भएका हिंसाका घटना सुनाउँदै गर्दा विद्यार्थीहरु आफूसँग पनि त्यस्तो नमीठो अनुभव भएको सुनाउने प्रतिस्पर्धा नै चल्यो । म शिक्षक र ८/१० बर्ष पछाडिका यी विद्यार्थीले भोगेका यौन हिंसाका घटना एकै प्रकृतिका मात्र छैनन् । मैले पनि हिंसाबारे खुलेर बोल्न सकिनँ र उनीहरुले पनि सकेनन् ।

१२ कक्षा सकेपछि मैले त्यस्ता हिंसा गर्न खोज्नेलाई नजिक पर्नै दिइनँ । मेरा बीए तेस्रो बर्षका विद्यार्थीहरुले पनि अहिले यो सहँदैनन् ।

२०/२२ बर्ष पुगेपछि सामान्यतया जो कोहीले पनि यस्ता हिंसाको सजिलै प्रतिकार गर्न सक्छन् । तर, भर्खर युवती अवस्थामा प्रवेश गर्दैको अवस्थामा भने प्रतिकार गर्न सक्दैनन् । यसको मतलब के हो भने हामीले छोरीलाई बच्चैदेखि सशक्त हुन सिकाइराखेका छैनौं । यौन हिंसा के हो र यसको प्रतिकार कसरी गर्ने भन्ने शिक्षा दिएकै छैनौं । यौनका बारेमा खुलेर बोल्न हुँदैन भन्ने मानसिकताका कारणले भर्खरका केटीहरु अधबैंसे केटाहरुबाट हिंसामा परिराखेका छन् ।

हुन त तीन बर्षकी बालिका बलात्कारमा पर्ने मेरो देशमा राम्रो छुवाइ र नराम्रो छुवाइको कुरा गर्नु धेरै महत्वाकांक्षी हुन्छ होला । तर, एउटा पुरुषको नराम्रो छुवाइले महिलालाई मानसिकरुपमा नराम्रोसँग घोचिरहन्छ । जीवनमा जतिसुकै प्रगति गरे पनि यस्ता नमीठा अनुभवलाई कहिले भुल्न सकिँदैन ।

मैले यहाँनेर जोड्न खोजेको के हो भने साच्चै नै यौन हिंसाको मीटू अभियानमा इमानदारिताका साथ सबैले आफ्ना कथा ब्यक्त गर्ने हो भने हरेकका आˆनै कथा छन् । यसले एकातिर यौन हिंसाका कुरा लुकाउनुहुँदैन भन्नुपर्छ भन्ने बुझाउँछ भने अर्कोतर्फ यस्ता घटना बाहिर आएपछि यौन दुराचारी निरुत्साहित हुन्छन् भन्ने पनि हो । तर, यौन हिंसा भोगिसकेपछि व्यक्त गर्न सिकाउनु भन्दा हिंसा हुन नदिनु ठूलो कुरा हो ।

छोराछोरी दुबैलाई लैंगिक हिंसाबारे परिवारबाट नै सिकाउनुपर्ने हुन्छ, लैंगिक हिंसा के हो ? यसले पीडितलाई कस्तो प्रभाव पार्छ ? आदि कुराहरु सिकाउनुका साथै बाबुआमाले छोराछोरी दुबैलाई लैङ्गिक हिंसा नगर्न, कुनै पनि दुर्व्यवहार नगर्न र दुर्व्यवहारको प्रतिकार गर्न बच्चैबाट सिकाउनुपर्छ ।

हामीले छोरालाई फुटबल छोरीलाई भाँडाकुटी किन्न छाडेर छोरीलाई पनि शारीरिक अभ्यास हुने खेल कराँते, क्रिकेट फुटबल लगायतका खेलमा आकर्षण गर्न सके उनीहरु शारीरिक रुपमा सशक्त हुन्छन् ।

अर्कोतिर हाम्रो विद्यालयका पाठ्य सामाग्रीमा निम्नमाध्यमिक तहबाट नै यौनका बारेमा, यौन हिंसाका बारेमा र यौन हिंसामा परिहालेमा प्रतिकार कसरी गर्ने भनेर सिकाउनुपर्ने हुन्छ ।

यहाँनेर फेरि मेरो एउटा अनुभव जोड्न चाहें ।

मैले स्कुल पढदाखेरि कक्षा ९ को स्वास्थ्य शारीरिक विषयमा एउटा पाठ यौनशिक्षा सम्बन्धी थियो । जब त्यो पाठ पढाउने समय आयो, शिक्षकले यो तिमीहरु आफैं पढ भनेर अर्को पाठ पढाउन सुरु गर्नुभयो ।

घरपरिवारले यौनका कुरा कहिल्यै नसिकाएको र हामीलाई स्कुलमा शिक्षकले समेत नपढाएपछि यो लाजको कुरा हो, कसैसँग यसको बारेमा सोध्नु र बोल्नु हुँदैन भन्ने छाप पर्नु स्वाभाविकै थियो । त्यसकारण के भन्न सकिन्छ भने हाम्रो शिक्षाको कमजोरीको कारणले यौन हिंसा भोग्नेको र प्रतिकार नगर्नेको संख्या बढेको छ ।

लैङ्गिक हिंसाविरुद्धको कार्यक्रम चलाइरहेका संस्थाहरुले, सरकारले सञ्चार माध्यमबाट यौन हिंसाको प्रतिकार कसरी गर्ने भनेर प्रचार गर्न सके कयौं नेपाली चेली यौन दुर्व्यवहारको विरोध गर्न सबल हुन्थे र आगामी दिनमा यस्ता दुर्व्यवहार केही हदसम्म न्यूनीकरण हुने थिए । त्यसैले हाम्रो लैङ्गिक हिंसाविरुद्धको विभिन्न अभियान त्यतातिर पो केन्द्रित हुने हो कि ?

(ढकाल भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्राध्यापन गर्छिन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment