३० पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशमा गैर नेपाली जनसंख्या थपिदै गएको भन्दै अहिलेको जस्तो लचिलो अवस्थामा नागरिकता विधेयक संसदमा प्रस्तुत नगर्न माग गरेको छ । गैर नेपाली नागरिकले तराईमा समस्या खडा गर्न थालेको भन्दै जनमोर्चाले नागरिकता नीति खुकुलो नपार्न आग्रह गरेको छ ।
पुस २७ र २८ गते बुटवलमा भएको पार्टीको प्रथम राष्ट्रिय परिषद बैठकको निर्णयमा भनिएको छ ‘सरकारको नागरिकता नीति खुकुलो पार्ने प्रस्तावित राष्ट्रहित विरोधी नागरिकता विधेयकको यो बैठकले विरोध गर्दछ र त्यसलाई संसदमा प्रस्तुत नगर्न सरकारसँग जोडदार माग गर्दछ ।’
जनमोर्चाले प्रदेश २ मा पहाडी जिल्ला पनि मिसाउन माग गरेको छ । उक्त प्रदेशमा पहाडी र हिमाली क्षेत्रका श्रोत–साधन उपलब्ध नभएको र भारतीय विस्तारवाद र राष्ट्र विखण्डनकारी तत्वहरुलाई राष्ट्र विखण्डनको आधार क्षेत्र भएको भन्दै पहाडी जिल्ला मिसाउन माग गरेको हो । त्यस्तै माथिल्लो कर्णाली जलविद्युत परियोजना तथा अरुण तेस्रो जलविद्युत परियोजना भारतीय कम्पनीलाई नदिन पनि माग गरिएको छ ।
सरकारविरुद्ध देशब्यापी विरोधसभा
राष्ट्रिय जनमोर्चाले सरकारले जनताको अभिमतको आधारमा काम गर्न नसकेको भन्दै सरकार विरुद्ध देशब्यापी विरोध सभा गर्ने निर्णय गरेको छ । राष्ट्रिय परिषदको बैठकले सरकारविरुद्ध देशब्यापी विरोधसभा गर्ने निर्णय गर्दै नेताहरुलाई जिल्ला जिल्लामा खटाएको छ ।
जसअनुसार काठमाडौंमा हुने कार्यक्रमा चित्रबहादुर केसी, प्युठानमा रश्मीराज नेपाली, नवलपरासीमा बद्रे आलम, कैलालीमा दुर्गा पौडेल, बाग्लुङमा जनकराज शर्मा, सुनसरीमा हिमाल पुरी, बाँकेमा ओमबहादुर केसी,कञ्चनपुरमा मनोज भट्ट र डडेल्धुरामा वेणीमाधव जोशीलाई खटाइएको छ ।
त्यस्तै डोटीमा लालबहादुर जाग्री, सुर्खेतमा तारा जिसी, दैलेखमा लोकेन्द्र लम्साल, बर्दियामा कमला जिसी, दाङमा विमल पोखरेल, कपिलवस्तुमा झविलाल थापा, रुपन्देहीमा भैरव रेग्मी, अर्घाखाँचीमा मीना पुन, पाल्पामा तारा थापा, गुल्मीमा सोम कार्की, रोल्पामा कृष्ण खड्का, स्याङ्जामा रामबहादुर बुढा, कास्कीमा राजेन्द्र ढुंगाना, नवलपुरमा डम्मर पुरीलाई खटाएको छ ।
विरोध कार्यक्रमका लागि तनहुँमा निमबहादुर बुढा, चितवनमा रामप्रकाश पुरी, मकवानपुरमा सरस्वती पौडेल, ललितपुरमा घनश्याम न्यौपाने, सिन्धुपाल्चोकमा लक्ष्मी केसी, काभ्रेमा नारायण सापकोटा, सर्लाहीमा काजीलाल वाइवा, रौतहटमा कर्ण थापा र बारामा चिन्तामणि पौडेललाई प्रमुख वक्ता तोकेको छ ।
प्रतिक्रिया 4