२७ मंसिर, भक्तपुर । नेकपा एमालेको ११ औं महाधिवेशनमा सहभागी हुन जिल्ला–जिल्लाबाट बिहानै कार्यकर्ताहरू भक्तपुर आइपुगेका छन् । खेतीपाती छाडेर गाडी रिजर्भ गरी बिहान महाधिवेशनस्थल सल्लाघारी आइपुगेकाहरुले आजै घर फर्किने बताएका छन् ।
एमाले महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुन सिराहाका ७५ वर्षीय सर्जुक दास बिहान ५ बजे भक्तपुर सल्लाघारी आइपुगे । गाडी रिजर्भ गरेर उनीसहित १६० जनाको टोली सल्लाघारी आइपुगेको थियो ।
किन आएको भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘खेतीपातीको काम छोडेर पार्टीको सभामा आएको हुँ । टोलको सबै जाने भनेर आएको ।’
एमाले महाधिवेशनका लागि भनेर बिहानै भक्तपुर आइपुगेकाहरु जाडोले लुगलुग काँपीरहेका थिए । ७० वर्षीया लरवती मण्डल पनि टोली नेताको आग्रहमा भक्तपुर आएकी छन् । ‘सभा हेर्न आएको हुँ, रातभर चिसोले हान्यो,’ उनले भनिन् ।
अर्का ६५ वर्षीय चुलाहब पण्डित पनि सिराहाबाट आफ्नै खर्चमा भक्तपुर आएको आएको बताउँछन् । ‘हिजो दिउँसो ३ बजे हिँडेको । बिहान यहाँ झरेको,’ उनले सुनाए, ‘कार्यक्रम सकिएपछि त्यही रिजर्भ गाडीमा फर्किने हो ।’
४० वर्षीया मञ्जुदेवी साहले वडाका नेताले बोलाएपछि भक्तपुर आएको बताइन् । ‘नेताले भनेर आएकी हुँ,’ उनले भनिन्, ‘नेताको भाषण सुन्न आएको हो ।’

यो टोलीको नेतृत्व गरेर आएका वडाका एमाले नेता हुन्– महेशकुमार साह । ‘खेतीको सिजन हो । सबै काम छोडेर आएको,’ उनले भने, ‘पार्टीप्रति बफादार भएर आएका हुन् ।’
एमालेको सिराहा जिल्ला कमिटी सचिवालय सदस्य रामकिसुन यादव पनि आफ्नै खर्चमा महाधिवेशनका लागि आएको बताउँछन् । ‘खल्ती–खल्तीबाट पैसा खर्च गरेर आएका हौं । सभा सकेर घर फर्किने,’ उनले भने ।
नवलपुरबाट पनि ३० जनाको टोली आज (शनिबार) बिहान भक्तपुर आइपुगेको छ । ‘हिजो बिहान ९ बजे हिँडेको । आज बिहान ६ बजे आइपुग्यौं,’ राममाया रूतालले भनिन् ।

धनुषाको मिथिला नगरपालिकाबाट बिहान ४० जनाको टोली आइपुगेको छ । ‘हामी समर्थक हौं । जुलुस, सभा छ भनेर कमिटीले ल्याएको हो,’ ५८ वर्षीय तिमलाल महतोले भने, ‘आज बेलुका फर्किने हो ।’
चितवनको कालिका नगरपालिका–५ देखि नाति बोकेर आएका छन्, सीताराम चौधरी । रातभरको मङ्सिरे चिसो छिचोल्दै एकाबिहानै एमाले महाधिवेशनस्थल आइपुगेका हुन् उनी ।
५७ वर्षीय चौधरी एक्लै छैनन्, ६ वर्षीय नाति पनि साथै ल्याएका छन् । घरमा हजुरआमा एक्लै रहेकाले आफूले नै ल्याउनु उचित ठानेर नाति बोकेर आएको चौधरीले सुनाए ।

‘नातीले मलाई छोड्दैन । म बाहेकसँग मान्दैन पनि । अनि ल्याउनैपर्यो,’ उनले नाति महाधिवेशनमा ल्याउनुको कारण सुनाउँदै भने, ‘फेरि आफूले माया गरेको पार्टीले यत्रो कार्यक्रम गर्दा नआई बस्न पनि मन लागेन ।’
६ वर्षीय योगेश कुमाल उनका छोरीपट्टीका नाति हुन् । आफूलाई राजनीतिक माहोलले गर्माए पनि नातिलाई चिसो नलागोस् भन्नेमा चौधरी सचेत छन् ।
तर, चौधरीलाई राजनीतिक रूपमा पनि सकस छ । उनका जिल्ला र क्षेत्रका नेताहरू यस महाधिवेशनमा ओली जिताउनुपर्छ भनेर लागिपरेका छन् । चौधरीलाई पनि सोहीअनुसार बोल्नुपर्ने बाध्यता छ ।
‘भन्न त ओली जिताउनु भन्छन् । म पनि बोल्दा त्यही बोल्छु,’ चौधरीले मनको कुरा खोले, ‘तर, भित्रबाट ओलीले नयाँ मान्छेलाई छोडिदिए हुन्थ्यो भन्ने लागिरहेको छ । यत्रो आन्दोलनले उनलाई अस्विकार गरेको परिस्थिति बुझिदिए हामी कार्यकर्तालाई नि सहज हुन्थ्यो ।’

जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको आवाज उठेकाले पनि यसपल्ट परिवर्तन भइदिए हुन्थ्यो र त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीले नै मार्गप्रशस्त गरिदिए सहज हुने उनले बताए ।
एमालेले महाधिवेशन उदघाटन समारोहमा तीन लाख मानिसहरू उतार्ने तयारी छ । विभिन्न स्थानबाट निस्किने जुलुस सभामा परिणत हुनेछ । ‘१० बजेपछि मञ्चमा देशभरबाट आएका कार्यकर्ता प्रतिनिधि छिर्न पाउँछन्, ११ बजेबाट सांस्कृतिक कार्यक्रम सुरू हुन्छ,’ मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले भने ।
प्रतिक्रिया 4