Comments Add Comment

‘प्राविधिक कारणले लाइन जाँदा लोडसेडिङ नभनौं’

यो वर्ष काठमाडौंमा जाडो मौसाममा ८० मेगावाटसम्म बिजुलीको माग बढेको छ । गत वर्ष ३२० मेगावटसम्म मात्रै माग हुन्थ्यो । अहिले बढेर ४०० मेगावाटसम्म पुगेको छ । यो हाम्रा लागि निकै सकारात्मक हो । किनभने अहिले हामीलाई बिजुली अभावको समस्या छैन ।

प्रणालीको मागअनुसारको बिजुली दिन हामी सक्षम छौं । हामीले उद्योगमा पनि लोडसेडिङ हटाइसकेका छौं । केही समयपछि त हामीले लौन बिजुली बढी खपत गरिदिनुपर्‍यो भन्ने अवस्था नै आउँदैछ । त्यसैले अहिले डिमान्ड बढेर हामीलाई राम्रै भएको छ ।

जाडो मौसममा नेपालमा बिजुलीको माग बढ्छ । यो वर्षको वृद्धिदर विगतको भन्दा निकै उच्च छ । यो जाडो मौसममा एसी, हिटरलगायतका धेरै बिजुली खपत हुने यन्त्र उपकरणहरु चल्छन् । अहिले शहरमा एसी राख्ने क्रम तीव्र भएको छ । लाइन जाँदैन भन्ने प्रत्याभूतिले पनि सिंगल लाइनका ग्राहकहरू थ्री फेज लाइनमा जाँदै हुनुहुन्छ । अहिले एसी चलाउनकै लागि धेरै ग्राहकले थ्री फेज जोड्दै हुनुहुन्छ । यसैका कारण हाम्रो वितरण प्रणालीमा लोड बढेको छ ।

पर्याप्त बिजुली भएर मात्रै हुँदैन, त्यसलाई वितरण गर्नका लागि भरपर्दो सिस्टम पनि हुुनुपर्छ । लोड बढेपछि पुरानो सिस्टम फेल हुनु स्वाभाविक नै हो ।

विगतमा हामी बिजुलीको अभावकै कारण संकटमा थियौं । त्यतिबेला सिस्टम सुधारबारे ध्यान दिइएन । अहिले अभावको व्यवस्थापन भयो, त्यसले जनतामा निरन्तर बिजुली आपूर्तिको विश्वास नयाँ उचाइमा पुग्यो । र, खपत दर बढ्दै गयो । तर, सिस्टम त हामीसँग त्यही पुरानै थियो ।

सबैले बुझ्नुपर्ने कुरा के हो भने जुन क्षेत्रमा जुन परिमाणको लोड छ, त्यसअनुरुप नै सब स्टेशनदेखि तार, जम्पर ट्रान्सफर्मरहरु हुनुपर्छ । बिजुलीको लोड सधंै एकैनास भएर आउँदैन । कुनै समय बढ्छ, कुनै समय घट्छ । हामीले सम्भाब्य उच्चतम् लोडलाई हेरेर सिस्टमलाई तयार राख्नुपर्छ ।

जाडोमा लोड बढ्दै जाँदा सब स्टेसन, टान्सफर्मर र वितरण सञ्जाललाई पनि अपग्रेड गर्नुपर्छ । जाडोमा लोड बढेपछि धान्न नसकेर अहिले तार नै जलेर छिन्ने, ट्रान्सफर्मर पड्किने लगायतका समस्या देखिँदैछन् । हामी त्यसलाई तुरुन्त समाधन पनि गर्दैछौं ।
यो पनि पढ्नुहोस लोडसेडिङ नहुँदा पनि किन काटिन्छ बिजुली ?

हामी हात बाँधेर बस्ने कुरै छैन, जनतालाई समस्या परेपछि त्यहाँ पुग्नै नै हो । अहिले हामीले काठमाडौंमा २ हजार मेगावाटसम्म बिजुली सहजसँग वितरण गर्न सक्ने गरी सिस्टम अपग्रेड गर्दैछौं । यो भयो भने अबको १० वर्ष काठमाडौंमा कुनै चिन्ता हुँदैन । झ्याप्प–झ्याप्प बिजुली जाने समस्या कम हुन्छ । त्यसैले यो काम निकै महत्वपूर्ण छ । हिजोकै अवस्थामा सिस्टमलाई राखेर अब हुँदैन भन्नेमा सबै सहमत छन् । त्यसैअनुसार हामी पनि काम गरिरहेका छौं ।

हामीले पछिल्लोपटक प्रणालीलाई विश्वसनीय बनाउन देशभर सब स्टेनशको क्षमतामा ७÷८ सय मेगावाट वृद्धि गरिसक्यौं । काठमाडौंभित्रका सब स्टेशनलाई पनि ठूलो लोड धान्न सक्ने बनाउँदैछौं ।

अब स्थानीय क्षेत्रमा ट्रान्सफर्मरहरु थप्ने र फेर्ने काम गरिरहेका छौं । १४ हजार ट्रान्सफर्मर ल्याउँदैछौं । १० हजार ट्रान्सफर्मर तत्कालै आउने प्रक्रियामा नै छ । जुन क्षेत्रमा सानो क्षमताको ट्रान्फर्मरले धानिरहेको छैन, त्योभन्दा ठूलो राख्दैछौं । लोड एनालाइसिस गरेर हामीले सिस्टम सुधारको काम तीव्र पारेका छौं ।

तर, समस्या के भइरहेको छ भने लोड तीव्र दरमा बढिरहेको छ, जसले गर्दा एउटा ट्रान्सफर्मर फेरेको १५ दिनमै त्यसले नधान्ने अवस्था पनि कतिपय ठाउँमा देखियो । यो भनेको बिजुलीको माग बढेर हुने हो । तर, हामीलाई समस्या छैन, जति पनि ट्रान्सफर्मर हामीसँग छ । तर, बिग्रिएको ट्रान्सफर्मर फेर्ने बेलामा लाइन त काट्नैपर्छ ।

कहिलेकाँही ट्रान्सफर्मरले आफ्नो एरियाको लोड धान्न नसकेर पड्किन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । त्यस्तो हुँदा प्राधिकरणले तत्कालै फेर्छ । ५० केभीको ट्रान्सफर्मर भएको क्षेत्रमा ५१ केभीएको लोड पर्‍यो भने त्यसले काम गर्न सक्दैन । यस्तो अवस्थामा कुनै समयमा १० मिनेट या आधा घण्टा लाइन गयो भने पनि ‘लोडसेडिङ भयो’ भनिदिने चलन छ ।

त्यसो होइन, लोडसेडिङ त बिजुलीको मागअनुसार आपूर्ति गर्न नसकेर हुन्छ । सेड्युल बनाएर गरिन्छ, विगतको जस्तै । तर, हामीसँग वितरण गर्न बिजुलीको अभाव छैन । र, लोडसेडिङ गर्नुपर्ने अवस्था पनि छैन ।

कहिलेकाँही आउने प्राविधिक समस्यालाई लोडसेडिङका रुपमा कसैले पनि बुझ्न भएन । लाइन जानासाथै लोडसेडिङ भन्ने हामीलाई बानी भएर पनि त्यसो भएको हो । यसलाई हामीले गुनासोको रुपमा भन्दा पनि हौसलाकै रुपमा लिएका छौं ।

लाइन कुनै पनि जानुहुँदैन भन्ने कुरामा प्राधिकरण सचेत छ । तर, प्रविधिको जटिलता र स्रोत साधनको सीमितताभित्र रहेर प्राधिकरणले काम गर्नुपर्छ । यसलाई सबैले मनन गरिदिनुभयो भने कार्यसम्पादनमा हामीलाई पनि अझ सहजता आउँछ ।

समस्याको गुजुल्टो

हामी अहिले सिस्टम सुधारमा केन्द्रित भएका छौं । तर, समस्या के छ भने कुनै स्थानीय क्षेत्रमा माग बढेर एउटा मात्रै ट्रान्सफर्मरले धान्न नसक्ने अवस्था आइदिन्छ । एक ठाउँमा ३ सय केभीएसम्मको मात्रै ट्रान्सफर्मर राख्न सकिन्छ । अब अर्को थप्नुपर्‍यो भने कसैले सहयोग गर्दिनुहुन्न, यो हामीलाई निकै समस्याका रुपमा छ ।

सबैले ‘मेरो घरअघि ट्रान्सफर्मर राख्न पाइँदैन’ भनेर पाखुरा सुर्किदिनुहन्छ । यसले हामीलाई अलि बढी चुनौती थपेको छ । विशेष गरी शहरी क्षेत्रमा यो समस्या ज्यादा छ । अब ट्रान्सफर्मर नै राख्न नदिएपछि कसरी आउँछ त लाइन ?

यस्तो अवस्थामा हामीलाई सबैको सहयोग चाहिन्छ । हामीले गर्ने काम जनताकै लागि हुन्छ । कतिपय क्षेत्रमा ट्रान्सफर्मर राख्ने ठाउँ नपाएर हामीलाई ज्यादै सास्ती भएको छ ।

बिजुलीको सिस्टम हामीले बाहिर झ्टट देखेजस्तो सजिलोखालको हुँदैन । काठमाडौंमा बिजुली आउने प्रसारणलाइन केही गरी ट्रिप भयो भने आपूर्ति नै रोकिन्छ । त्यस्तो समयमा हामीलाई कति समस्या पर्ला ? सब स्टेशनमा आगलागी हुन्छ, तत्कालै फेर्न पार्टपूर्जा पाइँदैन । यस्ता धेरै जटिलता छन् ।

काठमाडौंमा तारको गञ्जागोल छ । यो गञ्जागोलमा समस्या आउँदा कहिलेकाँही एउटा प्राविधिक समस्या सुल्झाउन घण्टौं लाग्न सक्छ । के कहाँ छ, पत्तो हुन्न । कसरी गर्ने भन्ने निर्णय लिन प्राविधिकलाई पनि सहज छैन । यस्तो बेलामा आधा घण्टा लाइन आएन भने पनि आलोचना भइहाल्छ । यसलाई अब स्वाभाविक नै मान्नुपर्ला ।

यस्ता धेरै समस्याहरुसँग हामी जुधिरहेका छौं । हालै अन्डरग्राउड केबलिङका लागि पनि प्रयास थालेका छौं । सिस्टमलाई विश्वसनीया बनाउन कुनै एउटा क्षेत्रको सब स्टेशनमा समस्या आउँदा अर्को क्षेत्रबाट लाइन दिनुपर्ने हुन्छ । त्यसका लागि धेरै प्राविधिक तयारी गर्नुपर्छ । हामी परम्परागत प्रणालीबाट माथि उठ्ने प्रयासमा छौं । यसलाई वैज्ञानिक र विश्वसनीय नै बनाउने हो ।

लोडसेडिङ पार लायौं, अब सिस्टम सुधार्नु छ

भर्खरै लोडसेडिङको चुनौती पार लगाएका छौं । सिस्टम भरपर्दो बनाउने ठूलो विषय छ । सुरक्षाको सवाल पनि छ । नांगा तार झर्छन्, पोल ढल्छन्, ट्रान्सफर्मर पड्कन्छन् दुर्घटना हुन्छ । यो सबै कुरा सुधारेरै जानुपर्छ ।

हिजो लोडसेडिङ हुँदा मान्छेलाई यो कुरा त्यति धेरै मतलव थिएन । अहिले यो विषय निकै गम्भीर ढंगले उठिसक्यो । हामी पनि गम्भीर भएरै लागेका छौं ।

सिस्टमलाई सय प्रतिशत भरपर्दो बनाउन धेरैवटा सोर्सबाट बिजुली दिनुपर्छ, लाइन बनाउनुपर्छ । सब स्टेशन बनाउनुपर्छ, रिजर्भ मार्जिनमा पावर प्लान्टहरु चलाउनुपर्छ । विषय र काम धेरै छन् । हामीले यस्ता समस्या हटाउनै पर्छ भनेर काम गरिरहेका छौं ।

यस्तो अवस्थामा ग्राहकहरुले हामीलाई सकारात्मक सहयोग पनि गर्नुभएको छ । कहिलेकाँही प्रणाालीमा आउने समस्या हटाउन हामीले प्रयत्न गरिरहँदा उहाँहरुले पनि त्यसमा आफ्नोतर्फबाट सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा प्राधिकरणको हो ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment