+
+
Shares

संघीयताले खर्च बढ्यो भन्नु गलत हो : मुख्यमन्त्री पोखरेल

टोपराज शर्मा टोपराज शर्मा
२०७५ फागुन ३ गते १७:५०

३ फागुन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयताले खर्च बढ्यो भन्नु गलत भएको दावी गरेका छन् । संघीय व्यवस्थामा तीन तहका सरकारका लागि १५ प्रतिशत कर्मचारी र १५ प्रतिशत खर्च बढी लागे पनि जनताले सेवा लिन गर्नुपर्ने खर्च भने घटेको दावी गरेका हुन् ।

प्रदेश ५ सरकार स्थापना दिवसको कार्यक्रममा उनले कर्मचारी बढ्दा प्रशासनिक खर्च बढे पनि जनताको खर्च घटेकाले संघीयताले खर्च बढ्यो भन्ने तर्क गलत भएको तर्क गरे । ‘संघीयता वा प्रदेश सरकार देख्न नचाहनेले संघीयताले खर्च बढायो भनेर भ्रम छरेका छन्’ मुख्यमन्त्रीले भने, ‘तर विगतमा जनतालाई जिल्ला सदरमुकाम र राजधानी काठमाडौं धाउनुपर्दा लाग्ने सबै खर्च घटेको छ, यो कुरा हामीले बुझाउनुपर्छ ।’

संघीयता कार्यान्वयनमा आउनुअघि भन्दा अहिले कुल गार्हस्थ उत्पादन र आर्थिक वृद्धिदर पनि बढेको मुख्यमन्त्री पोखरेलले दावी गरे । संघीयता कार्यान्वयनका सन्दर्भमा प्रदेश ५ सरकार र संघीय सरकारबीच कुनै दुरी नरहेको बरु सहकार्य र सुमधुर सम्बन्ध रहेको उनले बताए ।

शून्य संरचनाबाट काम शुरु गर्नुपरेकाले विकासको गति लिन नसके पनि जनतामा भरोसा पैदा गर्न सकेको गरेको पोखरेलको भनाइ छ । ‘संघीयताको महत्वपूर्ण आधार प्रदेश सरकार हो भन्ने स्थापित गरेका छौं’ उनले भने ।

केन्द्र सरकारबाट साझा सूचीका कानुन निर्माण र संविधानसंग बाझिएका पुराना कानुन संशोधनमा विलम्ब भएकाले प्रदेश सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्न नपाएको उनले स्वीकार गरे ।

प्रदेशको विकास र समृद्धिको आधार कृषि भएकाले भूमिहीनलाई करार खेती, ५२ निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलगायतका नौला कार्यक्रम कार्यान्वयनमा आएका मुख्यमन्त्री पाखरेलले उल्लेख गरे ।

प्रदेशको दीर्घकालीन समृद्धिको आधार पर्यटन भएको उल्लेख गर्दै उनले अब लुम्बिनीको पर्यटन प्रवर्द्धनको जिम्मेवारी संघले प्रदेश सरकारलाई दिनुपर्ने बताए । लुम्बिनी गुरुयोजना र अन्य विकास निर्माण लुम्बिनी विकास कोषले गरे पनि पर्यटन प्रवर्द्धनको जिम्मा प्रदेश सरकारलाई दिन संघीय सरकारलाई आग्रह गरिसकिएको उनले बताए ।

२०७६ को बुद्ध पूर्णिमाको दिन लुम्बिनी भ्रमण वर्ष शुरु गर्ने तयारीमा रहेको मुख्यमन्त्रीले जानकारी गराए ।

लगानी भित्र्याउन मिनी लगानी सम्मेलन गर्ने तयारीमा रहेको बताउंदै उनले प्रदेशको विकास र समृद्धिमा सबैको साथको अपेक्षा गरे । प्रदेशको स्थायी राजधानी र नाम तोक्ने विषय प्रदेश सभाको अधिकार क्षेत्र भएकाले सडकमा बहस र विवाद गर्न उचित नहुने दोहोर्‍याए ।

स्थायी राजधानी र नामाकरण गर्दा ठाउँ विशेषको आग्रहबाट मुक्त हुनुपर्ने भन्दै उनले जहाँ प्रदेश राजधानी हुन्छ, त्यहां मात्र विकास हुन्छ सोंचबाट पनि मुक्त हुन आग्रह गरे । ‘समृद्धि राजधानी विशेषले ल्याउँछ भन्ने भ्रमबाट मुक्त हौं’ उनले भने ‘हतारमा निर्णय गरेर पछुताउनुभन्दा ढिलो भए पनि सबैलाई स्वीकार्य हुने निर्णय गर्नुपर्छ ।’

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?