Comments Add Comment

बन्दुकको नालले देख्यो, सरकारको दूरविनले देखेन

जनयुद्धका घाइतेको दुखेसो

रामप्रसाद भट्ट (३९) सामान्य देखिन्छन् । हात–खुट्टा मजैले चलाउँछन् । कण्ठबाट निस्कने उनको आवाजमा पनि कुनै खोट छैन । उनीसँग मोबाइलमर्मत गर्ने कौशल छ । गोर्खाको पालुटङटारमा त्यही कौशल बेचेर डेरा भाडा तिर्छन्, परिवार र आफूलाई बचाएका छन् । तर, सामान्य देखिनु र सामान्य हुनु विल्कुलै फरक कुरा हो ।

जब उनले कपडा उठाएर नांगो ढाड देखाउँछन्, सुन्तला अटाउने जत्रो खोपिल्टा देखापर्छ । अगाडि फर्केपछि नाइटोको छेउमा एक बित्ता लामो चिरेको दाग छ । सर्पको काँचुलीजस्तै । यसैमा लुकेको छ, सामान्य देखिने रामप्रसादको असामान्य कथा ।

०००

सामान्य देखिने रामप्रसादको घरको अवस्था पनि समान्य थिएन । छ भाइ रामप्रसादहरुको एउटी बहिनी थिइन् । बिहानै उठेर बाबालाई ज्यालादारीमा काममा जाने हतारो हुन्थ्यो । त्यति नगरे ठूलो जहानलाई बिहान–बेलुकी ढिडो खान पनि मुस्कील पथ्र्यो ।

तर, स्कुल नजिक थियो – श्री ब्रर्मचार्य निमावि । पढ्न मात्र होइन्, उनको लागि खेल्न पनि स्कुलको ग्राउण्ड उपलब्ध थियो । पान्द्रुङ–२, गोरखाको त्यही स्कुल पढेर रामप्रसाद चार कक्षासम्म उक्लिसकेका थिए ।

उनको अति मिल्ने साथी थिए – दिलबहादुर रम्तेल । अल्लो–पल्लो घर । कक्षा पनि एउटै । रम्तेलको पारिवारिकस्थिति भने अझ दर्दनाक थियो । वर्ष दिन काम गरेर आफ्नो जमिनले दिएको अन्नले तीन महिना पनि पुग्दैन्थ्यो । फेरि रामप्रसाद र दिलबहादुरका बुवा पनि उस्तै दौतरी । मजदुर दौतरी । अभावले उनीहरुलाई दौतरी बनाएको थियो ।

१४ फागुन, ०५२ ।

रामप्रसाद र दिलबहादुरको बा बिहानै घरबाट निस्किएका थिए । परिवारको छाक टार्नका लागि गाउँलेको खरको छाना टाल्नलाई हिँडेका थिए, भैरवप्रसाद भट्ट र सेते रम्तेल । त्यति नै बेला रामप्रसाद र दिलबहादुर सँगै झोला बाकेर स्कुल हिँडेका थिए ।

पाले दाइले भर्खर हाफ छुट्टीको घण्टी बजााएका थिए । स्कुलमा हल्ला चलिसकेको थियो– प्रहरीले पाल्खुका वीरबहादुर गुरुङ सरलाई पक्राउ गरेर चौकीतिर लादै छ रे । वीरबहादुर अर्को स्कुल श्री सूर्यज्योति माविका शिक्षक थिए । जहाँ पुग्न जराङबाट एक घण्टा पैदल यात्रा गर्नुपथ्र्यो ।

रामप्रसाद र दिलबहादुरले पनि हतार हतार ग्राउण्डको छेउमा पुगेर हेरे । प्रहरीले वीरबहादुरलाई घेरेर हिँडाउँदै थियो । प्रहरीको पछि–पछि विद्यार्थी र गाउँलेहरु दौडँदै थिए ।

शिक्षकले भने, ‘हामी पनि गएर छोड्दिन आग्रह गरौँ । छोडी पो हाल्छ कि !’

त्यसपछि बर्मचार्य स्कुलका विद्यार्थी र शिक्षक पनि उतैतिर दौडिए । उनीहरुकै पछि लागे दिलबहादुर र रामप्रसाद । उनीहरु हुलमा भने मिसिएनन् । दुई गरा तल परालको टौवा थियो । त्यसैमाथि बसेर रमिता हेरे । उनीहरुलाई रमिजस्तै लागेको थियो त्यो दृष्य ।

देशले भने अर्कै मोड लिँदै थियो । तत्कालीन नेकपा (माओवादी) ले फागुन १ गतेदेखि जनयुद्धको उद्घोष गरी हतियार भिरेर जंगल छिरेको थियो । १ गते नै रुकुम, रोल्पा र सिन्धुलीको प्रहरी चौकीमाथि धावा बोलिसकेको थियो । उनीहरुले १० बुँदे मागको पर्चा छर्दै भनिरहेका थिए, ‘राज्यसत्ता बन्दुकको नालमा टिकेको हुन्छ र त्यसलाई पल्टाउन बन्दुक नै उठाउनुपर्छ ।’ सामन्तीलाई सोत्तर पारेर जनताको जनवादी राज्यव्यवस्था स्थापना गर्छौं भन्दै उनीहरुले द्वन्द्वको बाटो रोजेका थिए । र, राज्य माओवादीलाई तह लगाएरै छोड्ने मुडमा थियो ।

यसैको परिणति थियो – वीरबहादुर सरको पक्राउ ।

सोधपुछको लागि भन्दै गोर्खा लैजाँदै गरेको प्रहरीले जनताको बिलौनालाई सुन्दै सुनेनन् । वीरबहादुर सरलाई छोड्दै छोडेन ।

यही बीचमा आवाज आयो, ‘ठोक सालेहरुलाई ।’

दुई जनाले बन्दुक तेर्साए । रामप्रसादले सुने, ‘ड्याङ… ड्याङ… ।’

आवाज के सुनेका थिए, उनको पेट चिसो भयो– सियोले कोपेजस्तो । छामे । त्यहाँ त दुलो परिसकेको थियो । ढाडबाट पानी बगेजस्तो अनुभव भयो । छामे । त्यहाँ त झन् ठूलो खेपिल्टा । हात हेरे– रगतले नुहाएजस्तो । त्यो सोझिएको नालबाट आएको गोली त पेट दुलो पारेर पारि पुगिसकेछ । रामप्रसाद बोल्दैछन्, ‘मैले किताबमा पढेको नालापानीको युद्ध सम्झेँ । म त्यही युद्धमा छु जस्तो लाग्यो । नालापानीमा जस्तै म पनि बाँच्छु भन्ने आशा जागेको थियो ।’

अनि रामप्रसादले साथीतर्फ आँखा सोझाए । डिलबहादुर बारीको डिलमा थिएनन् । ढलेर कान्ला बीचको रुखमा अल्झिएका थिए । बन्दुकको नालबाट बत्तिँदै आएको गोली दिलबहादुरको छातीमा गाडिएको थियो । डिलबहादुरले भन्दै थिए, ‘मरेँ… मरेँ …’

रामप्रसाद बल्लतल्ल साथीलाई कान्लाबाट तल खसाले । अनि आफू पनि ढले । केहीछिनमै उनको पेटबाट आन्द्रा र लादि निस्किए । गाउँलेहरुले उनलाई उठाएर स्वास्थ्य चौकी दौडाए ।

तर, गोलीको पीडाले छटपटाइरहेका दिलबहादुरलाई कसैले छोएनन् । किनकि दिलबहादुर दलित थिए, कथित अछुत थिए । र, मृत्युसँग लडिरहेको अछुतलाई छुनु पाप मानिन्थ्यो ।

बरु दिलबहादुरको परिवारलाई खोज्न हिँडे, प्रत्यक्षदर्शी । दैनिक काम गरेर छाक टार्ने दिलबहादुरको परिवार श्रमको मैदानमा थियो । आफ्नो छोरासम्म आइपुग्न बा–आमालाई तीन घण्टाभन्दा बढी समय लाग्यो ।

दिलबहादुर रम्तेलाका आमाबुवा ।

दलित समुदाय जम्मा भएर करिब पाँच घण्टापछि दिलबहादुरलाई दिगाउँबाट सदरमुकामतर्फ हिँडाइयो । मोटरबाट थिएन । हस्पिटल पनि टाढा । पिठ्युमा बोकिएका दिलबहादुरले हस्पिटल नपुग्दै स्वर्गको बाटो तय गरे । रामप्रसाद भन्छन्, ‘यदि समयमै उपचार पाएको भए दिलबहादुर पनि बाँच्थ्यो होला ।’

केही दिनमै माओवादी दिलबहादुरको घरमा आए र गर्वका साथ भने हाम्रो पहिलो वीर शहिद ! विचरा ती दिलबहादुर र उनको परिवारलाई के थाहा माओवादी भनेको के हो ?

०००

रामप्रसादलाई भने गोर्खामा पट्टी बाँधियो र एम्बुलेन्समा राखेर बीर अस्पताल ल्याइयो । रामप्रसाद भन्छन्, ‘कतिबेला होस आउँथ्यो र कतिबेला बेहोस थाहा नै पाउँथिनँ । तातोपानी मुखमा हाल्यो आन्द्राबाट निस्किहाल्थ्यो । जे खाए पनि मैदाजस्तौ लाग्थ्यो ।’

यसरी काठमाडौंसम्म ल्याएर उपचार गर्ने ल्याकत थिएन रामप्रसादको परिवारको । रामप्रसाद दुःख सुनाउँछन्, ‘हाम्रो त एक हजार निकाल्ने अवस्थामा पनि थिएन । बिहान बेलुकी खान त मुस्किल थियो ।’ धन्न उनको मामा काठमाडौंमै थिए । वीर अस्पतालको सम्पूर्ण खर्च उनैले व्यहोरे ।’

वीर हस्पिटलमा उनको अप्रेसन सफल भयो । २९ दिन हस्पिटल बसेर घर फिरे ।

घाउ पोलेर असैह्य हुन्थ्यो । कोल्टे परेर मात्र सुत्नुपर्ने । उनी रोई मात्रै रहन्थे । पीडाले खपिनसक्नु हुँदा पनि रामप्रसादले सोच्थे, ‘मलाई नै किन गोली हानेको होला ?’ तर, माओवादीले उनकै घरमा आएर घोषणा गरिसकेको थियो, ‘जनयुद्धको पहिलो घाइते ।’

विस्तारै रामप्रसाद स्कुल जाने थाले । गाउँ भयभित थियो । स्कुल उस्तै । यसरी भयभित की मानौं ढुंगा पनि माओवादी र पुलिसको त्रासमा छ ।

रामप्रसादल अर्को त्रासले सताएको थियो । पछाडिको घाउँ पाकेर पिप निस्किएको थियो । स्कुलको साथीले पनि जिस्काउँथे, ‘यो त कुहिएर मर्छ ।’ उनलाई कुहिएर मर्न मन थिएन । त्यसैले एक महिनापछि उनको बुवाले बोकेर फेरि अस्पताल ल्याए । रामप्रसाद भन्छन्, ‘त्यतिबेला वीरले उपचार गर्न मानेन । उसले त इमर्जेन्सी मात्र हेर्दो रहेछ । त्यसपछि हामी टिचिङ पुग्यौं ।’

अर्को दिन उनले पछाडि छाम्दा कपास भेटे । त्यसलाई ताने । घाउबाट त ठूलै कपास पो वाहिरियो । ‘अप्रेशन गर्दा भित्रै कपास छुटेको रहेछ’, रामप्रसाद थप खुल्छन्, ‘कपासले पो पाकेको रहेछ भनेर घर फकियौं । पछि आफैं निको भयो ।’

तर, देशको अवस्था थप जटिल बन्दै गएको थियो । कहिले प्रहरी धम्क्याउँथे, कहिले माओवादी । सात कक्षासम्म त रामप्रसादले जेनतेन झेले । त्यसपछि भने पढाइ छाडेर भारत पुगे । त्यतिबेलै हो उनले मोबाइल, घडी, रेडियो मर्मत गर्न सिकेको । द्वन्द्वले रामप्रसानको पढाइको हक मात्र खोसेन, विस्थापित नै बनायो । रामप्रसाद भन्छन्, ‘त्यतिबेलासम्म प्रायः विद्यार्थी लाखापाखा लागिसकेका थिए ।’

०००

०५४ सालमा भारत हिँडेका रामप्रसाद ०५८ मा घर फर्किए । त्यतिबेला माओवादीले साँखुकोट चौकीमा आक्रमण गरेको थियो । उनी केही दिन घर बसे र चितवनमा आएर घडी रेडियो बनाउने जागिर खाए ।

त्यसपछि निरन्तर यही पेसामा छन् रामप्रसाद । उनको देव्रे र दाहिने हरमा गोलीको छर्राले लागेको दाग छ । गह्रौं काम गर्न सक्दैनन् । बेला बेला पेन किलरको सहारा लिइरहनुपर्छ । भीडीयो एक्सरे, अल्ट्रासाउन्ड गरिरहनुपर्छ ।

केही वर्षअघि भीडीयो एक्सरे गर्दा आन्द्रामा समस्या छ भनेको थियो डाक्टरले । बढी नै दुख्ने, खाना आन्द्राबाटै नछिर्ने, खाए पनि नपच्ने समस्या भएपछि उनी पोखराको मेट्रो सीटी हस्पिटल पुगेका थिए । हस्पिटलले अप्रेशन गर्ने सल्लाह दिएको थियो । पछि उनी गण्डकी हस्पिटलमा पुगे । औषधिले नै निको भए ।

०००

अहिले परिस्थिति फेरिएको छ । हिजो बन्दुक बोकेर जंगल पस्ने माओवादीले आज सत्ताको ट्रिगर समाएको छ । १० किलोको केट काटेर २३ औँ जनयुद्ध दिवस सेलेब्रेशन गरिसकेको छ । तर, उनीहरुले आज रामप्रसादलाई चिन्दैनन् । रामप्रसादले चिनेको सरकार भनेको– ४० हजार रुपैयाँ हो ।

त्यही ४० हजार लिँदा पनि उनले अनेक प्रश्नको सामना गर्नुप¥यो । गोलीको दागले प्रमाणित गरेन कि उनी घाइते हुन् । कागजपत्रको लागि अनेक झमेला व्यहोरे । भन्छन्, ‘त्यतिबेला हस्पिटलमा उपचार गरेको कागज निकाल्न सकिँदैन ? हामीले भनेर त दिएनन् । प्रमाण नै भएन रे ।’

०००

जनतालाई शोषणबाट मुक्त गर्ने भनिएको युद्धमा दिलबहादुरले ज्यान गुमाए । तर, जुनै शासन आए पनि दिलबहादुरको बुवाको गिटी कुट्ने पेसा फेरिएन । घरमा बूढा–बूढी मात्र छन् । अहिले पनि ज्यालादारीबाटै छाक टार्न परिरहेको छ । कहिलेकाँही रामप्रसाद पुग्दा खुइय सुस्केरा हाल्दै दिलबहादुरको बाबाले भन्छन्, ‘खै कान्छो छोरो भाएको भए त हेथ्र्यौ कि ।’

‘म त आफूले गरेर खान सक्छु । कति जना अंगभंग भएर बसेका छन्, उनीहरुलाई पनि हेरेन सरकारले । नेताहरु चेयरमा मस्त छन्, विस्तारामा भएका घाइतेप्रति कुनै दृष्टिकोण नै दिन सकेनन्’, रामप्रसादको आक्रोस बोल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment