Comments Add Comment

पहिलो एकदिवसीयमा युएईसँग नेपालको हार

Photo Credit : रमन शिवाकोटी

११, माघ, काठमाडौं । यूएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल तीन विकेटले पराजित भएको छ । यससँगै तीन म्याचको सिरिजमा नेपाल १-० ले पछि परेको छ ।

नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालले सामान्य लक्ष्य दिएको भएपनि घरेलु टोलीको ब्याटिङ पनि चलेको थिएन ।

नेपाली बलरहरु हावी भएका थिए । जब १९.२ ओभरमा यूएईले सातौं विकेट गुमायो, खेल नेपालको पक्षमा आएको मानिएको थियो । तर, आठौं विकेटका लागि अमिर हायात र इरान हैदरले ४३ रनको साझेदारी गर्दै यूएईलाई जित दिलाए ।

नेपालका कप्तान पारस खड्का भन्छन्, ‘यूएईलाई ७ विकेटको क्षतिमा ७६ रनमा पुर्‍याउादासम्म खेल हाम्रो हातमा थियो । तर, आठौं विकेटका लागि भएको साझेदारीले उनीहरुलाई जित दिलायो ।’

युएईका लागि घुलाम शब्बेरले सर्वाधिक ३० रन बनाए । हायत २४ र हैडर २८ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।खराब सुरूवात गरेको नेपालका लागि आरिफ शेख र सोमपाल कामीले केही राहात दिए । सोमपालले ३० र  आरिफले २५ रन बनाए ।

यसरी भयो नेपालको विकेट पतन

ओपनिङमा समस्या भोग्दै आएको नेपालले यो पटक अर्को प्रयोग गर्‍यो, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीको जोडी । तर, यो पनि फलदायी हुन सकेन ।

पहिलो ओभरको चौथो बलमा नै मल्ल आउट भए, जतिबेला नेपालले खाता नै खोलेको थिएन । नेपालको स्कोर १६ रन हुँदा दोस्रो विकेटका रूपमा विनोद मात्र ५ रनमा आउट भए ।

अनपेक्षित रुपमा चौथो नम्बर सोमपाल कामी आए । उनले ठूलो साझेदारी गर्न नपाउँदै कप्तान पारस खड्का व्यक्तिगत २० रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी शुन्य रनमै आउट हुँदा नेपालको स्कोर ४७/४ थियो ।

आरिफ शेखले सोमपालसँग २४ रनको साझेदारी गरे । सोमपाल व्यक्तिगत ३० रनमा आउट भए । दबावमा रहेको नेपालका पवन सर्राफ चार, करण केसी ३ र बसन्त रेग्मी शुन्यमै आउट भए ।२४.५ ओभरमा रेग्मी आउट हुँदा नेपालको स्कोर ८ विकेटको क्षतिमा ८१ रन थियो।

आरिफ क्रिजमा टिक्ने प्रयासमा रहेपनि नेपालले १०० रन कटाउनेमा शंका थियो । किनभने बाँकी दुबै बलर थिए । तर, सन्दीप लामिछानेले टिकेर खेल्ने प्रयास गरे र आरिफसँग २५ रनको साझेदारी गरे । नवौं विकेटको रुपमा आरिफ २५ रनमा आउट हुँदा नेपालको स्कोर १०६ रन पुग्यो ।

१०औं विकेटको रुपमा सन्दीप १५ रनमा आउट भए । त्यस्तै ललितनारायण भने २ रनमा अविजित रहे ।

नेपाल र युएईको दोस्रो एकदिवसीय खेल भोलि नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment