+
+
Shares

सुपारीको पात टपरी हुने, नहुने सालैको !

ममको अचारले सालको टपरी भिजाएपछि जन्मिएको उद्यम

दिवाकर प्याकुरेल दिवाकर प्याकुरेल
२०७५ फागुन ४ गते ०:१८

३ फागुन, काठमाडौं । दाङका स्वाभिमान आचार्य अनि विधान पोखरेल र मकवानपुरका कोविदसिंह बानियाँले ०६३ देखि ०६५ सम्म काठमाडौँको एक शैक्षिक संस्थामा सँगै प्लस टु पढे । त्यसपछि फरक–फरक कलेजमा फरक–फरक विषय पढ्न थाले पनि उनीहरू विभिन्न किसिमले सम्पर्कमै रहे ।

त्यसको करिब चार/पाँच वर्षपछि उनीहरूबीच आफूले प्लस टु पढेको कलेजका पूर्वविद्यार्थीको सङ्गठन बनाउनका लागि कलेजलाई प्रस्ताव गर्ने सल्लाह भयो ।

“हामी प्रस्ताव लिएर सीइओको अफिसमा जाँदा त सीइओले हामीलाई नै अध्यक्ष, उपाध्यक्ष र सचिव बनाएर काम अगाडि बढाउन जिम्मा दिएर पठाइदिए,” आचार्य सुनाउँछन्, “त्यसपछि हामी कसरी अगाडि बढ्ने भनेर छलफल गर्न कलेजछेउकै एउटा मम पसलमा भेला भयौँ ।”

आज त्यही मम पसलको भेटघाटको कुराकानीले एउटा नौलो उद्यमको रूप लिएको छ । आचार्य, पोखरेल र बानियाँको समूह ‘लिफ प्लस’ नामको एक कम्पनी मार्फत् दुनाटपरीको परम्परागत नेपाली कौशललाई नयाँ स्वरूप दिन लागिपरेको छ ।

साल कि सुपारी ?

जसै मम पसलेले सालको पातले बनेका टपरीमा उनीहरूलाई मम दिए, ममको अचारले त्यो टपरी भिज्यो । हुन त ती टपरी परम्परागत घरेलु तरिकाले गाँसिएका थिएनन्, मेसिनले नै बनाइएका थिए । “हातले गाँस्ने प्रविधिबाट मेसिनसम्म पुगिसकेपछि पनि किन यसलाई नभिज्ने गरी बनाउन सकिएन भन्ने विषयमा हामीले कुरा गर्न थाल्यौँ,” आचार्य सुनाउँछन् ।

तर, एक दिनमै त्यस प्रश्नको उत्तर पाउने कुरा थिएन । पूर्वविद्यार्थी सङ्गठनका क्रियाकलाप बाक्लिँदै जाँदा आचार्य, पोखरेल र बानियाँको भेटघाट पनि बाक्लियो । सँगसँगै बाक्लियो मम पसल जाने क्रम पनि । पसलमा गएपछि भिजेको बोता सम्झिहाल्थे उनीहरू ।

आँट र उमेर दुबैले साथ दिएको अवस्थामा उनीहरूलाई यी बोता कसरी बन्ने रहेछन् भन्ने जान्न मन लाग्यो । “हामीले विभिन्न स्रोतबाट पत्ता लगायौँ कि नवलपरासीको डन्डामा एउटा कारखाना छ । अनि हामी फुर्सद मिलाएर त्यहाँ जाने भयौँ ।”

तीन जना मिलेर १६ हजार रुपैयाँ जम्मा गरेपछि टोली डन्डा जाने निश्चित भयो । कारखाना गए र मेसिनले दुनाटपरी गाँसेको हेरेर फर्किए । यसबीचमा उनीहरूले इन्टरनेटमा पनि यस विषयमा अध्ययन थालिसकेका थिए ।

“बजारमा चलेका टपरीमा केही समस्या रहेछन् । मेसिनमै भए पनि घरमा गाँसेजस्तै सिन्काको प्रयोग हुने रहेछ, खाना खाँदा कथंकदाचित ती सिन्का अटिकए के गर्ने ? तातो कुरा राख्न नमिल्ने रहेछ । झोल चुहिने र यसले भाँडो भिजाउने रहेछ,” आचार्य सुनाउँछन्, “फेरि माइक्रोवेभ र फ्रिजमा पनि राख्न नमिल्ने रहेछ ।”

अब उनीहरूले नयाँ उद्देश्य बनाए : यी सबै समस्याबाट मुक्त भएर एउटा नयाँ उद्यम सुरु गर्ने । यसबीचमा उनीहरूले पत्ता लगाए कि भारतको तमिलनाडुमा सुपारीको पातबाट यस्ता भाँडा बनाउने प्रचलन रहेछ ।

 

“सुपारीको पात अलि मोटो हुने भएकाले माइक्रोवेभ र फ्रिजको चिसोतातो थेग्ने रहेछ भन्ने पनि हामीले थाहा पायौँ,” बानियाँ भन्छन्, “त्यसपछि हाम्रो ध्यान सुपारीतर्फ मोडियो ।”

फोहोरबाट मोहोर

यता काठमाडौँमा सुपारीको पातबाट दुना टपरी बनाउने सम्भाव्यताको खोजी हुँदै गर्दा आचार्य अमेरिकी दूतावासले सञ्चालन गरेको युथ काउन्सिलको एउटा कार्यक्रमको सिलसिलामा झापा पुगे । कार्यक्रम आयोजना गर्नका लागि तत्कालीन सांसद् रविन कोइरालासँग सम्पर्क गर्ने क्रममा आचार्यले सांसद्का स्वकीय सचिव हरि दाहालसँग पनि राम्रै चिनजान गरे ।

एक दिन चिया गफकै क्रममा आचार्यले सुपारीको पातबारे आफूले पत्ता लगाएको कुरा दाहाललाई सुनाए । जवाफमा दाहालले एउटा सुपारीको बोटले वर्षमा औसत १० वटा जति पात झार्ने र ती पात त्यत्तिकै खेर जाने बताए ।

आचार्यलाई यो कुरा सुन्दा अचम्म लाग्यो । काठमाडौँमा रहेका आफ्ना दुई साथीलाई पनि यो कुरा सुनाएर उनी झापामा कति सुपारीका बोटबाट कति पात खेर जाँदा रहेछन् हिसाब निकाल्न लागे । “सरकारी निकायकै तथ्याङ्क पत्याउने हो भने झापा जिल्लामा ३८ लाख सुपारीका बोट रहेछन् । तिनबाट हरेक वर्ष करिब तीन करोड ८० लाख पात खस्ने रहेछन् ।”

अब आचार्य, बानियाँ र पोखरेलको टोली त्यो फोहोरलाई मोहोर बनाउने अभियानमा जुट्यो । झापामा पात सङ्कलन र भण्डारणको समन्वयका लागि दाहालले जिम्मा लिने भए । बानियाँले आफ्नो घर नजिकै, हेटौँडामा कारखाना खोल्नका लागि जग्गा खोजे ।

त्यसपछि जन्मियो लिफ प्लस प्राइभेट लिमिटेड ।

लगत्तै चारजनाको टोली डेढ लाख रुपैयाँ खर्च गरेर तमिलनाडुमा अभ्यासमा रहेको प्रविधि अध्ययनका लागि गयो । यसका लागि आर्थिक स्रोत जुटाउन उनीहरूले पुरानै मोडेलमा आआफ्नो खल्तीबाट पैसा निकाले । कम्पनी दर्ता गर्दा पनि त्यसै गरिएको थियो ।

“सुरुमा करिब २०–२५ लाख रुपैयाँ लगानी गरे पुग्छजस्तो लाग्थ्यो, तर आजसम्मको हिसाबले डेढ करोड रुपैयाँ नाघिसक्यो,” आचार्य भन्छन्, “तर पनि आगामी दुई वर्षमा हाम्रो लगानी उठ्छजस्तो लाग्छ ।”

लगानी उठेपछि हुने नाफा कम्पनीकै विकास र विस्तारमा खर्च गर्ने र करिब पाँच वर्ष पछाडि मात्र नाफा खान सुरु गर्ने उनीहरूको सोचाइ छ ।

कम्पनीले उत्पादन सुरु गरेको करिब १४ महिना भएको छ । हालसम्म ६० हजारभन्दा बढी प्लेट उत्पादन भइसकेका छन् ।

प्लास्टिक झोलाको विकल्प

कम्पनीलाई बजारमा जम्न उनीहरूले सोचेजस्तो सजिलो भने छैन । सामान्य भोजभतेर र पिकनिकमा सालका दुनाटपरीलाई प्लास्टिकका दुनाटपरीले विस्थापित गरेका छन् । प्रतिगोटा एक रुपैयाँ जतिमा यस्ता भाँडा पाइने समय आइसक्दा लिफ प्लसले उत्पादन गरेको एउटा भाँडाको आठदेखि २५ रुपैयाँसम्म पर्छ ।

बानियाँका अनुसार उत्पादन प्रक्रियाको अन्तिम चरणमा बाहेक अन्य सबै प्रक्रियामा मेसिन नभएर मानवीय स्रोत प्रयोग हुने भएकाले भाउ अलिक महँगो पर्न गएको हो । प्रारम्भिक र मध्यम चरणहरूमा मेसिनको प्रयोग गर्न गाह्रो हुने उनको भनाइ छ ।

अर्कातर्फ, आफ्नो उद्यमले दर्जनौँ किसानको जीवनयापनलाई सहयोग पुर्‍याइरहेको हुनाले त्यसलाई हठात् यान्त्रिकीकरण गर्न नहुने आचार्यको तर्क छ । बरु प्लास्टिक प्लेटमा नपाइने तर आफ्नो उत्पादनमा पाइने विशेषतालाई सदुपयोग गरेर फाइदा लिनुपर्नेमा उनको जोड छ ।

उदाहरणका लागि, प्लास्टिकका प्लेट न त कुहिन्छन्, न तिनलाई जलाउन नै मिल्छ । सुपारीको पातबाट बनेका प्लेट सजिलै कुहिन्छन् । त्यसै गरी प्लास्टिकका प्लेटमा खाना राखेर माइक्रोवेभमा तताउन मिल्दैन, सुपारीका प्लेटमा मिल्छ ।

यही तर्कमा टेकेर आफूले प्रधानमन्त्रीको निजी सचिवालय र अमेरिकी राजदूतको निवासलाई आफ्नो उत्पादन बेचिसकेको कम्पनीको दाबी छ । बालुवाटारमा हुने विभिन्न कार्यक्रममा आफ्ना उत्पादन प्रयोग गरिएको जानकारी पाएको पोखरेल बताउँछन् ।

“एउटा प्रदर्शनीमा प्रधानमन्त्रीलाई भेट्दा हामीले एक प्याकेट प्लेट उपहार दिएका थियौँ । लगत्तै उहाँले १० हजारवटा टपरी मगाउनुभयो,” पोखरेल सुनाउँछन्, “अमेरिकी दूतावासलाई भने हामी आफैँले अप्रोच गरेका हौँ ।”

हालसालै सोल्टी होटेललाई पनि तीन हजार थान प्लेट पठाइएको आचार्य जानकारी दिन्छन् ।

“हाम्रो लक्ष्य प्लास्टिक झोलाको प्रयोगलाई सकेसम्म धेरै विस्थापन गर्नु मात्र होइन,” उनी थप्छन्, “हामी नेपाली उत्पादनका रूपमा यसलाई अन्तर्राष्ट्रिय स्तरमा निर्यात गर्न पनि चाहान्छौँ ।”

सामग्रीको विज्ञापनका लागि आजसम्म खासै पहल नगर्दा पनि ग्राहक आफूहरूको कार्यालयसम्म आइपुगेको दाबी गर्ने आचार्य आफूहरू बजारमा छिट्टै भिज्नेमा ढुक्क छन् । “हाम्रो ख्याति बिस्तारै फैलँदै छ । हुन त हामी खुद्रा तथा थोक व्यवसायीहरूलाई पनि राम्रै नाफा हुने गरी कसरी बजारीकरण गर्ने भनेर अध्ययन पनि गर्दैछौँ ।”

आचार्य, बानियाँ र पोखरेलले पूर्वविद्यार्थी सङ्गठन खोल्नाको भित्री उद्देश्य कुनै एक राजनीतिक विद्यार्थी सङ्गठनका क्याम्पस कमिटीहरूमा आफ्नो प्रभाव बढाउनु थियो । तर आज उनीहरूले सक्रिय विद्यार्थी राजनीति छाडिसकेका छन् ।

अर्थात्, अब उनीहरू आफ्नो प्लस टु कलेजमा पूर्वविद्यार्थीको भेलाका लागि खासै जाने छैनन् । अनि, भिजेको टपरीमा मम पनि खानेछैनन् । झोलले नभिज्ने आफ्नै टपरी भएपछि अरू किन चाहियो ?

लेखक
दिवाकर प्याकुरेल

प्याकुरेल अनलाइनखबर अंग्रेजी संस्करणका संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?