Comments Add Comment

भूकम्पबाट विस्थापित दलित समुदाय पुनर्निर्माणमा ब्यस्त

६ माघ, सिन्धुपाल्चोक । भूकम्पपछि विस्थापित भएर थातथालो नै छाडेर विगत चार वर्षदेखि अस्थाई टहरोमा बस्दै आएका राज विक यतिबेला आफ्नो घर निर्माणमा व्यस्त छन् ।

भूकम्पले उनको घर मात्रै भत्काएन अब त्यो पुरानो थातथलोमा कहिल्यै र्फकन नमिल्ने गरी पहिरो लागेपछि विक परिवार भुकम्प लगतै बाह्रविसे नजिकै खुर्सानीबारीको कान्लेमा बस्दै आएका थिए ।

पहिरोले गाउँमा बस्न नदिएपछि गाती, कुखुरेका दलित परिवार राज विक जस्तै गरी खुर्सानीबारीमा साहुको जग्गामा अस्थायी टहरा बनाएर बसोबास गर्दै आएका थिए । तर, यतीबेला भने विस्थापित भएर त्यहाँ बसोबास गर्दे आएका सबै विक परिवार घर निर्माणमा व्यस्त छन् ।

बस्तीको चारैतिरबाट पहिरोले लखेटेपछि यस क्षेत्रका १७ दलित परिवार झिटीगुण्टा र बालबच्चा बोकेर खुर्सानीबारीमा बस्दै आएका थिए ।

साहुको जग्गामा बस्दै आएका उनले गत वर्ष बल्ल तल्ल ऋणधन गरेर आफू बसेकै जग्गा किनेर घर निर्माण गर्न सुरु गरे । तर, वर्षामा  आएको पहिरोले बन्दै गरेको घरमा क्षति पुग्यो । ‘बल्ल जग्गा किनेर घर बनाउन सुरु गरे, साउनमा आएको पहिरोले त्यो पनि क्षती भयो,’ उनले भने ।

घरको आधा संरचना निर्माण भएपछि पहिरोले उनको सहित त्यतीबेला बन्दै गरेको अन्य पाँच घरलाई नै क्षति पुर्‍याएको बिकले सुनाए ।

पहिरो नियन्त्रणका लागि बाह्रविसे नगरपालिकाले सहयोग गरेपछि अहिले दलित समुदाय फेरि पुनर्निर्माणमा जुटेका छन् । ‘पहिरोले समस्या भएपछि घर निर्माण गरेका थिएनन्,नगरपालिकाबाट पहिरो नियन्त्रणका लागि बजेट हालिदिएपछि अहिले दलित समुदाय पुनर्निर्माणमा जुटेका छन्,’ बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने । नगरपालिकाले पहिरो नियन्त्रणका लागि १० लाख रुपैयाँ सहयोग गरेको शेर्पाले बताए ।

दलित समुदायका १७ घरमध्ये पाँच घर निर्माणका लागि अक्सफम र जनहित ग्रामीण सेवा समितिले सहयोग गरेका जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए ।

पुनर्निर्माण प्राधिकरणबाट प्राप्त हुने तीन लाख बाहेक ढुवानी र अन्य आवश्यक सहयोग संस्थाले गरिरहेको शर्माले जानकारी दिए ।
१७ मध्ये पाँच घर पुस महिना भित्रै सकिने छ भने अन्य बाँकी घरहरु पनि यो वर्ष भित्रै निर्माण गरेर नयाँ घरमा बस्ने पीडित नयन विकले जानकारी दिए ।

विस्थापित भएर १७ परिवार एकै स्थानमा बस्ने भएपछि प्राधिकरणले विद्युतीकरणका लागि पोल गाडी सकेको छ भने अन्य सहयोगी संघ संस्थाहरुसँग खानेपानी, सडकलगायतका पूर्वाधारका लागि पहल भइरहेको विकले जानकरी दिए ।

पुरानै थातथलोमा घर निर्माण गर्न आफूहरुले चाहे पनि पुनर्निर्माण प्राधिकरणले नै आफूहरुको बस्ती उच्च जोखिममा रहेका भनेपछि त्यहाँ बस्न नसकेका पीडित राज विकले जानकारी दिए । ‘हामी त त्यहीँ बस्ने रहर थियो, तर त्यहाँ बस्न हुँदैन भनेपछि सबै यही आयौं,’ उनले भने ।

जग्गा खरिदका लागि पीडितहरुलाई सरकारले दुई लाख सहयोग गरेपछि त्यही रकममा ऋणधन गरेर बढीमा ४ आना र घटीमा ३ आना सम्म सबै १७ परिवारलेनै जग्गा खरिद गरेका थिए ।

निर्माणधिन घरहरु तीन कोठे रहेका छन्, परम्परागत पेशा गरेर जीविकोपार्जन गर्दै आएका दलित समुदाय फेरि त्यही पेशामा त र्फकने योजना भएपनि भूकम्पले सबै ध्वस्त भएपछि कसैसले सहयोग गरेमा पेशालाई निरन्तरता दिने स्थानीय नयन विकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment