Comments Add Comment

ब्याजदर आतंकः बैंकरलाई बालुवाटार बोलाएर के भन्याे राष्ट्र बैंकले ?

३ पुस, काठमाडौं । बैंकहरुले धमाधम निक्षेपकाे ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले तत्काल नबढाउन निर्देशन दिएको छ ।

मंगलबारमात्रै दुई वाणिज्य बैंकले निक्षेपमा १३ प्रतिशत ब्याजदर घोषणा गरे पछि राष्ट्र बैंकले ब्याजदर बढाउने बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बालुवाटार कार्यालयमा बोलाएर संयमता अपनाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले ब्याजदरमा संयमता अपाउने भएका छन् । मंगलबार बालुवाटार कार्यालयमा राष्ट्र बैंकको व्रिफिङ सुनेर आएका एक बैंकरले अब ब्याज नबढाउने कवोल गरेर आएको सुनाए ।

नाम नखुलाउने शर्तमा ति बैंकरले भने, ‘राष्ट्र बैंकले हामीलाई बोलाएको थियो छलफलमा संयमित हुनुपर्छ भन्ने कुरा राष्ट्र बैंकले गरेको छ ।’

ब्याजदरमा सीमा तोकिने

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि बचत तथा निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकेको थियो । निक्षेपमा ११ प्रतिशभन्दा बढी ब्याजद दिन नपाइने गरी संघले सीमा लगाए पनि पछिल्लो समय तरलता समस्या बढेको भन्दै त्यो सीमा फुकुवा गरिएको थियो ।

संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए । अब पुनः फेरी संघले सीमा लगाउने भएको छ ।

थप निर्णय भने बैंकर संघले नै गर्ने बैठकमा सहभागी भएर आएका ति बैंकरले बताए । ‘राष्ट्र बैंकले संयमित हुन आग्रह गरेपछि संघको बैठक बसेर यस विषयमा आवश्यक निर्णय लिने कुरा भएको छ’, उनले भने ।

नविल बैंक र हिमालयन बैंकले १३ प्रतिशत ब्याजदर दिने सूचना जारी गरेका थिए भने केहि बैंकहरुले बढाउने तयारी गरिहेका थिए । केही बैंकहरुले भने यस अघि नै ब्याजदर बढाइसकेका छन् ।

संघले ब्याजदर निर्धारण गर्न बैंकहरुलाई स्वतन्त्रता प्रदान गर्ने निर्णय गरेलगत्तै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए । बैंकमा लगानी योग्य रकमको अभाव भएका कारण उनीहरुले ब्याजदर बढाएका हुन् ।

जनता बैंकबाट शुरु भएको ब्याजदर बढाउने प्रतिष्पर्धा पछि सेञ्चुरी, कुमारी लगायतका बैंकले पनि १३ प्रतिशतसम्म ब्याजदर अफर गरेका थिए ।

ति बैंकहरुले ब्याजदर बढाए पछि अन्य बैंकहरुले पनि बढाउने तयारी गरेका थिए । तर, वित्त बजारमा ‘आतंक’ फैलाउने गरी ब्याज बढाउन नहुने बैंकर्स संघले नै निश्कर्ष निकालेको थियो ।

ब्याजदरलाई लिएर वाणिज्य बैंकका सबै सीईओ र र केही बैंकका डेपुटी सीईओसमेत रहेको भाइबर ग्रुपमा चर्को बहस समेत भएको थियो ।

त्यसलगत्तै तत्काल ब्याज नबढाउने बैंकहरुबीच भद्र सहमति भएको थियो । अर्थमन्त्रालयले ब्याजदर पुँजी बजारका विषयमा अध्ययन गर्न बनाएको छानबिन समितिले प्रतिवेदन नबुझाउञ्जेलसम्म पर्खने गरी बैंकहरुले सहमति गरेका थिए ।

समितिले प्रतिवेदन बुझाउन ढिला गरे पछि मंगलबार थप बैंकहरुले निक्षेपको ब्याजदर बढाएका हुन् ।  ‘मन्त्रालयले गठन गरेको समितिले गत शुक्रबार प्रतिवेदन बुझाउने भनिएको थियो, त्यसकारण हामीले बुधबार केहि समयलाई पर्खौं भनेर भद्र सहमति गरेका थियौं’, बैंकर्स संघका एक सदस्यले भने, ‘समितिको प्रतिवेदन आउन ढिलाई भएपछि साथीहरुले ब्याजदर बढाउनु भएको हो ।’

बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदा कर्जाको पनि बढ्छ । १३ प्रतिशतमा निक्षेप लिएका बैंकले त्यसमा स्प्रेड दर जोडेर १७ प्रतिशतसम्ममा कर्जा लगानी गर्न पाउँछन् । यसरी ब्याजदर बढ्दा कर्जा लिएर उद्यम गर्ने उद्योगी तथा व्यावसायीहरुलाई भने ठूलो मर्का पर्दछ ।

मन्त्रालयले गठन गरेको समितिको संयोजकमा राष्ट्र बैंककै डेपुटी गभर्नर शिवराज श्रेष्ठ छन् भने अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र पुँजी बजार लगानीकर्ताका तर्फबाट नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र नेपाल पुँजी बजार लगानी कर्ता संघकी अध्यक्ष राधा पोखरेल सदस्य छन् ।

समितिले गत शुक्रबार नै प्रतिवेदन बुझाउने तयारी गरेको थियो । पुँजी बजारमा भइरहेको आन्दोलनका कारण प्रतिवेदनलाई अन्तिम रुप दिन नसकेकाले समिति भोली बुधबार वा पर्सी बिहीबारसम्म प्रतिवेदन बुझाउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment