Comments Add Comment

भारत-पाकिस्तानवीच तनाव बढ्यो, नेपाललाई के असर पर्ला ?

दबावमा मोदी सरकार, भारतले अब के गर्ला ?

४ फागुन, काठमाडौं । भारत प्रशासित कास्मिरको पुलवामा जिल्लामा ४४ भारतीय सैनिकको ज्यान जाने गरी बिहीबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानवीच तनाव बढेको छ । दुई देशवीच तनाव गहिरिँदै जाँदा त्यसको बाछिटा नेपाल लगायतका साना छिमेकी देशमा समेत पर्न सक्ने खतरा देखिएको छ ।

पुलवामा बिस्फोटको जिम्मेवारी पाकिस्तानी चरमपन्थी संगठन जैश-ए- मोहम्मदले लिइसकेको छ । तर, यसमा पाकिस्तान सरकारको समेत हात रहेको भन्दै भारतले यो आक्रमणको बदला लिई छाड्ने बताएको छ ।

पाकिस्तानले चाहिँ आतंकवादीले गरेको आक्रमणमा पाकिस्तान सरकारलाई निराधार दोष लगाइएको भन्दै आपत्ति प्रकट जनाएको छ । घटना दुःख भएता पनि पाकिस्तानमाथि भारतले दोष लगाउनु आपत्तिजनक रहेको पाकिस्तानको तर्क छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर भारतीय सेनाको दुःखद निधनप्रति गहिरो दुःख प्रकट गरिसकेका छन् । यो घटनामा नेपाल सरकार भारतको साथमा रहेको प्रधानमन्त्री ओलीले मोदीलाई स्पष्ट पारिसकेका छन् ।

पुलवामा बिस्फोटको घटनापछि भारत र पाकिस्तानवीचको सम्बन्धमा तनाव त आएको छ नै, यो क्षेत्रीय तनावमा अमेरिका र चीनसमेत तानिन सक्ने भारतीय मिडियाको प्रस्तुतीबाट स्पष्ट हुन्छ । भारतीय मिडियाहरुले पाकिस्तानलाई चीनले सघाएको र जैश-ए-मोहम्मदका नेता अजरलाई चीनको साथ रहेको जस्ता आरोप प्रत्यारोप सुरु गरिसकेका छन् । यो घटनामा चीन सरकारले नबोलेको भारतीय मिडियाहरुको आरोप छ । यद्यपि चिनियाँ विदेश मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा यस घटनाप्रति दुःख प्रकट गरिसकेको छ ।

आक्रोशित भारतलाई अमेरिकाको साथ

अब भारत र पाकिस्तानका दुरदर्शी नेताहरु नरेन्द्र मोदी र इमरान खानले कास्मिरको समस्या हल गरेर भावी पुस्तालाई शान्तिको स्वास फेेर्ने विकल्पको पनि खोजी गर्ने हो कि ? यो प्रश्न सबैभन्दा अहम बनेको छ अहिले

भारतीय लगायत विभिन्न अन्तरराष्ट्रिय समाचार संस्थाहरुले जनाएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानविरुद्धको कारवाहीमा समर्थन जुटाउन देशभित्रका अन्य पार्टीहरुलाई बैठक बोलाएका छन् । शनिबार सो सर्वदलीय बैठकको नेतृत्व गृहमन्त्री राजनाथ सिंहले गरे ।

पुलवामा घटनामा प्रमुख विपक्षी भारतीय कांग्रेसलगायत सबै पार्टीहरु मोदी सरकारप्रति एकसाथ देखिएका छन् । प्रधानमन्त्री मोदीले यस घटनामा पाकिस्तानलाई कडा जवाफ दिने बताइसकेका छन् । उनले भारतीय सेना कारवाहीका लागि स्वतन्त्र रहेको बताइसकेका छन् ।

यसैवीच भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले शुक्रबार साँझ अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनसँग टेलिफोन सम्वाद गरेका छन् ।

पाकिस्तानी आतंकवादी समूहद्वारा कास्मिरको पुलवामा जिल्लामा भएको हमलाको भत्सर्ना एवं समवेदना प्रकट गर्न अमेरिकी पक्षद्वारा सम्पर्क प्रारम्भ गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी सुरक्षा सल्लाहकार बोल्टनले सीमा पार आतंकवादविरुद्ध भारतको आत्मरक्षाको अधिकारलाई अमेरिकाले समर्थन गर्ने बताएको भारतीय विदेश मन्त्रालयको दाबी छ ।

भारतीय र अमेरिकी अधिकारीहरुको सम्वादमा आतंकवाद विरुद्ध मिलेर काम गर्न दुबै देश सहमति भएको भारतीय पक्षको भनाइ छ । अन्तरराष्ट्रिय आतंकवादी नेता मसूद अजहरमाथिको कारवाहीमा बाधा नपुर्‍याउन पाकिस्तानलाई संयुक्त राष्ट्र संघका प्रस्ताव स्मरण गराउने बारेमा पनि अमेरिका र भारत दुबैले प्रतिवद्धता जनाएको भारतीय विदेश मन्त्रालयको प्रेस वक्तव्यमा उल्लेख छ ।

पाकिस्तान सरकारले जैश- ए- मोहम्मद नामक आतंवादी संगठन र उनका नेता मसूद अजहरलाई उसको देशमा खुलेआम गतिविधि गर्न दिइरहेको भारतीय पक्षको आरोप छ ।

पाकिस्तान भन्छ- चुनावअघि ‘मिस एडभेन्चर’ नहोस्

पुलवामा भएको आतंकवादी हमलालगत्तै भारतीय पक्षले पाकिस्तान सरकारलाई दोष लगाउन सुरु गरेपछि पाकिस्तान सरकार पनि यसको प्रतिरक्षामा उत्रिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको छ कि पाकिस्तान कुनै पनि हिंसात्मक क्रियाकलापको पक्षमा छैन । साथै उसले पुलवामा बिस्फोटमा पाकिस्तानमाथि निराधार आरोप लगाइएको भन्दै भारतीय मिडिया र भारतीय पक्षको आरोपलाई खारेज गरिदिएको छ ।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले टि्वटरमा सार्वजनिक गरेको भिडियो सन्देशमा भनेका छन्, ‘हिंसा न हाम्रो बाटो होइन । मलाई थोरै अफसोस यो भएको छ कि हिस्दुस्तानले विना अनुसन्धान पाकिस्तानमाथि आरोप लगाएको छ । पाकिस्तानमाथि आरोप लगाउन एक मिनेटको कुरा हो, लगाइदिनोस्, जो मानिसहरु मरेका छन्, उनीहरुमाथि दुःख व्यक्त गर्नैपर्छ । तर दुनियाँलाई थाहा छ कास्मिरमा के भइरहेको छ, मानवअधिकार उल्लंघन भइरहेको छ । बलात्कार भइरहेको छ, त्यसको रिएक्सन पनि आउन सक्छ ।’

भारतमा चुनाव आउन लागेको र त्यसैक्रममा पाकिस्तानमाथि उसले गलत रुप अपनाउन सक्ने पाकिस्तानी विदेशमन्त्रीको आरोप छ । उनले भनेका छन्, ‘चुनाव पहिले कुनै ‘मिस एडभेन्चर’ मलाई लागिरहेको छ । कतै यस्तो हुने छ, भलै नहोस् ।

भारतीय सुरक्षा सल्लाहकार डोभलले अमेरिकी समकक्षीसँग टेलिफोन वार्ता गरिरहेका बेला अमेरिकी संसदको १० सदस्यीय टोली शुक्रबार पाकिस्तानमै थियो । अमेरिकी टोलीसँग पाकिस्तानी विदेशमन्त्री कुरेशीले पनि भेटवार्ता गरे ।

त्यसक्रममा दक्षिण एशियाको शान्तिका लागि दुई देशले मिलेर अघि बढ्ने प्रतिवद्धता जनाइएको पाकिस्तानी विदेश मन्त्रालयलाई उधृत गर्दै त्यहाँका सञ्चारमाध्यमले समाचार लेखेका छन् । भ्रमणका क्रममा अमेरिकी सिनेटरहरु पाकिस्तानको आतंकवादविरोधी संघर्षबाट प्रभावित बनेको पाकिस्तानी मिडियाको दाबी छ ।

पाकिस्तानी विदेशमन्त्रीका अनुसार भारतसँग दुई विकल्प छन् । एक- आगामी चुनावलाई हेरेर आफ्नो पोलिसी बनाउने वा आफ्नो मुलुकको हित र क्षेत्रीय स्थायित्वका बारेमा सोच्ने । पाकिस्तानी मन्त्रीले भनेका छन्- ‘आरोप नलगाइयोस् । यदि भारतसँग कुनै प्रमाण छ भने हामीलाई सेयर गरियोस् । हामी इमान्दारितापूर्वक अनुसन्धान गर्छौं । हामी झगडाको पक्षमा छैनौं ।’
यसैवीच पाकिस्तानी मिडियाका अनुसार शनिबार पाकिस्तानको बलुचिस्तान प्रान्तमा दुई पाकिस्तानी सुरक्षाकर्मीको हत्या भएको छ । बलुचिस्तानको लोरलाई बजारमा फ्रन्टियर्स कप्सका दुई जवानको हत्या भएको हो । गोली प्रहार गरेर एक व्यक्ति भागेको पाकिस्तानी मिडियाले जनाएका छन् । घटनामा अर्का एक सिभिलियनको पनि मृत्यु भएको छ ।

बलुचिस्तानमा गत जनवरी २९ मा प्रहरी उपहानिरीक्षकको कार्यालयमा आक्रमण हुँदा ६ जनाको मृत्यु भएको पाकिस्तानको दाबी छ ।

चर्को दबावमा मोदी सरकार


पाकिस्तानको भूमिमा बस्दै आएका आतंकवादीहरुले भारतीय सेनामाथि पटकपटक आक्रमण गर्न थालेपछि मोदी सरकार केही गरेर देखाउनुपर्ने चर्को दबावमा परेको छ ।
भारतीय, मिडिया, सामाजिक सञ्जाल र आम नागरिकले आतंकवादीमाथि कडारुपमा प्रस्तुत हुन मोदी सरकारमाथि प्रेसर दिइरहेका छन् । कांग्रेस आई लगायत विपक्षी राजनीतिक दलहरुले पनि सरकारलाई साथ रहेको बताएका छन् ।

भारतमा आम निर्वाचन नजिँदैछ । यो बेलामा आतंकवादी हमला हुँदा पनि सरकारले केही गर्न सकेन भन्ने सन्देश जाने हो कि भन्ने डर सत्तारुढ बीजेपीमा बढेको छ । त्यसैले केही न केही गर्नैपर्ने दबावमा मोदी सरकार पर्न थालेको छ ।

भारतले अब के गर्न सक्छ ?

पुलवामा आक्रमणमा पाकिस्तानको हात रहेको भारतले आरोप लगाइसकेको छ । भलै यो आक्रमणको जिम्मा जैश-ए- मोहम्मदले लिएको अवस्था छ । यो स्थितिमा भारतले सोझै पाकिस्तानमाथि हमला गरिहाल्छ वा अरु नै तरिकाले यो समस्या निम्ट्याइन्छ ? भारतीय मिडियामा आएका विश्लेषणहरु हेर्दा भारत सरकार यतिबेला विभिन्न विकल्पमाथि विचार गरिरहेको छ ।

सन् २०१६ मा पटानकोटमा भएको आतंकवादी हमलापछि भारतले ‘सर्जिकल इस्ट्राइक’ गरेको र चरमपन्थीको अखडा ध्वस्त पारिदिइएको बताएको थियो । भारतीय सेनाको सो कारवाहीपछि आतंककारीमाथिको भारतीय जनताको रोष केही मथ्थर बनेको थियो । तर, यसपटक ठूलो संख्यामा सुरक्षाकर्मीको मृत्यु भएको छ र जनआक्रोश झनै तीव्र देखिएको छ । यो अवस्थामा मोदी सरकारले जनदबावको सामना कसरी गर्छ, त्यो निकै चुनौतीपूर्ण देखिन्छ ।

अब हुन सक्ने सम्भावित बिकल्पमध्ये एउटा, जैश-ए- मोहम्मदका नेता मौलाना अजहर मसूदको गतिविधिमाथि पाकिस्तानले प्रतिबन्ध लगाउने रहेको बताइन थालेको छ ।
भारतका कतिपय विश्लेषकहरुले पाकिस्तान र भारतवीचको सिन्धु जलसन्धी खारेज गरिनुपर्ने बताउन थालेका छन् । भारतले आर्थिक कदम उठाउँदै पाकिस्तानसँग ‘मोस्ट फबर्स नेसन’ को दर्जा फिर्ता लिने निर्णय गरिसकेको छ ।’

भरतले यो घटनापति पाकिस्तानलाई विश्व जगतबाट तथप अलग थलग बनाउनलाई पनि प्रयास गर्ने सम्भावना रहेको जानकारहरुको तर्क छ । यो घटनालाई लिएर भारतले चीनलाई पनि पाकिस्तानसँगको गठजोड कमजोर गराउन प्रयास गर्ने देखिन्छ ।

नेपालमाथि पर्ने असर

भारत र पाकिस्तानवीच तनाव बढ्दै गयो भने यसबाट नेपाललाई पनि फाइदा हुनेछैन । भारत पाकिस्तानवीचको तनावसँगै चनि र भारतको पनि दुरी बढ्ने सम्भावना हुन्छ र त्यसले नेपाललाई घाटा हुन सक्छ ।

भारत र पाकिस्तानवीच तनाव बढ्यो भने नेपालको छिमेकी भारतले नेपलालाई पुर्‍याउँदै आएको आर्थिक सहयोग र विकासको साझेदारीमा समेत असर पर्न गई नेपालको समृद्धिको यात्रा ढीलो हुन सक्छ । र, नेपाल-पाकिस्तान सम्बन्धमा पनि दुरी बढ्न गई नेपाल भारततर्फ बढि ढल्कनुपर्ने अवस्था आउन सक्छ । र, यसले उत्तरी छिमेकसँगको सम्बन्धलाई पनि प्रभाव पार्न सक्छ ।

नेपालले सार्कलाई ब्युँताउनुपर्ने लविङ गर्दै आइरहेको थियो । तर, पुलवामा घटनापछि अब सार्क तत्कालै जाग्ने अवस्था लगभग अन्त्य भएको छ ।

भारत र पाकिस्तानवीच युद्ध वा हानाहान नै भइहाल्ने अवस्था आयो भने भारतमा रहेको गोर्खा सैनिक कारगिलमा जस्तै प्रयोग हुन सक्ने अर्को खतरासमेत बढ्ने छ ।

समग्रतामा दक्षिण एशियामा अशान्ति र हिंसा फैलियो भने त्यसले साना ठूला सबै देशलाई लपेट्ने छ । र, अमेरिकारले पनि दक्षिण एशियामा निम्तो पाउने छ ।

तथापि अहिले देखापरेको भारत-पाकिस्तानवीचको तनावले युद्धको रुप नलिनेमा अधिकांश विश्लेषकहरु ढुक्क देखिन्छन् । किनभने, भारतीय संसदमा भएको आतंकवादी हमला, मुम्बई हमला र पठानकोट, उरी हमलाका समयमा पनि भारत र पाकिस्तानवीच ठूलो तनाव बढेकै हो, तर युद्धको तहसम्म त्यो अघि बढेन । अब पनि दुबै आणविक देशवीच युद्ध नै भइहाल्ने खतरा नआउला भन्ने कामना गरौं ।

आतंकवादसँग मिलेर लडौं

ठूलो संख्यामा आफ्ना सैनिकहरु हताहत हुँदा भारतमा शोक, चिन्ता आक्रोश बढ्नु स्वाभाविकै हो । यसमा हामी सबैले छिमेकीको दुःखमा साथ दिनैपर्छ । तर, पाकिस्तानमा रहेको सत्ताइत्तर संगठनले गरेको आतंकवादी हमलामा भारत र पाकिस्तान दुबै देशका सरकारले आपसमा मिलेर अपराधीको खोजी गर्नु बुद्धिमत्ता हुने देखिन्छ ।

आतंककारीहरु कुनै देशका हुँदैनन् । आतंककारीहरु जुन नश्लका भए पनि सबैका शत्रु हुन् । त्यसैले आतंकवाद विरोधी अभियानमा भारत र पाकिस्तान दुबै देशले मिलेर अघि बढ्नु नै समस्याको सही समाधान हुन सक्छ । एकले अर्को देशलाई निन्दा र गालीमात्रै गरेर समस्या समाधान हुँदैन ।

किनभने यो कुरा विश्वमा छिकेको छैन कि पाकिस्तानले पनि आतंकवादबाट धेरै नै दुःख पाउँदै आइरहेको छ । ऊ पनि आतंकवादबाट पीडित देश हो, जसरी भारत पनि बारम्बार पीडित हुँदै आएको छ ।

तर, अहिलेको घटनामा पाकिस्तानले बढी जिम्मेवार हुन जरुरी छ । पाकिस्तानमा लुकेर बसेका आतंककारीले किन बारम्बार भारतमाथि आक्रमण गरिरहन्छन् ? यो प्रश्न पाकिस्तानतिरै सोझिन्छ र सोझिनुपर्छ । उता पाकिस्तानीहरुले काश्मिरमा आफ्ना जनतामाथि भारतीय सैनिकले अत्याचार गरेको आरोप लगाउँदै आइरहेको अवस्था छ ।

जबसम्म जम्मु काश्मिरमा स्थिरता र शान्ति कायम हुँदैन, तबसम्म यस्ता हिंसाका घटनाबाट मुक्ति मिल्दैन । ६० वर्षदेखि यस्तै हुँदै आइरहेको छ ।

त्यसैले, अब भारत र पाकिस्तानका दुरदर्शी नेताहरु नरेन्द्र मोदी र इमरान खानले कास्मिरको समस्या हल गरेर भावी पुस्तालाई शान्तिको स्वास फेेर्ने विकल्पको पनि खोजी गर्ने हो कि ? यो प्रश्न सबैभन्दा अहम बनेको छ अहिले ।

यो पनि पढ्नुहोस्

पाकिस्तानमाथि कहाँसम्म जान सक्छ भारत ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment