Comments Add Comment

दाम्पत्य सुखका लागिः तिम्रो माया ९९, मेरो माया १००

विवाहको मौसम छ । धुमधामसँग विवाह गरेर धेरै युवायुवतीले जोडी बाँध्दैछन् । अब उनीहरु दाम्पत्य जीवनमा प्रवेश गर्नेछन् । अर्थात उनीहरुको जीवनको अर्को अध्याय सुरु हुनेछ ।

विवाहलाई हामीकहाँ ‘विवाह बन्धन’ भनिन्छन् । विवाहलाई किन बन्धन भनियो होला ? किनभने विवाहअघि जुन किसिमको स्वतन्त्रता हुन्छ, जुन किसिमको मनोमानी हुन्छ, विवाहपछि ति सब छुट हुँदैन । त्यसैले त पश्चिमा समाजमा विवाहअघि हुनेवाला दुलहा वा दुलहीले आ-आफ्नै साथीसंगीसँग मदमस्त रात बिताउने गर्छन् । यसलाई ‘ब्याचलर्स पार्टी’ भन्ने गरिन्छ । अर्थात, स्वतन्त्रताका अन्तिम रात । नेपाली समाजमा पनि अहिले ‘ब्याचलर्स पार्टी’ मनाउने क्रम सुरु भएको छ ।

विवाहपछि केही मर्यादा र सीमाहरु हुन्छन् । त्यही मर्यादाले बाँधेर दाम्पत्य जीवनलाई सन्तुलित बनाउँछ । विवाह एक बन्धन हो, पारिवारिक जीवनको । दाम्पत्य जीवनको ।

जब श्रीमान् र श्रीमतीको रुपमा दुबैले एकअर्कालाई स्विकार्नुपर्ने हुन्छ, तब उनीहरुले आफ्ना केही कुरा साझेदार गर्नुपर्छ, केही कुरा मिलाउनुपर्छ, केही कुरा त्याग्नुपर्छ । भनिन्छ नि, दाम्पत्य जीवनमा समर्पण र त्याग पनि चाहिन्छ । समर्पण र त्यागले नै दाम्पत्य जीवनलाई कसिलो एवं रसिलो बनाउने हो ।

केही कुरा स्विकारौं

विवाह गरेपछि केही अघोषित सर्त पालना गर्नुपर्छ । जसै दाम्पत्य जीवनमा प्रवेश गरिन्छ, तब एकअर्काको स्वभाव, प्रवृत्ति, आचरणलाई स्विकार्नु वा परिवर्तन गर्नुपर्ने हुन्छ ।

फरक पृष्टभूमीमा हुर्किएका युवा र युवतीबीच सबैकुरा मिल्छ भन्ने हुँदैन । उनीहरुको मन मिलेपनि मत नमिल्न सक्छ । दुबैको स्वभाव र प्रवृत्ति मिल्दो नहुन सक्छ ।

श्रीमान्ले चाहन्छन्, श्रीमती घरभित्रको काममा बढी लगाव राख्ने होस् । श्रीमती चाहन्छिन्, घरभित्र मात्र खुम्चिएर बस्न नपरोस् । यहाँ दुबैको आकंक्षा बाझियो । त्यसो भए दुबैले आ-आफ्नो अडान लिएर बस्ने ? यहि निहुँमा एकअर्कालाई गलाउने प्रयास गर्ने ? आफ्नो इच्छालाई सर्वोपरी ठान्ने ?

यदि त्यसो भयो भने गंभिर भुल हुनसक्छ । र, दाम्पत्य जीवन धरापमा पर्न सक्छ ।

जब आपसमा इच्छा-आकंक्षा मिल्दैन, तब दुबैले त्यसको मिलनविन्दु खोज्नुपर्छ । कसरी दुबै ‘विन विन’को अवस्थामा पुग्ने भन्ने मध्यमार्गी बाटो रोज्नुपर्छ ।

कतिपयको स्वभाव के हुन्छ भने, आफुले गरेको निर्णय वा आफ्नो सोंच एकदम ठिक छ । आफुले गरेकै कुरा स्विकार्य हुनुपर्छ । यस किसिमको हठले दाम्पत्य जीवन चल्दैन । जब आफ्नो जीवनमा अरु कोही प्रवेश गर्छ भने, उसको लागि पनि आफुले केही स्पेश दिनैपर्छ । उनको रुचीको लागि स्पेश, उनको आंकक्षाका लागि स्पेश, उनको स्वभावको लागि स्पेश ।

विवाहलाई त्याग र समर्पण भन्नुको अर्थ यो पनि हो । अरुको कुरा पनि स्विकारौं । अरुको इच्छा र आकंक्षा पनि स्विकारौं ।

केही कुरा त्यागौं

विवाहअघि सबै कुरा आफ्नो मर्जी अनुसार चल्छ । के खाने, कहाँ जाने, के लगाउने भन्नेदेखि भविष्यको योजना के बनाउने भन्नेसम्म । तर, विवाह गरेपछि सबै कुरा आफ्नो मर्जी अनुसार हुँदैन ।

हुनसक्छ, आफुलाई समयमा खान मन नलाग्ने । समयमा सुत्न वा उठ्न मन नलाग्ने । तर, विवाह पछि यस्ता कुरा त्याग्नुपर्छ र आफ्नो पार्टनरसँग लय मिलाउने प्रयास गर्नुपर्छ ।

आफु जस्तो छु, त्यस्तै स्विकार्नुपर्छ भन्ने धारणाले दाम्पत्य सुखमा भाँजो हाल्छ ।

हामी जतिबेला अविवाहित थियौं, धेरै कुरा आफ्नै मर्जी अनुसार चलाउथ्यौं । हामीलाई जे मन लाग्छ, गर्न छुट थियो । हामी आफ्नै मनोमानी अनुसार जिउने गथ्र्यौं । तर, विवाहपछि हामीले आफुलाई सन्तुलित र संयम राख्नुपर्छ । आफुलाई सर्वेसर्वा ठान्नुहुँदैन । कुनैपनि निर्णय गर्दा आफुलाई केन्द्रमा राख्ने होइन, दुबैको इच्छा र रुचीलाई ध्यानमा राख्नुपर्छ ।

मानौ तपाईंलाई अक्सर घरवाहिर बस्न मन लाग्छ । साथीभाईसँग जमघट गरिरहन रुची लाग्छ । घुमफिरमा औधी रमाउनुहुन्छ । तपाईं आफुलाई समयसीमाको बन्धनमा राख्नुहुन्न । यो तपाईंका आफ्नो रुची र स्वभाव हो ।

तर, विवाहपछि पनि तपाईंले आफ्नो रुची र स्वभावलाई सर्वोपरी ठान्नु गलत हुनसक्छ । किनभने तपाईंका पार्टनरलाई यस्तो कुरामा रुची नहुन सक्छ । तपाईंको सामिप्यता खोज्न सक्छन् । यस्तो बेला तपाईंले केही कुरा त्याग्नैपर्छ । किनभने विवाह भनेको त्याग पनि त हो ।

केही कुरा बुझौ

जब विवाह गरिन्छ, तब हाम्रो दायरा अझ फराकिलो हुन्छ । हाम्रा सम्बन्धका आयमहरु बढ्छन् । हामीले आफ्ना लागि मात्र होइन, अरुको लागि पनि कतिपय कुरामा सम्झौता गर्नुपर्ने हुन्छ ।

दुलहीले नयाँ घर, नयाँ परिवेश, नयाँ परिवारका सदस्यहरुसँग आफ्नो तालमेल मिलाउनुपर्ने हुन्छ । दुलहाले पनि आफ्ना सासु-ससुराप्रति सद्भाव र सम्मानभाव देखाउनुपर्छ । दुबैले एकअर्काको परिवारलाई आफ्नै पारिवारिक सदस्यको हिसाबले एकमुष्ठ गर्नुपर्छ ।

कतिपय अवस्थामा चाहि दुलहा वा दुलहीका आर्थिक, सामाजिक पृष्टभूमी मिल्दैन । यस्तो अवस्थामा एउटामाथि अर्को हावी हुन्छन् । एउटामाथि अर्कोको हस्तक्षेप बढ्छ । यो भनेको आफ्नो दम्भ हो । दम्भले दाम्पत्य जीवन फिका बनाउँछ ।

त्यसैले अरुलाई हेलाहोचो गर्ने, दबावमा राख्न खोज्ने, आफु हावी हुन खोज्ने गर्नै हुँदैन । दाम्पत्य सुखका लागि दुबैले एकअर्कालाई बुझ्नुपर्छ । एकअर्काको परिवारलाई सम्मान गर्नुपर्छ ।

सुख-दुःख बराबर

दम्पत्य जीवनमा तालमेल मिलाउनका लागि एकअर्काको सहयोग, सहकार्य, सद्भाव आवश्यक हुन्छ । भनिन्छ नि, एउटा मात्र हातले ताली बज्दैन । ताली बजाउनका लागि वा तालीबाट ताल एवं लय निकाल्नका लागि दुबै हातले बराबर प्रयास गर्नुपर्छ ।

श्रीमान्को योजना के छ ? त्यसमा श्रीमती सहभागी बन्नुपर्छ । श्रीमती के चाहन्छन् ? त्यसमा श्रीमान् सहयोगी बन्नुपर्छ ।

घरायसी काम होस् चाहे वाहिरी व्यवहारको दुबैले एकअर्काको सहयोगी बन्नुपर्छ । किनभने श्रीमान् वा श्रीमती नै सबैभन्दा भरपर्दा, विश्वासिलो र नजिकका साथी हुन्छन् । त्यसैले एकअर्काको उन्नती, प्रगति, खुसी र उत्साहका लागि दुबैको सहभागीता र उपस्थिती बराबर हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment