Comments Add Comment

‘फ्ल्यासब्याक’मा उपेन्द्र देवकोटा, यसरी गरियो सम्झना

४ पुस, काठमाडौं । बाँसबारी न्यूरो अस्पतालको नाम फेरिएको छ । अस्पताल देखिनवित्तिकै नेमप्लेट देखा पर्छ– ‘उपेन्द्र देवकोटा मेमोरियल नेस्नल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ट एलिड साइन्स’ ।

डा. उपेन्द्र देवकोटा हतारिँदै ओहोरदोहोर गर्ने न्यूरो अस्पतालको प्राङ्गणमा बुधबार ठूलो फ्रेमिङ फोटोमात्र थियो, जहाँ दुई सुन्दर माला ओडेर सुन्दर दाँतसहित मुस्काइरहेथ्यो डा. देवकोटाको तस्वीर ।

डा. देवकोटा आजभन्दा ६ महिनाअघि यो संसारबाट बिदा भएका छन् । बुधबार उनको ६६ औँ जन्मजयन्ती हो । यसअघिका जन्मदिनमा केट काट्न सघाउने हातहरु बुधबारचाहिँ न्यूरो अस्पतालमा आँशु पुछ्दै थिए ।

अहिले डा. देबकोटाको भार उनकी पत्नी प्रा.डा. मधु दीक्षित देवकोटाले उठाएकी छिन् । अर्थात उनी अस्पतालको अध्यक्षको भूमिका छिन् । जन्मजयन्तीमा देवकोटालाई सम्झने मेलो उनैले मिलाएकी हुन् ।

यसपालि डा. मधुले उपेन्द्र देवकोटाको जन्मदिनमा रक्तदानको आयोजना र हस्पिटलको सेवामा केही छुट दिइन् । ५० जनाभन्दा बढीले डा. देवकोटालाई सम्झँदै रगत चढाए । यो क्षण प्राडा मधुका लागि निकै गाह्रो थियो । तर, उनले देवकोटाको चोटले हिर्काइरहेको मुटुलाई कार्यक्रमको स्टेजमा छताछुल्ल हुन दिइनन्, जसरी हस्पिटलका कर्मचारी, दाइ वाचस्पति देवकोटा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई सम्हाल्न गाह्रो पर्दै थियो ।

‘आज मैले भाइको जन्मजयन्ती मनाउँदैछु’, माइक्रोफोन समाउँदै भक्कानिए वाचस्पति । लामो समय उनी सम्हालिनै सकेनन् । तर, पनि जबरजस्ती आफ्नो विगत सम्झन थाले ।

‘मेरा हजुरबाले बनारसमा गएर अलिकति संस्कृत, अलिकति आयुर्वेद पढेर आउनुभयो । हामी बिहान उठ्दा कुटिएका झार, कन्दमूल र बुट्यानहरु पिँढीमा असरल्ल हुन्थे । र, उपचारका लागि आँगनभरि मानिसको भीड हुन्थ्यो । मेरा बुवाले पनि आचार्यसम्म पढ्नुभयो र एलोप्याथी र आयुर्वेदको उपचारमा लाग्नुभयो । त्यहीबीच मेरो भाइ जन्मियो । त्यतिबेलै ज्योतिषीले भनेका थिए, ‘यसको ग्रह त उच्च छ ।’ हामी खुशी पनि भयौँ ।’

यति भनिसकेर वाचस्पतिले गोजीबाट रुमाल झिके र आँशु पुछे ।

वाचस्पति रोकिएनन् । एउटा हातले आँशु पुछे र अर्को हातले माइक समाउँदै फेरि बोले ‘उसलाई हामीले बायोलोजी पढ्न लगायौँ तर, प्रिन्सिपलले कोटा छैन, मिल्दैन भन्नुभयो । बुवाले बल्लतल्ल भनसुन गरेरै मनाउनुभयो । उसैलै आज नेपालमा न्युरोको विशेषज्ञता भित्र्यायो ।’

स्टेजमा जति उभिन्थे उनीहरुले डा. देवकोटाकै प्रशंसा गर्थे । कतिले आफूलाई सरकारी अस्पतालमा बोलाएर जीवन बचाएको कुरा गर्थे । कतिले सँगै काम गर्दा अद्भुत ज्ञान प्राप्त गरेको खुलाउँथे । यस्तो अनुभुति व्यक्त गर्नेमा पूर्वमन्त्रीदेखि पत्रकारसम्म थिए ।

यहीबीचमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई स्टेजमा देखा परे । उनको बोलीभन्दा पहिला हिक्का सुनियो । जुन धेरैको कल्पनाभन्दा बाहिरको कुरा हुन सक्छ । उनी केहीछिन रोकिए । र, अवरुद्ध गलामा बोले, ‘उहाँ जानुभयो । तर शक्तिरुपी जीवनलाई सार्थकता दिएर जानुभयो । उहाँको योगदानले हामीलाई पनि सार्थक जीवन जिउन सिकाउँछ ।’

डा. भट्टराईले देवकोटालाई आफ्नो अनन्य मित्र भएको मात्र बताएनन्, उपेन्द्रजस्तै मित्रहरुका कारण गोर्खाका दुर्गममा जन्मिएर आजको स्थानसम्म आएको बताए ।

‘देवकोटा र मैले १० देखि १८ वर्षको उमेरसम्म सँगै पढ्यौं, सँगै बितायौँ’, भट्टराईले भावुक हुँदै भने, ‘जुन मानव जीवनको निकै उर्जाशील समय हो ।’

तर, डा. भट्टराई र देवकोटाका बारेमा बाहिर नकारात्मक टिप्पणी हुने गरेकोमा भने उनलाई खेद रहेछ । ‘हामीलाई विपरीत प्राणी पनि भनियो, यी कहिल्यै मिल्नै नसक्ने प्राणी हुन् सम्म भनियो’, भट्टराईले देवकोटालाई सम्झँदै भने, ‘हो हामी छुट्टाछुट्टै सिद्धान्तमा हिँड्यौँ । तर, मैले उहाँको पथलाई सधैं पछ्याउने प्रयास गरेँ । हामी एक अर्काका मित्र थियौँ ।’

डा. भट्टराईले मानवता प्रधान रहेको बताए । मानिसको ज्यान बचाउनुभन्दा ठूलो कुरा अर्को नभएको उल्लेख गर्दै उनले भने, ‘म मार्क्सवादी हुँ तर, मानवतावादको अभ्यास गरिरहेको छु ।’

कार्यक्रम सकिएपछि हामी डा. मधुको क्याबिनसम्म पुग्यौंँ । र, निर्मम प्रश्न राख्यौं– ‘तपाईले उपचारका क्रममा धेरैको मृत्यु देख्नुभएको होला । आफ्नै पतिको देहान्तको पीडालाई आज कसरी पन्छाउँदै हुनुहुन्छ ?’

प्रा.डा. मधुका आँखा टिल्पिल–टिल्पिल भए । उनी बोल्न थालिन्, ‘यो उर्जाको स्रोत डा. देवकोटा नै हो । जतिबेला उहाँ बिरामी हुनुहुन्थ्यो, त्यतिबेला हामी रुँदा निकै रिसाउनुहुन्थ्यो । जहिल्यै हाँस्न सिकाउनुहुन्थ्यो ।’

प्रा.डा. मधु र डा. देवकोटाकै सपना थियो– बाँसबारी न्यूरो हस्पिटल । डा. देवकोटाले काम गर्दै गए । मधुले उकेरा लगाउँदै गइन् ।

मधुले भनिन्– ‘उहाँले आफूजस्तै शक्तिशाली जनशक्ति तयार पारेर जानुभएको छ, अब उहाँकै सपनाअनुसार न्युरो हस्पिटल मात्र नभएर साइन्सकै रुपमा स्थापित गर्नु छ ।’

मधुका लागि देवकोटाको निधन अकल्पनीय दुर्घटना हो । तर, अहिले पनि उनलाई लाग्दैन कि देवकोटा यो संसारमा छैनन् ।

‘छोरीहरुलाई देख्दा म आफूलाई सम्हाल्नै सक्दिनँ । उहाँ अद्भुत अभिभावक र श्रीमान पनि हुनुहुन्थ्यो ।’

त्यसपछि उनी अर्कोतर्फ फर्किइन् अनि भक्कानिएर रोइन् ।

फोटो सौजन्य : न्युरो हस्पीटल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment