Comments Add Comment

डुब्नै लागेको विद्यालयले वर्षदिनमै मार्‍यो फड्को

७ पुस, बुटवल । १२ कक्षासम्म पढाई हुने सरकारी विद्यालय । विद्यार्थी संख्या भने सयजना भन्दा कम । नतिजा पनि निराशाजनक । वर्षौंदेखि यस्तै नियति भोगेर डुब्नै लागेको त्यही विद्यालयमा नयाँ व्यवस्थापन आएसँगै पहिलो वर्ष कति विद्यार्थी थपिए होलान् ? धेरैको अनुमान दोब्बरै बढेपनि डेढ-दुई सय पुगे होलान् भन्ने हुन सक्छ । तर बुटवल १० रामनगरको साविक मानव ज्ञान माविको हकमा यस्तो अनुमान पूरै गलत सावित हुन्छ ।

यहाँ नयाँ व्यवस्थापन आएसँगै अपत्यारिलो संख्यामा विद्यार्थी थपिएका छन् । अघिल्लो वर्षसम्म ८० जनादेखि ९० जनासम्म नियमित विद्यार्थी पढ्ने विद्यालयमा अहिले ५ सय ७ जना विद्यार्थीले अध्ययन गर्दैछन् । भर्ना हुन आएका करिब एक हजार विद्यार्थी त भौतिक पूर्वाधार अपुग भएर भर्ना हुन नपाई फर्केर गए । विद्यार्थी संख्या मात्र होइन विद्यालयको भौतिक संरचनाको स्वरुप, शैक्षिक वातावरण, सिकाई प्रविधि सबैमा आमूल परिवर्तन भएको छ । यी सबै कुरामा त्यत्तिकै परिवर्तन र फड्को मारेको होइन, यसको एउटै कारण हो कुशल व्यवस्थापन ।

कुशल व्यवस्थापनबाट मुलुककै सर्वोत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल नजिकैको कालिका मावि कालिकानगरसँग मर्ज भएर नयाँ व्यवस्थापनमा अघि बढ्न थालेपछि अति न्यून विद्यार्थी संख्या र कमजोर नतिजाका कारण डुब्न आँटेको विद्यालयले पहिलो वर्षमै पाँच गुणा बढी विद्यार्थी थपेर नयाँ जीवन पाउँदै फड्को मार्न सफल भएको हो ।

गत शैक्षिक सत्र (वैशाख)देखि कालिका माविसँग मर्ज भएर कालिका मानव ज्ञान सेक्टर २ भएपछि यो विद्यालयले काँचुली फेरेको छ । न्यून विद्यार्थी हुँदा सधैं सुनसान हुने विद्यालय अहिले सयौं विद्यार्थीले गुल्जार भएको छ ।

साविकको कालिका मावि (हालको कालिका मानव ज्ञान सेक्टर १) ले व्यवस्थापनको नेतृत्व लिएसँगै सेक्टर २ रामनगरमा कक्षा नर्सरीदेखि १२ सम्मै पूर्णतः अंग्रेजी माध्यममा पढाई हुन थालेको छ ।

पुरानो र जीर्ण जस्तो देखिने विद्यालय नयाँ रंगरोगन र नयाँ फर्निचरले चिटिक्क अनि नयाँ भएको छ । नयाँ व्यवस्थापनले यो विद्यालयमा करिब ४० लाख रुपैयाँ खर्च गरेर प्रोजेक्टरबाट पढाई हुने गरी डिजिटल कक्षा, आईसीटी हल, कम्प्युटर तथा विज्ञान प्रयोगशाला (ल्याब), ल्याबसहितको मन्टेश्वरी कक्षा, बि्रटिश काउन्सीलको इन्टरनेसनल स्कूल अवार्ड र सफ्ट स्किलका मापदण्ड अनुसारका शिक्षण विधि प्रयोगमा ल्याइएको छ ।

सेक्टर २ को विद्यालयमा पढाउने सबै १९ जना शिक्षक शिक्षिका साविकको कालिका माविका अनुभवी र दक्ष छन् । कुशल व्यवस्थापनले जिम्मा लिएको थाहा पाएपछि स्थानीय मात्र हैन, देवदह खैरेनी, चरंगे, गोलपार्क, सुख्खानगर, कालिकानगरसम्मका विद्यार्थी यहाँ भर्ना हुन आएका प्रधानाध्यापक घनश्याम पाठक बताउँछन् ।

‘कालिकाको टिमले व्यवस्थापन गर्न थालेपछि पहिलो वर्षमै नचिताएको विद्यार्थी संख्या पायौं र मर्नै आँटेको विद्यालयले पुनर्जीवन पाएर वर्ष दिनमै फड्को मार्‍यो,’ प्रधानाध्यापक पाठकले भने, ‘राम्रोसँग व्यवस्थापन गर्न जान्ने हो भने डुब्न लागेको लथालिंग जस्तोसुकै विद्यालय पनि सुधार्न सकिने रहेछ भन्ने यो गतिलो उदाहरण हो ।’

अहिले यो विद्यालयमा बोर्डिङ स्कूल छोडेर समेत विद्यार्थी भर्ना हुन आएका छन् । ग्रीन बर्डस् बोर्डिङ स्कूलबाट यहाँ पढ्न आएका कक्षा ९ बी का छात्र मिलन रजालीले सामुदायिक भएपनि कालिका मानव ज्ञानको पढाई बोर्डिङभन्दा धेरै राम्रो भएको बताए । यहाँको शैक्षिक वातावरण, शिक्षकको पढाउने शैली, कक्षा कोठामा प्रोजेक्टरमार्फत पढाइने हुँदा आफू पूर्णसन्तुष्ट रहेको रजालीले बताए ।

यहाँ कक्षा ५ सम्म पूर्ण निःशुल्क पढ्न पाइन्छ । ६ कक्षादेखि कम्प्युटर कक्षा अनिवार्य भएकाले कम्प्युटर ल्याब वापत अभिभावकले कक्षाअनुसार मासिक ३ सयदेखि अधिकतम ६ सय रुपैयाँसम्म शुल्क तिर्छन् । यद्यपि चित्तबुझ्दो गुणस्तरीय पढाईका कारण यो शुल्क तिर्न अभिभावकले कुनै अप्ठेरो नमानेको विद्यालयका सहायक प्रधानाध्यापक दिनेश थापा बताउँछन् ।

एक वर्षअ सिम्म विद्यार्थीको कुनै आकर्षण नभएको र विपन्न वर्गका परिवारका छोराछोरीले मात्रै पढ्ने यो स्कूलमा नयाँ व्यवस्थापनसँगै सबै वर्गका विद्यार्थीको आकर्षण बढेपछि वरपरका बोर्डिङ स्कूललाई टाउको दुखाई भएको र उनीहरु रुष्ट बनेको प्रधानाध्यापक पाठकले खुलाए ।

आगामी शैक्षिक सत्रसम्म पूर्वाधार थपेर विद्यार्थी संख्या सातसयको हाराहारीमा पुर्‍याउने विद्यालयको तयारी छ । तीन बिघा क्षेत्रफल विद्यालयको स्वामित्वमा भएकाले भविष्यमा क्रमशः भौतिक पूर्वाधार थपेर सेक्टर २ मा मात्रै विद्यार्थी संख्या ४ हजार पुर्‍याउन सकिने प्रधानाध्यापक पाठक बताउँछन् । ‘विद्यार्थी संख्या मात्र नभई नतिजा पनि साविकको कालिका माविकोे जस्तै उत्कृष्ट बनाउँछौं,’ प्रधानाध्यापक पाठकले भने ।

सेक्टर १ र २ मा गरी कालिका मानव ज्ञान माविमा ५ हजार ८ सय ९१ जना विद्यार्थी अध्ययनरत छन् । यो संख्या सामुदायिक विद्यालयमध्ये प्रदेश ५ कै सबैभन्दा धेरै हो । विद्यालयको सेक्टर १ कालिकानगरमा ८८ करोड लागतमा नयाँ विद्यालय भवन समेत निर्माणाधीन छ । ‘अबको ५ वर्षभित्र विद्यार्थी संख्या ८ हजार पाँच सय पुर्‍याउने लक्ष्य छ,’ पाठकले भने, ‘आधुनिक मल्टिमिडिया, स्वीमिङ पुल, स्टेडियम, अण्डरग्राउण्ड पार्किङ, म्युजियम, ई-लाइब्रेरी, छात्रावाससहित अन्तर्राष्ट्रिय स्तरको सिकाई केन्द्र बनाउने भिजन छ ।’

दुई विद्यालय मर्जपछि कालिका मानव ज्ञान माविको स्वामित्वमा ५ बिघा ४ कठ्ठा जग्गा पुगेको छ । कालिका मानव ज्ञान यस वर्ष देशभरका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट भई नगद २ लाख राशीसहित शिक्षा मन्त्रालयबाट पुरस्कृत भएको थियो ।

शिक्षाविद प्राध्यापक आनन्दमान सिंह शाक्यको हेराईमा कालिका मानव ज्ञान माविको कुशल व्यवस्थापन र शिक्षण सिकाई विधि देशभरका सामुदायिक विद्यालयले पनि अनुसरण गर्ने हो भने सरकारी विद्यालयको शैक्षिक गुणस्तर र नतिजाले फड्को मार्न धेरै समय कुर्नुपर्दैन । ‘मुख्य कुरा असल र कुशल व्यवस्थापन नै हो,’ शाक्यले भने, ‘व्यवस्थापन गर्न जान्यो भने विद्यालय मात्र हैन, घर परिवार, समाज र देश नै राम्रो बन्ने हो, नजाने बिग्रने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment