२८ मंसिर, काठमाडौं । धन कमाउन साउदी अरब गएका प्रशान्त लिम्बुले उल्टै धन तिरेर फर्किनु पर्ला भन्ने सोचेकै थिएनन् । सोचेको जस्तो कहाँ हुन्छ र ! हो, प्रशान्तको जीवनमा पनि नसोचेकै भयो ।
उनले चलाएको गाडीमा ठोक्किएर साउदी नागरिकको मृत्यु भएपछि जीन्दगीले फरक मोड लियो । उनी जेल परे, छुटेर फर्किन ब्लड मनी बापत झण्डै ३७ लाख तिर्नुपर्ने भयो । केही धन कमाएर पठाउला भनेर छोरालाई साउदी पठाएका उनको परिवारले । यत्रो पैसा कसरी जुटाउन सक्नु !
विभिन्न संघसंस्थाले चन्दा उठाएर रकम बुझाएपछि ब्लडमनी तिरेर उनी भर्खरै स्वदेश फर्किएका छन् । मातृभूमि टेक्दै गर्दा नयाँ जीवन पाएको अनुभूति गरेका उनले हामीलाई सुनाए ।
झापा टू साउदी
झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ निवासी हुन प्रशान्त । गाउँमै बस्न पुग्दो थिएन । केही गर्न लगानी जुटेन । भोगचलन गर्दै आएको दुई कठ्ठा जग्गा पनि ऐलानी । कमजोर आर्थिक अवस्थाकै कारण कक्षा आठ भन्दा अघि बढेन उनको अध्यापन पनि । घरका जेठो छोरो । जिम्मेवारी अलि बढी हुने नै भयो । बाबुआमा, दुई भाई, श्रीमति र छोरा तर, कमाइ सिमित ।
‘पहिलेपहिले ज्याला मजदुरी गरेर घर चलाइयो, पछि स्कुलको बस चलाएँ तर, विहेपछि खर्चले धानेन’, उनले अनलाइनबरसँग भने ।
विहेको ६ वर्षपछि ०७३ साउनमा रोजगारीका लागि साउदी अरब गए । रोभ इन्टरनेशनल मेनपावर प्रालिमार्फत ड्राइभिङ भिसा (हेभी ड्राइभिङ) मा साउदीको कराम अलखालिज फर ब्ल्याक एण्ड प्रीकास्टिङ कम्पनीमा काम गर्न गएका थिए । मेनपावरले उनीसँग १८ सय साउदी रियाल तलब हुने भन्दै एक लाख ३५ हजार असुली गर्यो । तर उता पुगेपछि जम्मा १२ सय रियाल तलब पाए ।
ड्राइभिङ भिसामा अप्लाइ गरेर गएपनि यताको सवारी चालक अनमतिपत्र (लाइसेन्स) उता नचल्ने रहेछ । उताको लाइसेन्स लिन उतैका विभिन्न प्रक्रिया पुरा गर्नुपर्ने भयो । कम्पनीले वास्ता गरेन । ‘यहाँको लाइसेन्स बनाउन लाग्ने खर्च मेरो तलबबाट काट भन्दा पनि मानेन’, उनले भने ।
२० वर्ष भन्दा बढी समयदेखि लाइसेन्स नभएका चालकले पनि हाम्रा गाडि चलाएका छन्, ‘भइपरिआएको हामी व्यहोर्छौं’ भन्दै कम्पनीले कन्भिन्स गरेपछि गाडि चलाउन तयार भएछन् प्रशान्त ।
रियाद पुगेको १० दिनपछि उनलाई गाडि चलाउने रुट देखाइयो । गाडि चलाउने रुट ३० किलोमिटर दुरीको थियो । राजधानी रियाद सिटीदेखि दिराबसम्म । केही दिन रुट हेरे उनले । जाने आउने गन्तब्य थाएपछि उनलाई रेडिमिक्स गाडी (सिमेन्ट घोल्ने मेसिनसहितको गाडी) चलाउन दिइयो ।
गाडि चलाउन थालेको ९ महिनाको अवधिमा व्यवधान नआएका होइनन् । आवत जावत गर्ने रुट हाइवेमा पथ्र्यो । ‘तीव्र गतिको गाडि ल्याएर झ्याप्प अघिल्तिर रोक्दिन्थें, अनावश्यक दुःख दिन्थे’, उनी सम्झिन्छन् ।
दिनहुँ ट्राफिक प्रहरीको फन्दामा पर्थे उनी । प्रहरीले जरिवानाको रसिद थमाइदिन्थ्यो । त्यो भने कम्पनीले व्यहोर्ने सहमति थियो ।
दुर्घटनाको त्यो दिन
प्राशान्त ऋण काढेर विदेश गएका थिए । त्यसैले भनेको जति तलब नपाएपनि १२ सय रियालमा चित्त बुझाउँदै जोखिम मोलेर काम गरिरहेका थिए । दुई वर्षको कन्ट्रयाक । नजानू गइसकेपछि ऋण तिरिवरी फर्किउँला भन्ने भयो । जसोचसो बिना लाइसेन्स गाडी चलाइरहेकै थिए ।
तर, समय एकनास कहाँ हुन्छ र ! सन् २०१३ को अप्रिल २९ मा प्रशान्तको दैनिकीमा क्रमभंगता आयो ।
अरु बेला जस्तै त्यस दिन पनि उनी सामान्य रुपमा काममा जाँदै थिए । समय थियो रातीको करिब साढे १ बजे ।
रयाद सिटीबाट दिराब रोड हुँदै जाँदा गर्दा उनको गाडिमा अचानक एउटा ट्याक्सी आएर उनको गाडिमा ठोक्कियो । ‘म आफ्नै लेनमा चलाइरहेको थिएँ, अचानक पछाडिको टायरमा पर्ने गरी एउटा ट्याक्सी ठोक्कियो’, उनले भने । साउदीमा ट्राफिक नियम एकदमै कडा छ ।
त्यसमा अनिविज्ञ थिएनन् प्रशान्त । त्यसैले पनि उनले भाग्न नहुने निश्कर्ष निकाले, जुन सम्भव पनि थिएन । लुकिङ ग्लासमा हेर्दा पछाडि ठोक्किएको गाडी पल्टिएको देखियो । उनले आपलm्नो गाडी रोके, इमर्जेन्सी लाइटहरु बाले । केहीबेरमै प्रहरी आइपुग्यो । प्रशान्त चलाएको रेडिमिक्समा ठोक्किएर पल्टिएको गाडीमा रहेका करिब ५० वर्षका साउदीका नागरिकको घटनास्थलमै मृत्यु भएछ । प्रहरीको सोधपुछमा उनले आफ्नो गल्ती नरहेको बताए ।
तर, उनीसँग लाइसेन्स र गाडिको इन्सुरेन्स पेपर थिएन । कमजोरी देखेपछि प्रहरीले उनलाई पक्रेर लग्यो ।
२ महिना दिराबकोटकै स्थानीय प्रहरी चौकिमा थुनिए उनी । मेलमिलाप हुने नदेखेपछि उनी कार्यरत कम्पनीले पासपोर्ट प्रहरीलाई बुझाइदियो र खास चासो पनि देखाएन यस प्रकरणमा ।
स्थानीय चौकीबाट उनलाई सेन्ट्रल जेल ट्रान्स्फर गरियो । त्यहाँ ८ महिना राखियो । यही दौरान उनले जिन्दगीको सबभन्दा ठूलो पीडा महसुस गरे । शारिरीक यातना नदिएपनि उनी प्रहरीको अनावश्यक केरकारले मानसिक रुपमा प्रताडित भए । फिल्ममा हतकडी लगाएको हेर्दा सामान्य लाग्थ्यो उनलाई तर, आफ्नो हात खुट्टा हतकडीले बाँधिएपछि पीडा महसुस गर्न थाले ।
जेलमा बिताएको आठ महिनामा उनको मानसिक अवस्था खस्कियो । ८ महीना पछि उनलाई अदालत पेश गरियो ।
मुद्दा अदालतमा पुगेपछि उनी तारेखमा रिहा भए । महीनामा एक पटक हाजिर हुनुपर्ने गरी । रिहा भएपनि काम गर्न सक्ने अवस्थामा थिएनन् उनी । रिहा भएको ४ महीना झन् कष्टकर बन्यो उनको जीवन ।
कति दिन रोटी र पानी खाएर बिते । पाँच महिनामा पाँच पटक तारेख धाएपछि स्थानीय अदालतमा फैसलाको दिन आयो । वहसका क्रममा प्रशान्तले ब्लडमनि बापत ३ लाख रियाल चुकाउनुपर्ने तर्क गरियो ।
तर, प्रशान्तले आफू निर्दोश रहेको बताउँदै गल्ती अस्वीकार गरिरहे । अदालतले उक्त घटनामा प्रशान्तको ७५ प्रतिशत गल्ती रहेको ठहर गर्दै फैसला गर्यो– २ लाख २५ हजार रियाल ब्लडमनि तिरेर रिहा हुन पाउने । नत्र नेपाल फर्कन नपाउने । दुर्घटनामा कारमा समेत क्षति भएकाले त्यसको क्षतिपूतिवापत १५ हजार साउदी रियाल व्यहोर्नुपर्ने भनको थियो अदालतले ।
यो प्रक्रियामा आफूले काम गरेको कम्पनीले बिल्कुलै नसघाएको प्रशान्त बताउँछन् । तर, अदालतले नै ब्लडमनी बापतको आधा रकम तिर्नुपर्ने फैसला गरिदिएपछि कम्पनी बाध्य बनेको उनले बताए । ज्यान जोगाएर स्वदेश फर्किन ठूलो रकमको आधा बोझ कम्पनीतर्फ गए पनि सन्तोष मिल्ने अवस्था थिएन प्रशान्तलाई । बाँकी रकम उनको परिवारले जुछटाउन सकेन ।
चन्दाले जोगाएको जीवन
घटनापछि साउदीस्थित नेपाली राजदुतावासले कन्सुलर सेवा विभाग काठमाडौंलाई १८ जुन २०१८ मा पत्र लेख्यो ।
तर, तत्काल कतैबाट पनि ठोस पहल भएन । घरबाट त्यत्रो रकम जुट्न सक्ने अवस्था थिएन । बुबा उत्तर सिंह छोरा बचाउन दौडधुपमा लागे । ठूलो रकम चुक्ता गर्नुपर्ने भएकाले पार लाग्न सक्ने अवस्था थिएन ।
यस दौरान सामी परियोजना अन्तर्गत नवलपरासी सूचान केन्द्रले दिएको सूचनाका आधारमा प्रवासी समन्वय समिति (पिएनसिसी)को पहलमा ०७५ असार १४ मा पत्रकार सम्मेलन गरी प्रशान्तको जीवन जोगाउन ब्लडमनि संकलन अभियान थालियो । अभियानमा थप अभियान जोडियो । विभिन्न संघसंस्थाले पनि चन्दा संकलन गरिदिए । अभियान शुरु भएको लगभग दुई महिनामै आवश्यक रकम संकलन भयो । प्रवासी नेपाली समन्वयन समितिले मात्रै १५ लाख ४४ हजार २६० रुपैयाँ जुटाइदियो ।
प्रेम बचाउ अभियान मूल समितिले पनि चन्दा उठाएर प्रशान्तका लागि १५ लाख जम्मा गरिदियो । यसबाहेक प्रशान्त लिम्बु देश फर्काउ अभियान, झापाले ५ लाख ४ सय, प्रशान्त लिम्बु देश फर्काउ अभियान, ताप्लेजुङले ५६ हजार ९ सय ४०, किराँत याक्थुम चुम्लुङ, ललितपुरले ८ हजार रुपैयाँ संकलन गरेर सघायो । जम्मा भएको कूल ३६ लाख ८१ हजार ६ सय रुपैयाँ गएको २५ भदौमा परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरिएसँगै शुरु भयो प्रशान्तलाई स्वदेश फर्काउने प्रक्रिया ।
केही महिनाको निरन्तरको फलोअप तथा नेपाली दुतावासको सहयोग तथा समन्वयमा प्रशान्त विहिबार काठमाडौं आइपुगेका छन् ।
परिवारको आर्थिक अवस्था दयनिय भएकाले उनको जीवन जोगाउन कि त राज्य लाग्नुपथ्र्यो । कि त मनकारी मान्छे । राज्यले त सघाएन । तर, स्वस्फूर्त रुपमा थालिएको प्रशान्तलाई जोगाउने अभियानले सार्थकता पाएको छ ।
स्वदेश फर्किएपछि शुक्रबार अनामनगरस्थित पिएनसिसी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रशान्त यस दौरान भोगेका वेदना सुनाएका थिए ।
मातृभूमि टेक्दै गर्दा उनले भनेका छन्– ‘नयाँ जीवन पाएको छ महसुस भइरहेको छ, अब यतै बसेर केही गर्छु ।’
साथै ड्राइभिङ भिसामा साउदी अरब जानेहरुलाई उनको सुझाव छ– बिना लाइसेन्स र गाडिको इन्सुरेन्स बिना त गाडि चलाउँदै नचलाउनु । वैदेशिक रोजगारीका क्रममा वर्षेनी धेरै नेपाली दुर्घटना मुद्दामा पर्ने गरेका छन् । मुद्दा अदालतसम्म पुग्दा कि ब्लडमनि तिरेर छुट्न सक्ने आदेश आउँछ कि त जन्मकैद वा फाँसी । मध्य पूर्वी मुलुक मध्ये सबभन्दा कठोर कानून भएको देश हो साउदी अरब ।
कतिपय घटनामा नेपाली कामदारको कसुर नहुँदा पनि दोष थोपर्ने गरिएको अभियान्ताहरु बताउँछन् । प्रशान्तको हकमा पनि त्यस्तै भएको देखिएको पिएनसिसीका अध्यक्ष कुल प्रसाद कार्कीले बताए ।
वैदेशिक रोजगारीमा कामदार पठाउने प्रक्रियामा राज्य पक्षको कमजोर उपस्थितिले पनि नेपाली कामदार फँस्ने गरेको उनको भनाइ छ । पिएनसिसीको सक्रियतामा पछिल्लो केही वर्षमा लाखौं ब्लडमनी तिरेर करिब ३० जनाभन्दा बढी नेपालीलाई स्वदेश फर्काइएको उनले जानकारी दिए ।
प्रतिक्रिया 4