Comments Add Comment

बाग्मतीमा अब कञ्चन पानी बग्छ, मेलम्ची द्रुत गतिमा छ : खानेपानी मन्त्री

१९ पुस, काठमाडौं । खानेपानीमन्त्री बिना मगरले अब बाग्मती नदीमा कञ्चन पानी बग्ने दावी गरेकी छन् । ललितपुरको बालकुमारीस्थित धोबिघाट फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास समारोहमा बोल्दै उनले सिंगो बाग्मतीको मुहार फेरिने बताइन् ।

‘प्रशोधनपछि बाग्मतीमा कन्चन पानी बग्नेछ, प्रशोधित पानी करेसाबारी, सिंचाई, सडक, सरसफाई लगायतमा प्रयोग गर्न सकिनेछ’, उनले भनिन् ।

मन्त्री मगरका अनुसार बालकुमारीसँगै अन्य दुई स्थानमा पनि फोहोर प्रशोधन केन्द्र बन्दैछन् । झण्डै ४ अर्बको लागतमा धोबिघाट, गुह्वेश्वरी र सल्लाघारीमा फोहर पानी प्रशोधन केन्द्र बन्न लागेको उनले जानकारी दिइन् । वातावरणलाई प्राकृतिक स्वरुपमै फर्काउन अभियान थालेको भन्दै उनले बाग्मतीको फोहोरपानी प्रशोधन गर्ने कार्य त्यसैको अंग भएको बताइन् ।

‘प्राकृतिक स्रोतको संरक्षण मानवीय प्राथमिकताको विषय हो, स्वस्थ जीवनको सबभन्दा ठूलो आधार सफा पानी नै हो, पानीको मुहान र स्रोतलाई सफा राखेर मात्र हामीले मानव जीवनलाई स्वस्थ र सुन्दर बनाउन सक्छौं,’ उनले भनिन् ।

बाग्मती लगायतका प्राकृतिक सम्पदाहरुमा हुने प्रदुषणको रोकथाम र प्रशोधनका लागि मन्त्रालयले मिहिनेतका साथ काम गरिरहेको उनले बताइन् ।

मेलम्चीको काम द्रुत गतिमा !

खानेपानी मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनामा निर्देशनालय र मन्त्रालयले दुरदर्शिताका साथ काम गरिरहेको दावी गरेकी छन् ।

‘मेलम्चीको पानी काठमाडौंका जनतालाई उपलब्ध गराउन मन्त्रालय सम्पूर्णरुपले क्रियाशील रहेको छ’, उनले भनिन् । कुनै पनि बाहना र गतिरोधले मेलम्ची आयोजना प्रभावित नहुने मन्त्री मगरको दावी छ ।

‘सम्भाव्य सम्पूर्ण उपायहरुको खोजी गरी राष्ट्रिय कार्यभार पूरा गर्न मन्त्रालय संकल्पित रहेको छ’, उनले भनिन् ।

इटालियन ठेकदारले काम रोके पनि मन्त्री मगर भने पछिल्लो समय मेलम्ची सकारात्मक दिशा लिइरहेको बताउँछिन् ।

‘राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना यथासक्य निर्माण गरिसक्न मन्त्रालय गम्भिर छ’, उनले भनिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मेलम्ची जापानी कारको गतिमा कुदिरहेको हालै बताएका थिए ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीले भने : मेलम्ची आयोजना जापानी कारझैं दौडिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment