Comments Add Comment

विन्डोज १० का प्रयोगकर्ता ८० करोड पुगे

माइक्रोसफ्ट कम्पनीको पछिल्लो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज १० का प्रयोगकर्ताको संख्या ८० करोड नाघेको छ । माइक्रोसफट्का अनुसार अहिले विश्वभरका ८० करोडभन्दा धेरै डिभाइसमा विन्डोज १० प्रयोग भैरहेको छ ।

यसअनुसार, माइक्रोसफ्ट विन्डोज १० का प्रयोगकर्ताको संख्या १ अर्ब पुर्‍याउने लक्ष्यको नजिक पुगेको हो ।

सन् २०१५ को जुलाईमा रिलिज भएको विन्डोज १० यतिधेरै लोकप्रिय भएको छ कि साढे ३ वर्षभित्रमै यसका ८० करोड प्रयोगकर्ता पुगेका छन् । माइक्रोसफ्टले ३ वर्षभित्रमा विन्डोज १० का प्रयोगकर्ता १० अर्ब पुर्‍याउने लक्ष्य राखेको थियो । तथापि, यो पूरा भने हुन सकेन ।

गत सेप्टेम्बर २०१८ मा विन्डोज १० का प्रयोगकर्ता ७० करोड पुगेको घोषणा माइक्रोसफ्टले गरेको थियो । यस अनुसार पछिल्लो ६ महिनामा विन्डोज १० का प्रयोगकर्ताको संख्या १० करोडले वृद्धि भएको छ । सन् २०१९ भित्रमा यो संख्या १ अर्ब सहजै नाघ्ने अनुमान गरिएको छ ।

स्मरण रहोस् विन्डोज विश्वको सबैभन्दा लोकप्रिय डेस्कटप अपरेटिङ सिस्टम पनि हो । माइक्रोसफ्टकै अपरेटिङ सिस्टम विन्डोज ७ को लोकप्रियतालाई पछि पार्दै विन्डोज १० गत जनवरीमा सर्वाधिक लोकप्रिय डेस्कटप अपरेटिङ सिस्टम बनेको थियो । विन्डोज सेभेनको बजार हिस्सा ३६.०९ प्रतिशत रहेकोमा विन्डोज १० को हिस्सा पहिलोपटक ३९.२२ प्रतिशत पुगेको थियो ।

माइक्रोसफ्टले विन्डोज सेभेन फेजआउट गर्ने मिति नजिकिँदै गर्दा आगामी दिनमा विन्डोज १० प्रयोगकर्ताको संख्यामा झनै वृद्धि हुने अनुमान गरिएको छ । विन्डोज ७ मा उपलब्ध गराउँदै आएको सेक्योरिटी अपडेट माइक्रोसफ्टले यो वर्षको अन्त्यबाट हटाउँदैछ ।

माइक्रोसफ्टको मोर्डन लाइफ एण्ड डिभाइस विभाग अन्तर्गत कर्पोरेट उपाध्यक्ष युसुफ मेहेदीले एक ट्विट गर्दै विन्डोज १० ले विन्डोजको इतिहासमै सर्वाधिक उपभोक्ता सन्तुष्टि प्राप्त गर्न सफल भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment