Comments Add Comment

पूर्वका व्यवसायी भन्छन् : ब्याजदर नघटे पलायन हुने स्थिति छ

२९ माघ, विराटनगर । विराटनगरका व्यवसायीले नेपाल राष्ट्र बैंकले नै बैंकहरुको सिन्डिकेटलाई संरक्षण गर्दा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको गुनासो गरेका छन् ।

ब्याजदर घटाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायीहरुले राष्ट्र बैंकसँगको छलफलमा ब्याजदर घटाउन नियामक निकायले पहल नगरेको गुनासो गरेका हुन् ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले समन्वय गरेको बैठकमा राष्ट्रबैंकका डेपुटिी गभर्नर चिन्तामणि शिवाकोटी पनि सहभागी भएका थिए ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले ब्याजदर नघट्ने हो भने उद्योगी व्यवसायी पलायन हुने चेतावनी दिए । ‘व्याजदर नघटाउने हो भने हामी पलाउन होउँला, विदेश जाउँला तर यो देशको माटोले, धर्तीले तपाईलाई सराप्ने छ’ डेपुटी गभर्नरलाई उनले भने ।

प्रधानमन्त्रीको समृद्ध नेपाल बनाउने योजनालाई असफल बनाउन राष्ट्र बैंक लागेको उनले आरोप लगाए । ‘बैंकहरुको बैक राष्ट्र बैकले सामन्तवादको उदय गराउदै सरकारको उद्देश्य फेल गराउन चाहन्छ’ उनले भने ‘व्यापार घाटा बढाउने र देशलाई कंगाल बनाउने हो भने हामीले केही भन्नु छैन, देश बनाउन लागेको सरकारलाई सहयोग गर्ने हो भने सिन्डिकेटको अन्त्य हुनुपर्छ ।’
उत्पादन मुलक क्षेत्रलाई सात र व्यापारलाई नौ प्रतिशत भन्दा बढी ब्याजर लिन नहुने घिमिरेले बताए ।

राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले ब्याजदर घटाउन राष्ट्र बैंकले पहल गरिरहेको बताए । ‘बैंकको ब्याजदर १२, १३ प्रतिशतबाट घटाएर वान डिजिट बनाएका छौ’ उनले घिमिरेलाई जवाफ दिँदै भने, ‘तपाईंहरुले ७ र ९ प्रतिशत भन्नुको आधार के हुन् ?’

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले ब्याजदर बढाउन राष्ट्र बैंक नै सहयोगी बनेको आरोप लगाए । राष्ट्र बैंकबाट ४ प्रतिशतमा लोन लिएर बैंकहरुले ९ प्रतिशतदेखि माथि ऋण लगानी गर्दा समस्या भएको उनले बताए ।

‘राष्ट्र बैंकले भन्छ भने आपत्ती छैन’

बैकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले उद्योगीको माग अनुसार राष्ट्र बैंकले निर्देशन दिए कुनै आपत्ती नहुने बताए । बैंकहरुले कार्टेलिङ नगरेको दाबी गर्दै उनले लगानीको माग अनुसार पूँजी निर्माण नहुदा समस्या भएको बताए ।

उनले केन्द्रीय बैंकले ब्याजदर तोक्दा तरलता अभाव भएका बेला उद्योगी व्यवसायीलाई समस्या हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment