+
+
Shares

प्रदेश सांसद टेकबहादुरको वियोगान्त जिन्दगी !

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २९ गते ४:३०

२८ मंसिर, पोखरा । भारतको एपोलो अस्पतालमा उपचार गराइरहेका गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीलाई आधुनिक स्वास्थ्य विज्ञानले बचाउन सकेन । करिब ८ महिनाअघि जन्डिस रोगबाट पीडित बनेका घर्तीलाई दुई दिन अघिमात्रै थप उपचारका लागि भारत लगिएको थियो । लिभरले काम गर्न छाडेपछि लिभर फेर्न उनलाई दिल्ली लगिएको थियो ।

प्रदेश संसदमा छिरेको केही समयमै बिरामी परेका घर्तीको बिहीबार उपचारका क्रममा नयाँदिल्लीमा निधन भयो ।

बाग्लुङका जनताले विकासको सपना देखेर जिताएर पठाएका राष्ट्रिय जनमोर्चाका सांसद घर्तीलाई त्यही लिभरको समस्याले जीवनबाटै हराइदियो । ‘शालीन, साधारण तर जुझारु नेतालाई गुमाउनुपर्‍यो,’ जनमोर्चाकै सांसद पियारी थापाले भनिन्, ‘उनको परिवार र छोराछोरीहरुको अब सहारा टुटेको छ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेकबहादुरको निधनप्रति दुःख व्यक्त गरे । ‘उहाँको निधनले हामीलाई मर्माहत बनाएको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘उनको चीरशान्तिको कामना गर्दै परिवारजनमा धैर्यधारणको कामना गर्छु ।’

मुखियाका क्रान्तिकारी छोरा

प्रदेश सांसद टेकबहादुर घर्तीका बुबा पञ्चायती व्यवस्थाका पक्षपाती थिए । गाउँका मुखिया थिए । बहुदलपछि पनि उनका बुबाले गाउँमा मुखियाकै काम गर्थे । पञ्चायती व्यवस्थाकै वकालत गर्थे । मुखियाहरुले गाउँका मानिसलाई देखाउने प्रवृत्ति र व्यवहार छोरालाई मन परिरहेको थिएन ।

टेकबहादुर आफ्नै बुबाले समर्थन गरेेको व्यवस्थाको विपक्षमा उभिएर कम्युनिस्ट बने । गाउँमा हुने थिचोमिच्योमा बोल्न थाले । अन्यायका बिरुद्ध आवाजहरु उठाउन थाले । बहुदलपछि उनी कम्युनिस्ट नेता चित्रबहादुर केसीसँग प्रभावित थिए ।

मान्छे-मान्छेबीच समान व्यवहार हुनुपर्ने उनका आवाजहरु उनकै बुबालाई चित्त बुझ्दैनथ्यो । तर, उनी कम्युनिस्ट व्यवस्थाले मान्छेबीचका असमानता हटाउने विश्वासका साथ लागि परे ।

बागलुङ ढोरपाटन सैखोलामा जन्मेका टेकबहादुर घर्ती देशमा बहुदल आउँदा जम्मा ११ वर्षका थिए । घर्ती आˆनै उमेरमा कम्युनिस्ट आन्दोलनसँग नजिक भए । चित्रबहादुर केसी नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल -छैठौं) मा आवद्ध भए । गाउँका मुखया परिवार नै भए पनि उनीहरुसँग प्रसस्त सम्पत्ति र जग्गाजमीन भने थिएन ।

घर्तीले स्कुले बेलादेखि नै वगर्ाीय समानताका कुरा गर्ने उनका सहपाठी धर्म कुँवरले बताए । ‘मुखियाका छोरा मुखिया नै हुन सक्थे । तर, उनी पञ्चायती व्यवस्था र आˆनै बुबाहरुले लिएको नीतिको बिपक्षमा उभिएर उनले परिवारभित्रै क्रान्ति गरे,’ राष्ट्रिय जनमोर्चा बाग्लुङका उपाध्यक्षसमेत रहेका कुँवरले भने, ‘कम्युनिस्ट विचार र समानताका कुरा गर्दा उनी त्योबेला आँखामा तारो थिए ।’

माओवादीले सशत्र संघर्ष थाल्दा उनी अखिल छैठौंमा थिए । कम्युनिस्ट व्यवस्था मन पराउँदै तर हतियारको लडाईं होइन, शान्तिपूर्ण संघर्ष गर्नुपर्ने बताउँथे । ‘उनी अन्याय र अत्याचारकाबिरुद्ध बोल्थे, समानताको कुरा गर्थे, तर हतियारको लडाईंको विपक्षमा थिए,’ उनलाई नजिकबाट नियालेका र संगत गरेका कुँवरले भने, ‘माओवादी सशस्त्र संघर्षको बिरोध गर्दा उनले जीवनमा ठूलो मूल्य चुकाउनुपर्‍यो ।’

सशत्र संघर्षका बेला घर्ती परिवारको ढोरपाटन सैखोलामा पसल थियो । माओवादी सशत्र संघर्ष चर्किएका बेला उनको पसल लुटियो । घर्ती अपहरणमा परे । ३ महिना उनी अपरणमा परेर गाउँबाटै बिस्थापित भएको कुँवरले सम्झिए ।

गाउँबाट बिस्थापित भएर घर्ती बागलुङ बजार आए । उनले जनमोर्चामै रहेर राजनीतिलाई भने अगाडि बढाइरहे । जनमोर्चाको युवा संगठनमा आवद्ध भए । अखिल नेपाल युवक संघको बाग्लुङ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भए । पार्टीको जिल्ला सदस्य बने ।

पछि माओवादी शान्ति प्रक्रियामा आएपछि केही क्षतिपूर्तिसहित आˆनो घर फिर्ता पाएका थिए । देशमा संघीयता आयो तर, उनको पार्टी भने संघीयताको पक्षमा थिएन । ०७४ मा संघीय नेपालको पहिलो प्रदेश तथा संघको निर्वाचनमा उनलाई पार्टीले टिकट दियो । वाम गठबन्धन गरेको राष्ट्रिय जनमोर्चाले बागलुङ २ सीट जित्यो । त्यसमा उनी पनि परे ।

संघीयताको बिरोध गर्दागर्दै उनलाई बागलुङ- क्षेत्र नम्बर २ को ‘ख’ का जनताले त्यही संघीय व्यवस्थाले निर्माण गरेको प्रदेश संसदमा छिराइदिए ।

वियोगान्त जिन्दगी !

त्यस क्षेत्रका सांसद बन्न सफल भएका टेकबहादुरको जीवन भने त्यही सफल रहेन । बिस्थापित हुनु पहिल्यै उनको पारिवारिक सम्बन्ध बिग्रियो । उनीसँगै रहने बाचा गरेकी जीवनसंगीनी र उनीबीच पारपाचुके भयो । उनले दोस्रो विवाह गरे । पहिलो परिवारबाट उनको एक छोरी थिइन् । पछि दुई छोरा र चार छोरी जन्मिए ।

सामान्य किसान परिवार टेकबहादुरलाई चिन्ता थियो, छोराछोरीको भविष्य र पढाइको । उनी भन्ने गर्थे, ‘म दुःख गरेरै भए पनि यिनीहरुलाई पढाउन सकुँ ।’ उनी प्रदेश सभा सांसद भएपछि उनीसँग परिवारको मात्रै चिन्ता र चासो थिएन, त्यस क्षेत्रकै जनताको सपना उनीसँग जोडिए ।

‘आफूलाई जिताएर पठाएका जनताका निम्ति काम गर्ने, विकास पुर्‍याउने कुरामा उनी सक्रिय थिए,’ बागलुङबाटै प्रदेश सभा सदस्य बनेका कृष्णबहादुर थापाले भने । घर्तीलाई शालीन र साधारण जीवन जिउने एक कम्युनिस्ट युवाको रुपमा थापा स्मरण गर्छन् ।

समृद्धिको ढोका खोल्ने प्रदेश सरकारको लक्ष्यलाई आˆनो पनि सपना बनाइरहेका घर्तीले जनताको अपेक्षा पूरा गर्न पाएनन् । उनले चाहेको समृद्धि अब उनले कहिल्यै देख्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?