२३ पुस, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत हुने प्राविधिक विषयको परीक्षामा शिक्षकले २५ हजार लिएर विद्यार्थीलाई पास गराइदिने गरेको खुलासा भएको छ ।
स्नातक तहको मेडिकल एन्ड एलाइड साइन्सको चौथो सेमेस्टरको परीक्षामा अनुत्तीर्ण विद्यार्थीको उत्तरपुस्तिकामा शिक्षकले आफैं लेखिदिएको पाइएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुले पाएको सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा ५ जना विद्यार्थीको उत्तरपुस्तिकामा जाँच गर्ने शिक्षकले आफैंले लेखेको भेटिएको छ । घटनामा संलग्न दुई जनालाई परिसरले नियन्त्रणमा समेत लिएको छ ।
परिसर स्रोतका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरका अर्जुन भाट र कालिकोटका खेमराज शाही छन् ।
उनीहरुलाई पक्राउ परेर अनुसन्धान गरिएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले पुष्टि गरे । उनका अनुसार अनुसन्धानका क्रममा परीक्षामा पास नभएका विद्यार्थीहरुसँग सम्पर्क गरेर शिक्षक आफैंले उत्तर लेखिदिने गरेको भेटिएको थियो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुझाइएको छ । ‘अख्तियारको दुरुपयोग गरेको घटना भएकाले आयोगले पनि चासो देखायो । त्यसैले थप अनुसन्धान र कारबाहीका लागि बुझाएका छौं’, लामाले अनलाइनखबरसँग भने, ‘विस्तृत फलोअप उतैबाट होला ।’
यसरी खुल्यो रहस्य
बीपीएम विषयको परीक्षा १५ भदौमा भएको थियो, जसमा अनुत्तीर्ण भएका कतिपयलाई शिक्षक बताउने एक व्यक्तिको फोन आयो । र, भनियो, ‘पास हुने मन भए २५ हजार लिएर आउनू ।’ शिक्षककै फोन आएपछि नपत्याउने कुरै भएन ।
थुप्रै विद्यार्थीले फोनमा भनिएझैं रकम पनि बुझाए । तर, त्यसबीच एक जना त्यस्तो विद्यार्थीलाई पनि फोन आयो, जसले आफू अनुत्तीर्ण हुन्छु भन्ने सोचेका पनि थिएनन् । उनले शंकास्पद फोन कलबारे प्रहरीलाई जानकारी गराए ।
प्रहरीले सिभिल टोलीका प्रहरी निरीक्षक सुरेन्द्र केसीको नेतृत्वमा घटनाको अनुसन्धानका लागि टोली खटायो । करिब एक महिना लामो अनुसन्धानका क्रममा ५ वटा उत्तरपुस्तिका बरामद भयो, जसमा शिक्षकले लेखिदिएको पुष्टि भएको छ । प्रहरीले बरामद उत्तरपुस्तिकाहरुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउँदा एउटै पेजमा दुई प्रकारका अक्षर भेटिएको थियो ।
अनुसन्धान अधिकारीहरुले उत्तर पुस्तिकाबारे प्रारम्भिक सूचना सुकेधाराबाट पक्राउ परेका भाटबाट पाएको थियो । स्रोतका अनुसार उनको मोबाइल चेकजाँच गर्दा ५ वटा उत्तरपुस्तिकाको फ्रन्ट पेज भेटिएको थियो ।
प्रयोगशालाबाट शिक्षकको बदमासी पुष्टि भएपछि खेमराजलाई कीर्तिपुरबाट पक्राउ गरिएको हो ।
दुबैले कसुर स्वीकार गरेको प्रहरीको दाबी छ । स्रोतका अनुसार उनीहरुले गत वर्षपनि दोस्रो सेमिस्टरमा पैसा लिएर विद्यार्थीलाई पास गराइदिएको भेटिएको छ । ‘गत वर्ष प्रति व्यक्ति ३० हजार रुपैयाँ लिएर विद्यार्थीलाई पास गराइदिएको उनीहरुले नै बयानमा स्वीकारेका छन्’, प्रहरी स्रोतले भन्यो, ‘त्यसवेला कति जना उनीहरुको मद्दतमा पास भए भन्ने चाहिँ उनीहरुले बताएनन् ।’
को हुन् पक्राउ परेका दुई शिक्षक ?
स्रोतका अनुसार पक्राउ परेका शिक्षक खेमराजले स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनी हाल राष्ट्रिय आयूर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत रहेको पाइएको छ ।
उनी असारबाट करारमा काम गर्न थालेको पाइएको छ । पार्टटाइम जागिरेको रुपमा राजधानीको विभिन्न कलेजमा प्राध्यापन गर्छन् । उनी निकटस्थहरुका अनुसार उनले हात्तिवनको लिटल एन्जल कलेज, ललितपुरको एसियन कलेज र सितापाइलाको भ्याली कलेजमा पढाउँदै आएका थिए । उनले बी फारमेसी, म्यानेजमेन्ट लगायतका विषय पढाउने गरेको पाइएको छ ।
अर्जुन पनि तिनै कलेजहरुमा पढाउँथे । भ्याली कलेजमा प्राध्यापन गर्ने क्रममा उनीहरुबचि चिनजान भएको पाएको छ । खेमराजकै योजनामा विद्यार्थीको उत्तरपुस्तिकामाथि लेख्ने काम भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।
अर्जुनले विद्यार्थी ल्याउनेदेखि अन्य बाहिरी काम गर्ने गरेका थिए भने खेमराज उत्तरपुस्तिका जाँच गर्थे ।
पूर्वाञ्चलको परीक्षा प्रणाली लथालिंग
अनुसन्धान अधिकारीहरुले बरामद गरेको उत्तर पुस्तिकामा परीक्षार्थीले अधिकांश पेजमा खाली छाडेका छन् । कतिपयमा प्रश्नको उत्तर लेख्न थालेर छाडिएका थिए ।
पुस्तिका जाँच गर्ने क्रममा पास हुन १५/२० अंक कम ल्याउने विद्यार्थीलाई सम्पर्क गरेर रकम असुलेको भेटिएको थियो । शिक्षक खेमराजले पाँच अंक आउने ३/४ वटा प्रश्नहरुको उत्तर लेखिदिएको अनुसन्धानका क्रममा देखिएको छ ।
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतबाट नक्कली सर्टिफिकेट ल्याएर जागिर खानेहरुमाथि अपरेशन चलाइरहेको छ । तर, यो घटनाले नेपालमा भएका विश्वविद्यालयबाट पनि पैसाको भरमा विद्यार्थी पास हुने गरेको देखिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, ‘नेपालमै यसरी पैसा तिरेर पास हुन पाएपछि नक्कली सर्टिफिकेट लिन भारत किन जानु !’
यसअघि त्रिभुवन विश्वविद्यालयको प्रवेश परीक्षाको प्रश्नपत्र विद्यार्थी नेता र शिक्षक मिलेर लिक गराइने गरिएको खुलेको थियो । अंग्रेजी भाषा परीक्षा ‘आईएलटीएस’को प्रश्नपत्र भाइबरबाट लिक भएको पुष्टि भएपछि परिसरले नै मुद्दा चलाएको थियो ।
तर, शिक्षकले नै उत्तरपुस्तिकामा लेखिदिएर पास गराएको भने यो पहिलो घटना भएको प्रहरी बताउँछ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4