Comments Add Comment

नक्कली भूकम्प पीडितले टेरेनन् सरकारलाई, फिर्ता आएन अनुदानको पैसा

७ माघ, काठमाडौं । नक्कली भूकम्पले पीडितले हालसम्म पनि अनुदानको पैसा फिर्ता नगरेको पाइएको छ ।

पैसा फिर्ता गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत पुस १५ सम्म समयसीमा तोकेको थियो । तर, हालसम्म केहीले मात्र अनुदानको पैसा फिर्ता गरेको पाइएको छ ।

प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेका अनुसार अपेक्षा गरिएजस्तो नक्कली भूकम्प पीडित उल्लेख्य देखिएको छैन ।

‘जिल्लाजिल्लाबाट तथ्याकं मागेका छौं, यो एक हप्ताभित्र आइसक्छ’, उनले भने । फर्जी कागजात पेश गरी लाभग्राही बनेका नक्कली भूकम्प पीडितमाथि सुक्ष्म अनुसन्धान गरी कारवाही गर्ने प्राधिकरणको दावी छ ।

अन्यत्र घर हुँदाहुँदै र घरमा क्षति नपुगेकाले पनि झुटो विवरण पेश गरेर लाभग्राही बनेको भेटिएपछि प्राधिकरणले अनुसन्धान गरी रकम फिर्ता गराउने बताएको थियो ।

०७२ बैशाख १२ को भूकम्पका कारण ८ लाख भन्दा बढी घर भत्किएका थिए । प्राधिकरणले अनुदान लिन योग्य ८ लाख ८४ हजार ८ सय लाभग्राही पहिचान गरेको छ ।

जसमध्ये ७ लाख ४९ हजार ८३ जनाले प्राधिकरणसँग अनुदान सम्झौता गरेका छन् । यसमा पनि जम्मा ३ लाख ४८ हजार ९ सय ९० परिवारले घर निर्माण सम्पन्न गरेका छन् ।

२ लाख ३२ हजार ६ सय ६५ घर निर्माणाधिन रहेको प्राधिकरणका सूचना अधिकारी घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

यसमा अनुदान वापतको पहिलो किस्ता लिनेको संख्या ७ लाख ४२ हजार ६ सय रहेको छ ।

यस्तै ५ लाख २९ हजार ७ सय ६८ ले दोस्रो किस्ता र ३ लाख ५२ हजार ४ सय ५ ले तेस्रो किस्ता वापतको अनुदान रकम लिएका छन् । लाभग्राहीले तीन किस्ता गरेर कूल तीन लाख रुपैयाँ अनुदान पाउँछन् ।

यही गतिमा काम गर्दा पनि बाँकी दुई वर्षमा प्राधिकरणले निजी आवासको पुनर्निर्माण सक्ने सम्भावना न्यून छ । प्राधिकरणले सुस्त गतिमा काम गर्दा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका धेरै पीडित अझै पनि पालमूनि छन् ।

भूकम्पबाट प्रभावित ८ लाख ८४ हजार ८ सय मध्ये ८ लाख २२ हजार ९ सय ९ घर पुननिर्माण नै गर्नुपर्ने र ६१ हजार ८ सय ९१ घर प्रवलीकरण (रेट्रोफिट) गर्दा हुने प्राधिकरणले जनाएको छ ।

पुनर्निर्माण नै गर्नुपर्ने निजी आवासका लागि सरकारले अनुदान उपलब्ध गराउने भएपनि झण्डै डेढ लाख प्रभावितसँग अनुदान सम्झौता समेत भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment