Comments Add Comment

जबज : मार्क्सवाद र संसदवादको सेतु

नेपालमा जब कुनै दल सत्तारुढ हुन्छ वा उत्कर्षमा पुग्छ, तब चाहिँदो बहसमा भन्दा नचाहिँदो बिबादमा फस्ने गरेको सिलसिला छ । सत्तारुढ दल नेकपामा पनि ‘जनताको जनवाद’ को सुन्दर बहानामा मार्क्सवाद र संंसदवादबीचको सेतुको रुपमा रहेको जनताको वहुदलीय जनवाद (जबज) बाट भाग्ने चोरबाटो खोज्ने प्रयत्न हुँदैछ ।

सत्तारुढ गठबन्धनलाई चुनावमा प्राप्त जनादेशको जग जबज नै थियो । किनकि जनताको वहुदलीय जनवाद प्रतिपादन हुनुअघि कम्युनिष्ट पार्टी बाध्यताले थिचिएर वा उपयोग र भण्डाफोरका लागि चुनाव र संसदमा गए पनि सिद्धान्त र व्यवहारबीच तालमेल थिएन । मार्क्सवाद, नौलो जनवाद, सर्वहारा अधिनायकत्व, वा जनताको जनवादमा बहुदलीयता, बहुलवाद, संसदवाद र शक्ति पृथकीकरणको सिद्धान्त नहुने हुनाले जबजबाहेक नेकपाले पाएको मत र जनादेशसँग अन्य विचारको भरपर्दो सरोकार र सम्बन्ध छैन ।

एकअर्कामा बाझिएको जस्तो देखिने मार्क्सवाद र संसदवाद बीच मदन भण्डारीपूर्वका मार्क्सवादी चिन्तकहरुले साइनो र समन्ध जोड्न आवश्यक नै देखेका थिएनन् । जवजले नै संसद र शक्ति पृथकीकरणको सिद्धान्त पुँजीवादीहरुको एकलौटी बपौती होइन, बरु मानव जातिले हासिल गरेका साझा महान् उपलब्धि हो भनेर कम्युनिष्टहरुका तर्फबाट हकदाबी गरेको हो ।

आज नेकपामा जवजलाई सुरुदेखि नै नचाहने पूर्वएमालेका पाखण्डी पण्डितहरु पूर्वमाओवादीको संवेदना उछाल्न सुँडेनीको भूमिकामा उत्रनु शुभसंकेत होइन । जनताको जनवादलाई मिलन बिन्दु भनेर जबजको बन्ध्याकरण गर्ने र मदनमाथि बदला लिने यसप्रकारको चलाखीले नेकपालाई बैचारिक बिचलनको दलदलमा फसाउने छ ।

विभिन्न विचारहरुलाई खेल्न दिने तर महाधिवेशनको वहुमतबाट स्विकृत बिचार सिद्धान्तलाई पार्टीको आधिकारिक बिचार मान्ने परिपाटी बसाल्नुको सट्टा संवेदनालाई उछाल्ने र टालाटुली बटुली शैलीमा सिद्धान्तको रंगभर प्रतियोगिताले नेकपालाई भित्रैबाट खोक्रो र बोक्रो पार्नेछ ।

अहिले नेकपा वैचारिक विचलनका हिसाबले सुरुवाती गल्तीको संघारमा छ । यो सूरुवाती गल्तीबाट जोगिन जबजले विश्व कम्युननिष्ट आन्दोलनलाई दिएको देन बिर्सनुहुँदैन । विमान चालकहरुको इतिहासमा बिल्भर राइट र ओर्भिल राइट दाजुभाइको देन बिर्सनु र मार्क्सवादको लोकतान्त्रीकरण र संसदवादको क्रान्तिकारीकरणमा जबजको देनलाई बिर्सनु एउटैखाले गल्ती हुन जान्छ ।

जबजको प्रतिपादन अधिसम्म मार्क्सवादमा एकदलीय अधिनायकवाद गनाउँथ्यो भने संसदवादमा पुँजीवादको दुर्गन्ध थियो । मार्क्सवाद सार अधिनायकबाद थिइन भन्ने जगमा उभिएर मार्क्सवादको पुनव्र्याख्या गर्नु र संसदलाई शान्तिपूूर्ण रुपान्तरणको माध्यमका रुपमा जनताको हातको अचूक अस्त्र बनाउनु मदन भण्डारीको विचार श्रृंखलाको चुरो हो । यसरी नेकपालाई सही लिंकमा उभ्याउने सामथ्र्य राख्ने जबज नेपाली सन्दर्भको मौलिक मार्क्सवाद हो र सम्पूर्ण विचार हो । नेकपाले कुनै पनि बहानामा आफ्नो चेतनास्तर गुमाउनु छैन र जनताको वहुदलीय जनवादबाट भाग्नु छैन ।

जनताको बहुदलीय जनवादमा अन्तरनिहित मदन भण्डारीका विश्लेषण र निचोडको जस्तो प्रष्टता न जनताको जनवादका पक्षधरका प्रबक्ताबाट अपेक्षा गर्न सकिन्छ न अन्य विचारका प्रणेतामा पाइन्छ । जवज र यसका प्रणेता भण्डारीका जतिको नेपाली क्रान्तिप्रतिको गहिरो अध्ययन र व्यवहारिक सुुझबुुझ अन्य विचार र विचारकमा नभएको सत्य निम्न कुुराले प्रष्ट हुुन्छ :

राष्ट्रिय पूँजीवादी जनवादी क्रान्ति

जनताको बहुदलीय जनवाद मार्क्सवाद लेनिनवाद विरोधी विचार दृप्टिकोण होइन । नौलो जनवादको राजनीतिक प्रणाली र आर्थिक पक्ष नै जबजको राजनीतिक कार्यक्रम हो । अर्थात् जबजको सार पक्ष पनि नौलो जनवादकै राष्ट्रिय पूँजीवादी जनवादी क्रान्ति नै हो । थप स्पष्टताका लागि मदनको यस कथनलाई लिन सकिन्छ, “यसबेला गरिरहेको हुनाले यो नयाँ भएको होइन । पुुरानो पुँजीवादी जनवादी क्रान्ति भन्दा यस पूँजीवादी जनवादी क्रान्तिमा निर्णायक महत्व राख्ने केही नयाँ कुरा र नयाँ विषयवस्तुहरु छन् । तिनीहरु हुन् :

एक – साम्राज्यवाद तथा दलाल नोकरशाही पुँजीवाद नयाँ पुँजीवादी जनवादी क्रान्तिको शत्रुको रुपमा उपस्थित छन् । यो एउटा महत्वपूर्ण नयाँ विषय हो ।

दुई – साम्राज्यवाद तथा दलाल नोकरशाही पूँजीवाद पूँजीवादकै एउटा विशिष्ट रुप भएको हुनाले तिनीहरुको बिरुद्द क्रान्तिको नेतृत्व पुरानो पुँजीवादी जनवादी क्रान्तिमा जस्तो पूँजीपति वर्गले गर्न सक्तैन । सामन्तवाद दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवाद विरोधी यो क्रान्तिको नेतृत्व सर्वहारा श्रमजीवी वर्गले मात्र गर्न सक्छ । यो अझै अर्काे महत्वपूर्ण नयाँ विषय हो ।

तीन – यस क्रान्तिले पुरानो जनवादी क्रान्ति जस्तो पूँजीपति वर्गको अधिनायकत्वको स्थापना गर्दैन । बरु सामन्तवाद साम्राज्यवाद बिरोधी सम्पूर्ण वर्ग, तहका जनताको संयुक्त जनवादी अधिनायकत्वको स्थापना गर्छ । यो अझै अर्काे महत्वपूर्ण नयाँ विषय बस्तु हो ।

चार – यस बाहेक क्रान्तिपछि स्थापित नयाँ समाज व्यवस्थाले एकाधिकारी पूँजीवादी तथा साम्राज्यवादतर्फ होइन यसको बिरुद्ध समाजवादतर्फ संक्रमण गर्ने विकासको कार्यदिशा अपनाउँछ । यो पनि अर्काे नयाँ विषय वस्तु हो ।

यसरी पूरानो पूँजीवादी जनवादमा भन्दा नयाँ जनवादमा क्रान्तिको शत्रु, क्रान्तिको नेतृत्व, क्रान्तिपछि स्थापित हुने अधिनायकत्व वा राज्य व्यवस्था र समाजको विकासको दिशा जस्ता निर्णायक महत्व राख्ने चारवटा मूल कुराहरु नयाँ छन् । त्यस कारण यो नयाँ खालको पूँजीवादी जनवादी क्रान्ति हो । आधुनिक जमानामा यी उपर्युक्त कुराहरुलाई छोडेर न त सामाजिक क्रान्ति हुन्छ न त्यसलाई नयाँ जनवाद नै भन्न मिल्छ ।”

राज्यसत्ता र शासन प्रणाली

बहुदलीय संसदीय शासन प्रणाली र कम्युनिष्ट पार्टी वीचको सम्बन्धलाई भण्डारीले राज्यसत्ता र शासन प्रणालीको चरित्रसँग जोडेर पुनव्र्याव्या गरेको पाइन्छ । भण्डारीका अनुसार “पुँजीवादी देशहरुले आम रुपमा सुरुदेखि नै बहुदलीय संसदीय शासन प्रणाली अपनाएका थिए । तर समाजवादी देशहरुमा भने या त एक दलीय शासन प्रणाली रहृयो या बहुदलीय राजनीति भए पनि शासन संचालन गर्ने मामिलामा केवल सहयोगको प्रणाली रहृयो, प्रतिस्पर्धा गर्न दिइएन ।

यस्तो प्रयोग र व्यवहारबाट बहुदलीय प्रतिष्पर्धाको प्रणाली पूँजीवादपन्थीहरुको निजी सम्पत्ती हो र सभाजवादी प्रणाली भनेको या त एक दलीयता या बहुदलीय भए पनि त्यो केवल सहयोगात्मक प्रणाली मात्र हो भन्नेे दुनियाँलाई भान पर्‍यो । यस खालको विचार प्रवृत्ति तथा चिन्तन एउटा गम्भीर गल्तीको द्योतक थियो । वहुदलीय प्रणाली समाजको राजनीतिक जीवनको एउटा लोकप्रिय पद्धति तथा सरकार संगठित गर्ने एउटा वहुप्रचलित तरिका हो । यो पूँजीवादपन्थीहरुको मात्र निजी सम्पत्ती कुनै पनि हिसाबले होइन ।

हरेक वस्तुको रुप पक्ष र सार पक्ष हुन्छ । राजनीतिक सत्ताको पनि रुप र सार पक्ष हुन्छन् । सत्ताको सारपक्ष राज्ययन्त्रसँग सम्वन्धित कुरा हो भने त्यसको रुपपक्ष शासनतन्त्रसँंग सम्वन्धित कुरा हो । बहुदलीय प्रणाली सार होइन, केवल रुप पक्ष मात्र हो ”

सारतत्वको विरोध र रुप पक्षको उपयोग

मदन भण्डारीको अध्ययनको निष्कर्ष बुर्जुवा संसदको सार पक्षको बिरोध र स्वरुप पक्षको उपयोग रहेको छ । भण्डारीको भनाइ छ, “हामी शक्ति पृथकीकरणको पक्षमा छौं । कुनै एउटा संस्थाले कार्यकारी पनि विधायकी पनि तथा न्यायिक कार्य पनि गर्नुपर्छ भन्ने कुरा हाम्रो होइन । शासन संचालन गर्ने क्षेत्रमा हालसम्म भएको अनुभवहरुको आधारमा न्यायपालिका, कार्यपालिका र विधायिकाको सापेक्ष स्वतन्त्रता हुनुपर्छ र त्यस अनुसार नै सम्वन्धित निकायले निष्पक्ष रुपमा काम गर्न पाउनु पर्छ । तिनीहरुको काममा कुनै पनि एउटाले अर्काेमाथि वा कुनै पनि शक्तिले तिनीहरुमाथि हस्तक्षेप गर्नु हुदैन भन्ने मान्यताको पक्षमा हामी छाैं ।

माक्र्स र लोनिनले बुर्जुवा संसदको विरोध गर्दा त्यसको रुप र सारलाई एकीकृत गरेर गर्नु भएको थियो । सरकार सञ्चालन गर्ने रुप, विधि र तरिका भन्दा वहाँहरुको विरोध पूँजीवादी राज्यको विरुद्ध केन्द्रीत थियो । हामी अहिले रुप र सारलाई अलग अलग गरेर रुपपक्षलाई समर्थन गर्ने तर सारलाई संघर्ष मार्फत परिवर्तन गर्ने कुराको पक्ष पोषण गरिरहेका छौं ।”

वर्गीय समाज र राजनीति

समाजमा वर्गहरु रहेसम्म वर्गीय हितका गतिविधिलाई बलात् ढंगले दमन गर्न नहुने तर्क अघि सार्दै भण्डारीले जबजलाई मार्क्सवाद र संसदवाद बीचको पुलका रुपमा उभ्याएको तथ्य भण्डारीका यो मथनले पुष्टि गर्दछ, ”राज्यसम्बन्धी मार्क्सवादको शिक्षा राज्य वर्गीय शासनको उपकरण हो । एउटा वर्गले अर्को वर्गलाई अधिनमा राख्ने साधन हो । एक वर्गको रुपमा राज्यको उत्पत्ति भयो र एक बर्गकै रुपमा राज्यको अन्त्य पनि हुनेछ । तर वीचमा अनेक वर्गहरुको संयुक्त राज्य पनि बन्न सक्छ । जबसम्म बर्गहरु रहन्छन् तब सम्म प्रत्येक वर्गको अलग अलग स्वार्थ, सिद्धान्त र दृष्टिकोणहरु हुनु पनि स्वभाविक हो ।”

नयाँ मार्क्सवादी आन्दोलनको प्रारम्भिक बेलामा गरिएको व्याख्या र प्रयोग भन्दा अहिले कतिपय मानेमा परिस्तिति भिन्न भएको र भिन्न र नयाँ कुराहरुबारे मार्क्सवादी दृष्टिकोण प्रष्ट पार्न अहिले नै ठोस व्याख्याहरु अघि सार्नुपर्नेमा मदनको जोड बल थियो ।

भण्डारीको थप कथन छ- ”पुरानो सुत्रहरुमा टाँसिइरहेर आजका समस्या हल हुन सक्दैन्न । मार्क्सवाद कोरा सिद्धान्त होइन । यसले व्यवहारलाई ठोस रुपमा मार्गदर्शन गर्नसक्नु पर्छ । व्यवहार निरन्तर गतिशील भैरहने विषय हो । व्यवहारको गति र विकासका प्रत्येक अवस्थामा सिद्धान्तले त्यसलाई मार्गदर्शन गरिरहनु पर्दछ । त्यसको निम्ति आबश्यकता अनुरुप सिद्धात पनि गतिशील, क्रियाशील हुन सक्नुपर्छ । मार्क्सवादी सिद्धात कुनै जडसूत्र होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु नै मार्क्सवादको आत्मा हो भनेर भनिरहेका बेला लेनिन मार्क्सवादको यही रचनात्मक पक्षको तथा गतिशील सिद्धान्तको ब्याख्या गरिहनु भएको थियो ।”

तर, मार्क्सवादी सिद्धान्तको गतिशीलताले यसको सारलाई उपेक्षा गर्न नहुनेमा भण्डारीको थप सजगता रहेको छ । भण्डारीको कथन छ- “मार्क्सवाद- सर्वहारा श्रमजीवी उत्पादक शक्तिको मुक्ति र समृद्धिको सिद्धान्त हो । मार्क्सवादले हरेक समाजमा हरेक बेला उत्पादक शक्तिको पक्षपोषण गरिरहेको हुन्छ । परिस्थिति नयाँ हुन सक्छ, समय भिन्न हुन सक्छ तथा ठाउँ बेग्लै हुन सक्छ । परिस्थिति बेला र ठाउँको भिन्नताले मार्क्सवादलाई लागू गर्ने नीति एबं तरिकामा भिन्नता हुन सक्छ तर जहाँसुकै र जहिले पनि एबं जुनसुकै परिस्थिति भए पनि मार्क्सवादको स्वरुप फेरिन सक्दैन । मार्क्सवादको कहिल्यै पनि यस्तो ब्याख्या हुन सक्दैन कि त्यस ब्याख्याले सामन्त र पुँजीपतिलाई खुशी तुल्याओस् तथा उत्पादक शक्तिको स्वार्थमा ठेस लगाओस् ।”

जनवाद र समाजवाद

क्रान्तिपूर्व, नयाँ जनवादी चरण वा बहुदलीयता सहितको जनवादी काल वा समाजवादतर्फ संक्रमणमा जनताको समर्थनमा जबजले जोड दिन्छ । भण्डारीको कथन छ -”यदि बहुमत जनताको समर्थन छैन भने केवल राज्यको वल प्रयोगको माध्यमबाट मात्र स्थापित गरेको समाजवाद दीर्घजीवी हुन सक्दैन । त्यस कारण जनवादी व्यवस्थाको सुदृढीकरण, समाजवादको निम्ति भौतिक तयारी र समाजवादको पक्षमा जनताको वहुमतलाई गोलवन्ध गर्ने विधिद्वारा मात्र समाजवादमा संक्रमण सम्भव हुनेछ । कतिपय मुलुकमा भएको जस्तो समाजवाद स्थापना गर्ने अल्पमतको लोभले वहुमतमाथि वल प्रयोग गर्ने हतार गर्नु हुँदैन ।”

भण्डारीको थप प्रतिवद्धतासहितको व्याख्या छ- ”हामी सैद्धान्तिक आग्रहबाट प्रेरित भएर भौतिक परिस्थितिविना नै समाजवादमा पुग्ने हतारोले कुनै अनुचित जोरजबरजस्ती गर्ने कुुराको विपक्षमा छाैं । स्वभाविकरुपमा कुनै पनि नयाँ व्यवस्थालाई सुदृढ गर्नको निम्ति अपेक्षित समय चाहिन्छ । त्यसमा पनि जनताको जनवादी सत्ताले मूलभूत रुपमा तीन वटा विशेष अवधि पार गर्नु अनिवार्य हुन्छ । पहिलो, पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरु सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रीत भएर लाग्ने अवधि, दोश्रो नयाँ उत्पादन सम्बन्धका आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुबै हिसावले विकास गर्ने कुरामा केन्दि्रत भएर लाग्ने अवधि र तेश्रो समाजवादमा संक्रमणको निम्ति के्रन्द्रीत भएर भौतिक र सांस्कृतिक तयारी गर्ने अवधि । यस्ता ठोस कुराहरु सम्पादन गर्न स्वभाविक रुपमा एउटा अपेक्षाकृत लामो समय चाहिन्छ ।

त्यसकारण हामीहरु अन्य कतिपय देशहरुमा जस्तो स माजवादमा पुग्ने हतारोले नयाँ व्यवस्था र समाजको जग कमजोर छँदै-एउटा खुट्टो दरोसँगं नटेकी अर्काे खुट्टा उचाल्ने पक्षमा छैनाैं । अझ हामी जनवादी व्यवस्थामा पनि बहुदलीय पद्वति अपनाउन प्रतिवद्ध छाैं । यसको तात्पर्य वल प्रयोग होइन, सेवा र घनिष्ट सम्बन्धबाट जनताको दिल जित्न र समर्थन हासिल गर्न चाहन्छौं । यो राम्रै कार्यको निम्ति पनि जनतालाई जोरजवरजस्ती गर्ने होइन, स्वैच्छिक समर्थन हासिल गर्ने तरिका हो । हामी राम्रो काम पनि नराम्रो तारिकाले होइन, सकेसम्म राम्रो तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने कुराको पक्षमा छौं ।”

निश्कर्ष

जनताको बहुदलीय जनवाद नै नेकपाको मूल राजनीतिक छवि र विशेषता जनाउने फहराइएको झण्डा हुनेछ । आज नेकपा हरेक असल विरासतको विस्मृति र खराब विरासतको रक्षा गर्ने जुँगाको लडाइँमा अल्झिने खतरा बढेको छ ।

जनवादको कुरा गर्दा जनताको वहुदलीय जनवादको श्रेष्ठता साबित हुने देखेर जबजका जन्मजात विरोधी पूर्वएमालेका केही हस्तीहरुले मार्क्र्सवाद लेनिनवाद छँदाछदै जनवादको झमेलामा फस्न नहुने वा जनताको जनवादको मिलनबिन्दुुबाट पर जबज र एक्काइसौं जनवादमाथि बहश नै चलाउन नहुने बताउनुले नेकपा असार आयो बाबा गोरु बेचाैं शैलीमा जवजमाथि निर्मम र उदासीन हुने खतरा बढेको छ ।

जबजमाथिको हमला वा उदासीनता लोकतन्त्र माथिको पनि हमला हुनेछ । किनकि नेकपा अधिनायकवादी हुन्छ वा लोकतन्त्रवादी जबजप्रतिको निष्ठाले मापन गर्नेछ । चुनाब लड्ने, आवधिक निर्वाचनमा विश्वास राख्ने र वहुलवाद स्वीकार गर्ने सवै राजनीतिक दलले मदन भण्डारी र जनताको वहुदलीय जनवादको नाम लिन हिच्किचाउनु कृतघ्नता हुनेछ । विचार, जनधार र सदाचारको त्रिबेणीको रुपमा नेपाली जनतामा टिक्न नेकपाले जबजलाई न्याय गर्न सक्नुपर्ने छ ।

जबज छोडेको खण्डमा नेकपालाई संसदवादबाट पछि हटेको आरोप र आशंकाले लपेट्ने त छ नै, मार्क्सवादको रचनात्मक प्रयोग र विकासबाट समेत विमुुख पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment