Comments Add Comment

अमेरिकाले निम्ता दिनु महत्वपूर्ण उपलब्धी : परराष्ट्रमन्त्री ज्ञवाली

१ पुस, गुल्मी (हुंगा) । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १७ वर्षपछि अमेरिका र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । यसअघि अमेरिकाले नेपाललाई दिल्लीको आँखाबाट हेर्ने गरेकामा पहिलोपटक अमेरिकी विदेशमन्त्रीले आफूलाई औपचारिक वार्ताका लागि निमन्त्रणा गरेको उनले बताए ।

आइतबार गुल्मी छत्रकोटको जनजागृति माविको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसंग वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने दावी गरे ।

१७ वर्षको अन्तरालमा अमेरिकाले नेपाललाई महत्व दिएर औपचारिक वार्ताका लागि निम्ता दिनु नेपालको परराष्ट्र सम्बन्धमा महत्वपूर्ण उपलब्धी भएको मन्त्री ज्ञवालीले तर्क गरे ।

दुई देशका परराष्ट्र मन्त्रीबीचको वार्तामा आफूले तीनै तहका चुनावपछिको नेपालको अवस्था,नेपालका विकासका प्राथमिकता, लगानीका सम्भावनाका क्षेत्र आदि विषयमा छलफल हुने र यो वार्तापछि अमेरिकाले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने मन्त्री ज्ञवालीले बताए ।

यो पनि पढ्नुहोस नेपाल र अमेरिकी विदेशमन्त्रीको भेट पुस ३ गते

अमेरिकी विदेशमन्त्रीसंग आफूले नेपालको सशस्त्र युद्धलाई आफ्नै मौलिक ढंगले शान्ति प्रक्रियामार्फत रुपान्तरण गरेको, संविधानसभाको चुनावमार्फत संविधान निर्माण, गणतन्त्र र संघीयता कार्यान्वयनलगायतका उपलब्धीबारे जानकारी गराउने मन्त्री ज्ञवालीले बताए । चुनावपछि दुई तिहाई वहुमतसहितको बलियो सरकार बनेपछि नेपालप्रति विश्वको चासो बढेको उनले बताए ।

वर्तमान सरकार बनेपछि भारत र चीन दुबैसँग परराष्ट्र सम्बन्ध विश्वसनीय बनेको र चीनसँग आठ वटा नाकाबाट सडक खोल्ने प्रक्रियामा रहेकाले अब नेपालमाथि कसैले नाकाबन्दी लगाउन नसक्ने मन्त्री ज्ञवालीले उल्लेख गरे ।

५ वर्षभित्रै नेपालमा रेल र पानी जहाज चल्ने, तीन वर्षभित्र विकासशील राष्ट्रमा पुग्ने, १० वर्षभित्र वाध्यताले विदेशमा रोजगारी जानुपर्ने वाध्यताको अन्त्य गरिने उनले दावी गरे ।

फरक प्रसंगमा उनले विगतको माओवादी युद्धकालमा शिक्षामा लगाउनुपर्ने लगानी गोला बारुदमा खर्च गर्नुपरेकाले नेपालको शिक्षा पछाडि परेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारी शिक्षक शिक्षिकाले आफ्ना छोराछोरीलाई पनि सरकारी विद्यालयमा पढाउन आग्रह गरे । आफ्ना छोराछोरी निजी विद्यालय पढाउने अनि आफूले सरकारी विद्यालयमा जागिर खाने कुराले सरकारी विद्यालयको गुणस्तर माथि उठ्न नसकेको उनले औंल्याए ।

मुलुकमा सरकारी र निजी दुई खाले शिक्षाले समाजमा विभाजन ल्याएको टिप्पणी गर्दै मन्त्री ज्ञवालीले शिक्षा, स्वास्थ्य, खाद्य र रोजगारीलाई संविधानले मौलिक हक उल्लेख गरेकाले सरकार त्यसलाई कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment