Comments Add Comment

अर्गानिक जोनमा तरकारी खोसाखोस

२६ मंसिर, बुटवल । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि बारीमै कुहिएका खबरहरु धेरै सुनेकै हो । तर रुपन्देहीको एक गाउँमा भने किसानले तरकारी टिप्न नपाउँदै ब्यापारीको मोलमोलाइ हुन्छ ।

बुटवलबाट ९ किलोमिटर पूर्व घोडाहा र त्यहाँबाट २ किलोमिटर उत्तर उकालो लागेपछि सरनबारी भन्ने ठाउँमा पुगिन्छ । रुपन्देही जिल्लाको देवदह नगरपालिका-१० मा पर्ने सरनबारी क्षेत्र अर्गानिक कृषि जोनको रुपमा विकास भैरहेको छ । सरनबारीमा करिब ५० हेक्टरमा अर्गानिक तरकारी खेती गरिएको कृषि विकास शाखा देवदहको तथ्यांक छ ।

यहाँका किसानले वर्षातको समयमा धान लगाए पनि हिउँदमा अर्गानिक तरकारी खेती गर्छन् । उनीहरुले फलाएको तरकारी किन्न ब्यापारीहरुको हानथाप नै चल्छ । बुटवलका ब्यापारीहरु दैनिक ३ वटा गाडी लिएर तरकारी खरिद गर्न सरनबारी पुग्छन् ।

व्यापारीहरुले बारीबाटै तरकारी खरिद गरेर लैजाने गरेको कारण किसानहरुलाई बजारको समस्या छैन । बजार खोज्दै हिँड्न नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि स्थानीय किसानहरु सन्तुष्ट देखिन्छन् ।

सरनकाली कृषि सहकारी संस्थासमेत गठन गरी स्थानीय कृषकहरुले रुपन्देहीमै नमूना अर्गानिक खेती गरिरहेका छन् । सहकारीमा ८४ घर परिवार आवद्ध छन् । ‘यहाँबाट दैनिक ५० क्विन्टल सिमी बुटवल जाने गरेको छ, दैलोबाट नै तरकारी उठाउँछन्, हामीलाई बजारीकरणको कुनै समस्या छैन,’ स्थानीय सरनकाली कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका किसान मानबहादुर गाहाले भने ।

१० वर्षदेखि अर्गानिक खेती

सरनबारीमा २०६५ सालदेखि नै पूर्णरुपमा अर्गानिक खेती भइरहेको किसानहरु बताउँछन् । स्थानीय ५१ वर्षीय बलबहादुर गाहाले रासायनिक विषादी र मल अहिलेसम्म प्रयोग नगरेको बताए । उनी भन्छन्, ‘अहिलेसम्म कुनै प्रकारको बिषादी बारीमा हाल्दैनौं, यहाँको माटो नै मलिलो छ ।’ असुरो, निम, बकाइनो जस्ता अर्गानिक विषादी प्रयोग गर्दै आए पनि त्यसलाई प्रयोग गर्नका लागि प्रयोग हुने कच्चा पदार्थ अभाव रहेको उनी बताउँछन् ।

किसानहरुले आफ्नै पहलमा कुलो खनेर बारी-बारीमा सिंचाइ सुविधा पुर्‍याएका छन् ।

किसानहरुले सिमी, बोडी, तरुल, पिँडालु, गोभी, लसुन, प्याज, साग लगायतका तरकारी फलाउँछन् । किसानहरुले करिब १ करोड १६ लाख रुपैयाँको तरकारी बिक्री गर्ने गरेका छन् । यो ६ महिनाको अवधिमा मात्र हो ।

देवदह नगरपालिका-१० का किसान कुलबहादुर गाहाले व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका छन् । कुल २५ कठ्ठा क्षेत्रफलममध्ये १० कठ्ठामा उनले हिउँदे सिमी लगाएका छन् । अर्गानिक उत्पादन भएकाले व्यापारीहरुको माग धेरै रहेको बताए ।

ब्यापारी रामु बौडेल प्रायजसो अर्गानिक तरकारी खरिद गर्न गाडी नै लिएर सनरबारी पुग्छन् । उनले बारीबाट प्रतिकिलो ४० रुपैयाँमा सिमी खरिद गरेर बुटवल कृषि उपज केन्द्रमा बेच्न लैजाने गरेको बताए । प्रतिकिलो २० रुपैयाँ नाफा राखेर कृषि उपज केन्द्रमा बेच्ने गरेको उनी बताउँछन् । तर, उपभोक्ताहरु भने एक किलो सिमीलाई एक सय रुपैयाँमा किन्न बाध्य भइरहेको गुनासो गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment