२९ मंसिर, काठमाडौं । भारतको कोलकातामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेको सूचना नेपालको सरकारी संयन्त्रले पाएको छ ।
चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको समितिले यो सूचना पाएपछि अनुसन्धान थालेको छ ।
स्रोतका अनुसार, शुक्रबार दिउँसो कोलकातामा सुनसहित दुई नेपाली नागरिक पक्राउ गरेको सूचना आएपछि समितिका अधिकारीहरु छलफलमा जुटेका हुन् ।
अधिकारीहरुका अनुसार पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्माले छन् । उनीहरुको कारबाट सुन बरामद भएको जनाइएको छ ।
‘भारतमा सुन समातिएको कुरा आयो । ठूलो परिमाणमा सुन भित्र्निे भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हो’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘त्यसैले भारतमा समातिएको सुन पहिल्यै भित्रिएको र गायब भएको भनिएको साढे ३३ किलो सुन हुनसक्ने आशंका छ ।’
स्रोतका अनुसार, यो सूचना पाएलगत्तै समितिको नेतृत्व गरेका सह–सचिव ईश्वरराज पौडेलसहित अन्य सदस्यहरुबीच लामो छलफल पनि भएको थियो । ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो’, समितिका एक अधिकारीले अनलाइनखबरसँग भने ।
उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ को नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको सुन समितिको दाबी थियो ।
जिल्ला अदालत, मोरङमा दायर भएको मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको थियो । तर, हराएको भनिएको सुन बरामद नभएपछि मुद्दा कमजोर बनाइएको आरोप लाग्दै आएको थियो ।
के हो साढे ३३ किलो सुनकाण्ड ?
अघिल्लो वर्ष माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको गाइँगुइँ चलेको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।
घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप लागेको थियो । यसबारे छानविनका क्रममा पूर्वडिआईजी गोविन्द निरौला, महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका थिए । उनीहरू अहिले अदालतबाट छुटिसकेका छन् ।
अनुसन्धानका क्रममा समितिले विभिन्न स्थानबाट बरामद गरेको रजिष्टरमा ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको जनाएको थियो । समितिले बरामद गरेको रजिष्ट्रारमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत उल्लेख थियो।
उनीहरुले सुन तस्करीका लागि तत्कालीन विमानस्थल प्रहरीको सिङ्गो सेटसँगै सेटिङ मिलाएको भेटिएको थियो । गोरे समूहले प्रहरीसँग सेटिङ मिलाउन कुल २ करोड २० लाख ७७ हजार रुपैयाँ प्रहरीलाई बुझाएको लेजर समेत फेला पारिएको थियो ।
प्रहरीलाई बुझाएको रकमको विस्तृत विवरण समूहले एउटा डायरीमै उल्लेख गरेको भेटिएको अधिकारीहरूले बताएका थिए ।
गोरेले प्रहरी अधिकारीहरुलाई मामा भनेर सम्बोधन गरेका थिए। र, तत्कालिन प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का र प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरले पैसा लिएको अभिलेख भेटिएको थियो ।
त्यसरी तत्कालीन डीआईजी निरौलाले ३ पटक गरेर १७ लाख रुपैयाँ, एसएसपी श्याम खत्रीले १६ पटकमा १ करोड १२ लाख ९२ हजार रुपैयाँ, एसपी विकासराज खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ र डिएसपी सञ्जयबहादुर राउतले ६ पटकमा १५ लाख रुपैयाँ गोरेबाट लिएको खुलेको थियो ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4