
४ फागुन, काठमाडौं । नेपालमा जति जनसङ्ख्याले नेपाली भाषा बोल्छन्, त्यसको आधाभन्दा बढी जनसङ्ख्याले भारतमा नेपाली भाषामै आफ्नो घर-व्यवहार चलाउँछन् । पूर्वोत्तर भारतका असम, मेघालय, मणिपुर, नागाल्याण्ड, पश्चिम बंगाल र सिक्किम जस्ता राज्यहरुमा झण्डै ५० लाख नेपालीभाषीको बसोबास छ । सिक्किम राज्यको आधिकारिक भाषा पनि नेपाली नै हो ।
दार्जीलिङ र डुबर्स क्षेत्रलाई गोर्खाल्याण्ड राज्यको मान्यता दिन आन्दोलन भैरहनुका पछाडि पनि त्यहाँका ८० प्रतिशत जनता नेपालीभाषी हुनुले काम गरिरहेको छ । भारतीय सेनाले नेपालीभाषी गोर्खाहरूको एउटा भिन्दै रेजिमेन्ट पनि बनाएको छ । बाँकी राज्यहरुमा पनि ६९ लाख नेपाली भाषा बोल्नेहरुको संख्या भएको आधिकारिक तथ्याङक रेकर्ड भएको छ । भारतका छिमेकी देश भुटान र बर्मामा पनि नेपाली भाषीहरुका ठूला ठूला गाउँहरु नै छन् ।
यति ठूलो क्षेत्र र सङ्ख्यामा नेपाली भाषाको प्रचलन हुनुकै कारणले भारतमा नेपाली भाषा-साहित्यका ठूला ठूला आन्दोलन भइरहेका छन् । नेपाली भाषामा लेखेर विश्वप्रशिद्ध हुने लेखकहरु पनि जन्मिएका छन् । ती मध्ये एक हुन्, डा.राजेन्द्र भण्डारी । सिक्किम महाविद्यालयमा ३० वर्ष प्राध्यापन गरेर हालै सेवानिबृत्त भएका भण्डारी नेपाली भाषामा लेखेर विश्व घुम्ने थोरै भारतीयमध्ये एक मानिन्छन् । ५ कविता सङ्ग्रह र केही समाचालोचना प्रकाशन गरेका भण्डारी भारतमा बसेर नेपाली भाषा-साहित्यमा विद्यावारिधि गर्ने थोरै लेखक मध्ये एक हुन् ।
दार्जेलिङे चिन्तक इन्द्रबहादुर राईले नेपाली भाषा साहित्यलाई दिएको उचाइ पच्छ्याइ रहेका भण्डारी नेपालभित्रको नेपाली साहित्यलाई नजिकबाट नियाल्ने समालोचक हुन् । कालेबुङ निवासी भण्डारी केही वर्षअघि विश्वप्रसिद्ध नोबेल पुरस्कारको मनोनयन सूचीमा परेपछि काठमाडौंका पढन्तेको चासोमा परेका थिए ।
यसपटक बिर्मामोडमा भएको ‘मेतेरी साहित्यिक सम्मेलन’का लागि पूर्वीनेपाल छिरेका भण्डारीलाई हामीले भेट्यौं र भारतमा रहेका नेपाली भाषीहरुको भाषा साहित्य एवं त्यहाँका लेखनीबारे लामो कुराकानी गर्यौं ।
कुराकानीका क्रममा उनले भाषा साहित्य र भारतीय नेपालीका सबै किसिमका जानकारी र अप्ठ्याराहरु सरलरुपमा प्रस्तुत गरे । अन्तरवार्ताका क्रममा आफू भारतीय भए पनि आफ्नो पृतृदेश र शीर नेपाल भएकोमा गौरव पनि गरिरहे ।
यद्यपि भाषासँगै जोडिएका गोर्खाल्याण्ड आन्दोलनका विषयमा भने उनी प्रायः मौन रहन चाहे । यसका कारणबारे उनी भन्छन्, ‘गोर्खाल्याण्ड आन्दोलन नेपालीभाषीहरुको भारतीय आन्दोलन हो । यो हाम्रो आन्दोलन भएका कारण नेपालका नेपालीभाषीहरु मुछिनु हुँदैन । तर, पनि यससम्बन्धी बताउन मिल्ने र मैले बुझेका कुरा बताउनु आफ्नो कर्तब्य ठान्छु ।’
प्रस्तुत छ- भण्डारीसँग भारतीय नेपाली, भारतमा लेखिरहेका नेपाली साहित्य र भारतका नेपालीहरुले नेपालमा भइरहेको भाषा र साहित्यलाई हेर्ने दृष्टिकोणसम्बन्धी कुराकानीको मुख्य अंश –
भारतमा भएका नेपालीभाषीका विषयमा नेपालभित्र भिन्न भिन्न दृष्टिकोणहरु छन् । विशेष गरी उनीहरु भारतमा भए पनि किन आफू नेपाली भएको दावी गर्छन् ? किन भानु दिवस मनाउँछन् र उनीहरुको आधिकारिक भूमि कुन हो ? आदि विषयमा । यस विषयमा तपाईंहरुको आधिकारिक भनाइ के हो ?
तपाईंले साधेको यो गम्भीर प्रश्न हो र यसले केही ऐतिहासिक दस्तावेजले के भन्छ भनेर त्यसको सुचना माग गर्छ । सुरुमा म के भन्न चाहन्छु भने नेपाल भन्ने देश कहिले बनेको हो ? त्यही दुई सय ५० वर्षअघि होइन ? त्यसको धेरै शताब्दीअघि नै नेपाली भाषीहरु अस्तत्वमा आइसकेका थिए । उनीहरुको आफ्नै संस्कृति र परम्परा थियो । यस अर्थमा नेपाल एकीकरण हुनुअघि नै राई, लिम्बु, मगर, तामाङ, ब्राम्हण, क्षेत्री जस्ता नेपाली (दुई भिन्न भाषी भेट हुँदा नेपाली बोल्ने जाति) थिए ।
नेपालीभाषीहरु घुमन्ते जाति भएकाले उनीहरु विभिन्न कारणले भिन्न भिन्न भुगोलमा पुगे । उनीहरु जहाँ जहाँ पुगे, विभिन्न कारणले ती भिन्न-भिन्न देशको सीमानाभित्र परे पनि उनीहरु भाषाका हिसावले, जातिका हिसावले नेपाली भए । नेपालीभाषी हुने वित्तिकै नेपाली नागरिक बुझ्ने भूल गर्नु हुँदैन । दार्जीलिङ र त्यस वरपर नेपाली भाषा बोल्ने हामी सबै भारतीय गोर्खा जातिभित्र पर्दछौं ।
पूर्वोत्तर भारत, जहाँ नेपालीभाषीहरूको सघन बसोबास छ । त्यहाँ को इतिहास कस्तो थियो ?
इस्वी सन् १६४२ अघिसम्म नेपालको अरुण उपत्यकादेखि सिक्किमसम्म (विहारको केही भुभागदेखि पश्चिम बंगालका मुख्य भाग पनि) लिम्बुवानका नामले चिनिन्थ्यो । लिम्बुवान भनिए पनि यहाँ मगर, गुरुङ् ल्याप्चाको पनि बाक्लो बसोबास थियो । लिम्बुवान किन भनियो भने राजा यमोहाङ लिम्बु थिए र यिनको राजधानी सिक्किम थियो ।
तर, १६४२ मा तिब्बती लडाकु फुन्सोग नामाग्यालले सिक्किममा आफ्नो अधिकार जमाए र यो क्षेत्रबाट राजश्व असुल उपर गर्न थाले । त्यसपछि यो भूमि तिब्बती अधिकारभित्र पर्न गयो । नामाग्याल बंशले सिक्किमबाट यी सम्पूर्ण क्षेत्रमा ३ सय ३३ वर्ष शासन गर्यो । त्यो बेला यो क्षेत्रमा सहायक भाषाका रुपमा थोरै जनसङ्ख्याले नेपाली बोल्ने गर्थे भन्ने अध्ययनहरुले देखाएको छ ।
सन् १७०६ मा भुटानले (त्योबेला भोटाङ भनिन्थ्यो) यो क्षेत्रमा आक्रमण गर्यो र नामाग्यालले गरिरहेको राज्य आफ्नो हातमा लियो । भोटाङ्ले केही वर्ष उसले जितेका सबै भूभागमा राज्य गरे पनि सन् १७१४ मा सिक्किम, कालुबुङ् र डुबर्स क्षेत्र भने आफै राख्यो । यसको अर्थ यी क्षेत्रमा भुटानी प्रभुत्व थियो ।
उता नेपालबाट एकीकरण हुँदै जाँदा गोर्खाली सेनाले दार्जीलिङसहित टिष्टासम्म जित्दै ल्यायो । तर सिक्किमको मुख्य भाग, कालेबुङ र डुबर्स क्षेत्र भने गोर्खाली सेनाले चलाएन । किनभने त्यो बेलाको शक्तिशाली भुटानलाई नेपालले दुश्मनी मोल्न चाहेको देखिँदैन । यही कारण उसले टिष्टामा सिमा बाँधेर नेपाल एकीकरण पूर्णता दिएको देखिन्छ ।
यी सबै कुराबाट के बुझ्नुपर्छ भने अहिले गोर्खाहरू रहेको भारतीय क्षेत्र मध्ये थोरै क्षेत्र मात्रै केही समयका लागि नेपालको भूभाग थियो । तर, नेपालमा यो क्षेत्र गाभिनुअघि नै नेपालीभाषीहरू यहाँ आएर बसिरहेका थिए । सायद यही कारण नेपाललाई यो भूमि जित्न सजिलो भयो । नेपालले ती क्षेत्र जितेपछि केही गोर्खाली सेना र उनीहरुसँगै आएका नेपालीभाषी थपिए । पछि इन्ट इन्डिया कम्पनीसँग नेपालले हार बेहोर्दा सुगौली सन्धी हुन पुग्यो । यो सन्धीसँगै धेरै भूमि नेपालले गुमायो, त्यसमध्ये यो क्षेत्र पनि एक हो ।
तैपनि यो क्षेत्रमा नेपालीहरुको यति ठूलो घनत्व हुनु आफैमा अनौठो कुरा हो । यो कसरी सम्भव भयो होला ?
दोस्रोपल्ट जब यो क्षेत्र नेपालको अधीनमा आयो, स्वतः एकथरी नेपालीहरु नेपाली सेनाको साथमा आए । उनीहरुका आफन्त र परिवारहरु पनि अरु आफन्त र परिवार खोज्दै आए र यतैका भए । सुगौली सन्धीपछि नेपाली सेना फर्किए पनि यहाँ आएका अफन्तजन यतै बसे । किनभने नेपालभन्दा यहाँ केही सुविधा र आम्दानीको स्रोत थियो । धेरैजसोलाई अपठित किसान भएकाले यो भूमि नेपालले गुमाइसक्यो भन्न जानकारी पनि उनीहरुलाई धेरै समयसम्म भएन ।यहाँ तीन तरिकाबाट नेपालीभाषीको प्रवेश भएको देखिन्छ ।
पहिलो पटक सन् १७०६ मा भुटानले यो क्षेत्र आफ्नो हातमा लिएपछि उसलाई पहाडी क्षेत्रमा खेती गर्ने दरिला कामदार चाहियो । उसले गोर्खाका शासक राम शाहलाई खेती गर्ने मानिस पठाइदिन आग्रह गर्यो । यस्ता कामदारलाई बसोबासको सुविधासहित आकर्षक जग्गा दिने प्रस्ताव राखिएको बुझिन्छ । किनभने कालेबुङ् निकै उब्जनी क्षेत्र थियो र नेपाली जाति सुरुदेखि नै पहाडी खेतीमा निपूर्ण थिए ।
तेस्रोपल्ट जब इस्ट इन्डिया कम्पनीले १८४० मा चिया खेती सुरु गर्यो, त्यसका लागि पनि उसलाई ठूलो मात्रामा कामदार चाहियो । यसका लागि राणा सरकारसँग नेपाली कामदार पठाइदिन आग्रह गरिएको बुझिन्छ । राणाले अनुमति दिएपछि नेपालका पहाडबाट ठूलो संख्यामा चिया रोप्न नेपालीभाषी दार्जीलिङ क्षेत्रमा बसाइँ सरेको बुझिएको छ ।
त्यसपछि त चियाको बोटमा सुन फल्छ भन्ने भनाइ पहाडभरि फैलियो । ठूलो संख्यामा गोर्खाहरू सुविधा खोज्दै बसाइँ सरे । त्यसपछि त यता सर्ने लहर नै चल्यो । धेरै यतै बसे, थोरै फर्किए । जसरी आज मलेसिया कतार रोजागरीको आकर्षक थलो बनेको छ, ठीक त्यस्तै थियो गोर्खाल्याण्ड । फरक के थियो भने मलेसिया र कतार गएकाहरु सबै फर्कन्छन्, यहाँ भने बस्न चाहनेहरुले फर्कनै पर्ने बाध्यता थिएन । यो क्षेत्र भारतको हिस्सा हुनुअघि नै इस्ट इन्डिया सरकारकै पालमा दार्जेलिङ् पहाड नेपालीभाषीले भरिभराउ भैसकेका थिए । अहिले गोर्खाल्याण्ड भनिएका जग्गामा २० लाख जति नेपाली जाति भएको अनुमान गरिएको छ ।
मेरा पूर्खा पनि करिब २ सय २० वर्षअघि तेह्रथुमबाट तत्कालीन भुटानको अधीनमा रहेको कालेबुङ्मा खेतीका लागि आएको बुझेको छु । यसरी फरक फरक समयमा लाखौं नेपालीभाषी भारतभरि फैलिए । तर, पूर्वोत्तर भारतमा बढी आए । त्यसैले यो क्षेत्रमा ५० लाख भन्दा बढी नेपाली भाषीहरुको बसोबास छ । किनभने यतातिर उनीहरुका आफन्त र छिमेकीहरु धेरै थिए ।
यति ठूलो नेपाली जाति भए पनि तपाईंहरुले माग गरेको गोर्खाल्याण्ड राज्य भारत सरकारले दिन किन गाह्रो मानेको होला ? भारतले यहाँका नेपालीप्रति अविश्वास गर्नुको कारण के होला ?
नेपालीभाषीलाई भारतले अविश्वास गर्छ भन्ने मलाई लाग्दैन । सीमानाजस्तो संवेदनशील क्षेत्रमा हामीलाई खटाउने सरकारले अविश्वास गर्छ भन्ने कुरा हामीले सोचेकै छैनौं । गोर्खाल्याण्ड प्राप्त नहुनुमा मुख्य तीन कुराले भुमिका खेलेको म मान्दछु ।
पहिलो, भारत सरकारको नजरमा यो निकै सानो क्षेत्र हो । नेपालभन्दा ठूला क्षेत्रफल भएका राज्यहरूको तुलनामा यो सानो क्षेत्रलाई छुट्टै राज्यका रूपमा स्वीकृति दिनु आर्थिक र अन्य विभिन्न कारणले सम्भव हुँदैन भन्ने केन्द्रीय सरकारको तर्क छ । हुन त गोर्खाल्याण्ड भन्दा पनि सानो क्षेत्रफल भएका देश नै विश्वमा धेरै छन् । तर क्षेत्रफलका विषयलाई लिएर केन्द्र सरकार सकारात्मक हुन सकेको छैन ।
दोस्रो, केन्द्र सरकारका लागि यो राजनीतिक मुद्दा हो । राजनीतिमा लेनदेन र फाइदा-बेफाइदा पनि हेरिन्छ । मतलव, आर्थिक, सामाजिक र रणनीतिक कुनै पनि कुराले उसलाई गोर्खाल्याण्ड दिनु केन्द्र सरकार र अन्य ठूला दलले फाइदा महसुस गरेको छैन । दिल्लीमा हाम्रा मागप्रति कुनै विमति छैन, अविश्वास पनि छैन । तर कुनै पनि दलले गोर्खाल्याण्डलाई साथ दिँदा राजनीतिक रुपमा आफूलाई फाइदा छैन । बरु केन्द्रमा जसले यो निर्णय गर्यो, उसले बंगालका सबै विश्वासी मानिसहरुको सम्बन्ध गुमाउन पुग्छ । गोर्खाल्याण्ड क्षेत्रमा जम्मा एकजना सांसद केन्द्रमा पुग्छ, तर पश्चिम बंगालले २२ सांसद पठाउँछ । गोर्खाल्याण्डलाई साथ दिनुको अर्थ हो, दीर्घकालीनरुपमा पश्चिम बंगालका २२ सांसद गुमाउनु । यो जोखिम कुनै पनि दलले लिन चाहँदैनन् ।
तेस्रो, तर मुख्य कारण, बंगाल सरकार नेपालीभाषीलाई छुट्टै राज्य दिँदा उसले पर्यटन, चिया र काठबाट कमाइरहेको आम्दानी गुमाउन पुग्छ । बंगालीले दार्जीलिङ क्षेत्रलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । हिजोसम्म उनीहरुसँग मागेर बसिरहेका नेपालीभाषी आफ्नै खुट्टामा उभिएको देख्न बंगाल सरकारले चाहिरहेका छैन । छुट्टै राज्य बाहेक अरु कुरा मान्न तयार छौं भनेर बंगाल सरकारले हरेकपटक एक-एकवटा चकलेट दिएर अल्मल्याउने गरेको छ ।
सबैभन्दा पहिले त हाम्रो भाषा मासिँदैछ । नेपालमा नेपाली भाषा प्रवर्द्धनका लागि एकेडेमी, शिक्षा तथा संस्कृति मन्त्रालय जस्ता संस्थाहरु कति छन्, त्यसको हिसाब लेखक-कविहरुले अनुभव गरेकै छन् । हामीकहाँ चाहिँ भएको भाषालाई जसरी पनि कमजोर बनाउने खेल चलिरहेका छन् ।
छुट्टै राज्य नहुँदा गोर्खाल्याण्डलाई के-के घाटा भएको छ ?
उदाहरणका लागि हिजो लेप्चाहरु पनि गोर्खाल्याण्ड मागमा सहमत थिए । त्यतिमात्र होइन, यहाँका बंगाली, मरवाडी मधेसी सबै गोर्खाल्याण्ड चाहन्छन् । अहिले बंगाल सरकारले लेप्चा जातिलाई तिमीहरु गोर्खाली भन्दा फरक हौ भनेर उनीहरुको भाषा प्रवर्द्धनमा लगानी गरिरहेको छ । फुटाउने यो रणनीतिका कारण नेपालका भिन्न भिन्न जातमा भाषाको आन्दोलन हुन थाल्यो, ठीक त्यही नीति यहाँ पनि आउन थालेको छ ।
झट्ट हेर्दा अरु भाषा र संस्कृतिको माया गरेको जस्तो देखिए पनि अन्ततः दीर्घकालीन रुपमा सबै भाषा नामेट पार्न खेल मात्रै हो । त्यसको संकेत देखिन थालेको छ ।
अहिले भारतीय नेपालीभाषीहरुको मुख्य चिन्ता के हो ?
हामी राई, लिम्बु, मगर, नेवार, बाहुन, बंगाली, मधेसी जो भए पनि गोर्खा हौं । किनभने यहाँ सत प्रतिशतले नेपाली बुझ्छन् । ८० प्रतिशतको मातृभाषा नेपाली हो । हामी सबैका एकताका प्रतीक भानुभक्त थिए र हुन् । सानैदेखि हामीले दसैं, तिहार, भारतीय स्वतन्त्रता दिवशजस्तै भानु जयन्तीलाई महत्व दिएको देख्यौं । झण्डै सय वर्षदेखि सबै नेपाली भाषीले भानु जयन्ती मनाउन चन्दा दिने गर्छन् । अहिले पनि हरेक विद्यालयमा भानु जयन्तीका लागि हरेक विद्यार्थीले एक एक रुपैया छुट्याउँछन् । यसले पर्वकै रुप लिएका कारण दुई दिन विद्यालय र एक दिन सरकारी विदा हुन्छ र हामी भानुभक्तको नाममा बजार परिक्रमा गर्छौ ।
हामीलाई जोड्ने र नेपालीपन बुझाउने जम्मा यही भाषा हो । यो भाषा हराउनेवित्तिकै सम्पूर्ण जाति नै हराउँछ । किनभने भाषासँगै धर्म, संस्कृति, परम्परा सबै रहाउँछ । हाम्रो मुख्य चिन्ता यही हो ।
नेपालतिर फर्केर हेर्दा के देख्नुहुन्छ ?
तपाईंहरु भाग्यमानी हुनुहुन्छ, किनभने तपाईंको आफ्नो राज्य मात्र होइन, देश नै छ । तर नेपालीहरुले यसको महत्व बुझे जस्तो लाग्दैन । भएको भाषा बचाउन छाडेर अनेक राजनीतिक-समाजिक लफडामा फसेको देख्दा बहुतै चिन्ता लाग्छ । उता लडाईं हुन्छ, यता हाम्रो चित्त दुख्छ । एउटै नेपाली संस्कृति, भाषा र परम्परामा पनि झगडा भएको देख्दा निको लाग्दैन । यो तपाईहरुको आन्तरिक मामला हो । तर, हामीकहाँ मर्दा पशुपतितिर टाउको फर्काउने गर्छौं । हाम्रो पूर्खाको देश भन्छौं । त्यसलाई हामी हाम्रो शीर मान्छौं ।
हाम्रो चिन्ता के हो भन्ने बुझ्न युरोप, अमेरिका र जापान पुगेका नेपालीलाई सोध्दा थाहा हुन्छ । म धेरैपटक विदेश जाँदा त्यहाँका नेपालीसँग भेट्दा थाहा पाउँछु, देश छाडेपछि बल्ल आफ्नो भाषा, संस्कृति र परम्पराको महत्व उहाँहरुले बुझ्नु भएको छ । नेपालजस्तो विविधता भएको देश कतै छैन । तपाई जुनसुकै जातको किन नहुनुहोस् हामी नेपाली जाति हौं । हामीलाई भाषाले जोडेको छ । यो कुरा देश भएका र देशभित्र बसेका नेपालीले बुझेजस्तो लाग्दैन । देश नभएका नेपालीभाषी भुटानीहरुले यसको पीडा बढी महसुस गर्छन् । जब नेपाली भएको महत्व नेपालीले बुझ्छन्, धेरै ढिला हुन्छ कि भन्ने चिन्ता हामीलाई लाग्ने गरेको छ ।
तपाईं त कवि पनि र नेपाली भाषाको प्राध्यापक पनि । नेपालमा लेखिने साहित्य र यहाँ लेखिने साहित्यमा के फरक छ ?
संसारभरि नै साहित्यले मानवीय संवेदनका कुरा लेख्छ । संवेदनाहरु उही हुन् । त्यहाँभन्दा थप कुरा यहाँ हामी नेपाली जाति र भाषा कसरी बचाउने भन्ने चिन्ता गछार्ंै र लेख्छौं । गोर्खामाथि भएका अन्यायका गाथा र हाम्रा प्रगतिका बाधकका रुपमा रहेका अनेक कानुनका विरुद्ध लेख्छौं ।
तपाई साहित्यमा कसरी लाग्नुभयो ? सुनेअनुसार तपाईं त बैंकर हुनुहुन्थ्यो रे …
हो । सिक्किम स्टेट बैंकको अधिकृत स्तरको जागीरे थिएँ । तर, मभित्र भाषा र संस्कृतिको मात्र चिन्ता थियो । पैसाको मुठो खेलाएर बस्न मन लागेन । रुसी भाषाका नेपालीमा अनुवाद भएका प्रगतिवादी साहित्यले सुरुमा प्रभाव पारे । त्यस्तै लेखक हुन्छु भन्ने लाग्न थाल्यो । पछि प्रगतिवादी साहित्यलाई अर्को कोणबाट हेर्न थालेपछि म साहित्यमा झन् झन् गहिरिँदै गएँ । मलाई लाग्यो, साहित्यमा धेरै रस छ । यता बैंकरका रुपमा मेरो राम्रो भविश्य भएकाले परिवारले मलाई भाग्यमानी मानिरहेका थिए । तर, अचानक जागीर छाडेँ । बदलामा परिवारसँग दुश्मनी पनि मोलेँ । त्यसयता आजीवन नेपाली भाषा र साहित्यको सेवा गरिरहेको छु ।
विवाह गर्न पनि बिर्सनुभएछ, हैन ?
बैंकको जागिर छाडेर लोप हुने सम्भावना रहेको भाषाको सेवा गर्छु भन्दाभन्दै विवाहको उमेर चिप्लँदैछ भन्ने कुरा नै बिर्सिएँछु । अब त विवाहको उमेर पनि रहेन । अब विवाहको चाहाना त छैन । तर, साथीजस्तो कोही होस् भन्ने लाग्दोरहेछ ।
तपाई नेपाली साहित्यको अध्येता पनि । समाकालीन साहित्यमा दूरगामी प्रभाव पार्ने कृति लेखिएका छन् ? कि ‘छि यो लेखेको’ भन्नेखालका मात्रै कृति देख्नुहन्छ ?
नेपाली साहित्यमा देवकोटा, सम, विश्वेश्वरजस्ता स्तरीय लेखक थिए भन्दा खुसी लाग्छ । देवकोटाका निबन्ध आज पढ्दा पनि म चकित हुन्छु । आजका नाम चलेका लेखक जति छन्, उनीहरुका कृति पढ्दा ‘छि’ भन्नुपर्नेखालका छैनन् भनेर ढुक्कले भन्न सक्छु । तर, आफ्नै देशको भाषामा लेख्दा पनि जुन स्तरका कृति जन्मनु पर्दथ्यो, त्यो जन्मन सकेको छैन । नयनराज पाण्डेको लू, ध्रुवचन्द्र गौतमका केही कृति, बुद्धिसागरको ‘कर्नाली ब्लुज’ र नारायण ढकालका धेरैजसो कृति स्तरीय लाग्छन् ।
यता भारतीय नेपालीहरु मध्ये इन्द्रबहादुर राईको ‘आज रमिता छ’, पच्छिन्द्र प्रधानको ‘नीलकण्ठ’ र ‘आरोहण’, असित राईको ‘नयाँ क्षितिज, विध्या सुब्बाको ‘अथाह’ निकै राम्रा कृति हुन् । यस्ता कृतिहरु पढ्दा नेपाली भाषाका कृतिहरुलाई स्तरीय नै मान्नुपर्छ ।
तैपनि एउटा कुरा भन्नैपर्छ, नेपाल सरकारले भाषा र साहित्यका लागि धेरै लगानी नगरेको होला तर अघि बढ्न चाहाने लेखक-कविलाई रोकेको छैन । यस्ते अनुकूल वातावरणमा नेपालभित्रका साहित्यमा जुन स्तरका कृति जन्मनु पर्ने हो, त्यो जन्मन सकेको छैन । यो त्यति खुसीको कुरा होइन ।
पछिल्लो समय तपाई प्रगतिवादी साहित्यप्रति विमति राख्न थाल्नुभएको छ, कारण के होला ?
मानिसको अन्तिम नियति नै मुक्ति हो । यसका लागि सुरुमा प्रगतिवादी साहित्यले आकर्षित गर्छ । तर, यसले तत्कालका कुरा मात्र सम्बोधन गर्छ भन्ने कुरा अध्ययन गर्दै गएपछि थाहा भयो । पछिल्लो सयम यसले अन्तिम मुक्ति दिन सक्दैन भन्ने निष्कर्षमा पुगेको छु । खासमा प्रगतिवादी साहित्य भनेको स्थायी औषधि होइन, दुःखलाई क्षणिक कम गर्ने ‘पेनकिलर’ जस्तो औषधि मात्रै हो । प्रगतिवादी साहित्यले समग्र साहित्यलाइ बोक्न सक्दैन भन्ने कुरा बोध भएपछि अरू चिन्तन पनि त्यही स्तरमा अघि बढ्नुपर्छ भन्ने लाग्न थालेको छ । विमति नभनेर प्रगतिवादी साहित्य अपूर्ण छ भन्नु मनासिव होला ।
नेपाली भाषामा लेखेरै विश्व भ्रमण गरिरहनुभएको छ । कविताले तपाईंको जीवनलाई कति सहज र कति दुःख दिएको छ ?
विश्व यात्रा नै भन्नु अलि अतिशयोक्ति होला । एकाध देश घुम्ने मौका पाएको छु । विश्वका ठूला मञ्चमा नेपाली साहित्यका कुरा गर्ने अवसर पाएको छु । जहाँसम्म जीवनलाई कविताले कति सहज बनायो भन्ने प्रश्न छ, पक्कै सहज बनाएको छ । मेरी संगीनी, प्रेमीका, श्रीमती र बालबच्चा भन्नु नै कविता हुन् । कविता मेरो दुःखहरुमा कहिले मल्हम बनेको छ र कहिले रुमाल । कविता आराधना गरेकै कारण मैले जीवनमा कुनै कुरासँग सम्झौता गर्नुपरेन । कविता यात्रा गरेर म बडो शान्तिको अनुभव गरिरहन्छु ।
प्रतिक्रिया 4