Comments Add Comment

गृह प्रवक्ता भन्छन्– राहत र उद्धारमा कुनै कसर बाँकी राख्दैनौं

१८ चैत, काठमाडौं ।  गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

हावाहुरी प्रभावित क्षेत्रमा पुगेको क्षति, उद्धार तथा राहत कार्यबारे कुरा गर्दै उनले अवस्था सरकारको नियन्त्रणमा रहेको बताए । ‘अहिले तीनवटै तहका सरकार आ–आफ्नो ढंगले परिचालित छन् । स्थानीय तहमा गाउँपालिका तथा नगरपालिका अध्यक्ष, प्रदेश तहमा मुख्यमन्त्रीको संयोजकत्वमा र केन्द्रमा गृहमन्त्रालयको संयोजकत्वमा समितिहरु छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति छ । ती समितिहरुबाट आ–आफ्नो ढंगले राहत, उद्धारलगायतका काम भइरहेका छन्’, उनले उद्धार तथा राहतबारे जानकारी दिँदै भने ।

सुवेदीले हावाहुरीले पुगेको क्षति, घाइतेको अवस्था र उद्धार कार्यबारे अनलाइनखबरसँग यसरी बेलिविस्तार लगाएः

विपद व्यवस्थापन ऐन अनुसार तीनवटै तहका सरकार आ–आफ्नो ढंगले परिचालित छन् । स्थानीय तहमा गाउँपालिका तथा नगरपालिका अध्यक्ष, प्रदेश तहमा मुख्यमन्त्रीको संयोजकत्वमा र केन्द्रमा गृहमन्त्रालयको संयोजकत्वमा समितिहरु छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति छ । ति समितिहरुबाट आ–आफ्नो ढंगले राहत, उद्धार लगायतका काम भइरहेका छन् । पीडितको उद्धार तथा राहत वितरणको काममा कुनै कसर बाँकी राख्दैनौं । तदारुकताका साथ काममा खटिन केन्द्रबाट मातहतका निकायमा निर्देशन भएको छ ।

केन्द्रको कुरा गर्ने हो भने हामीले राति नै घटनाको जानकारी पायौं । त्यसलगत्तै सेनाका हेलिकोप्टर तयारी अवस्थामा राखेका थियौं । तर, राति पठाउन सकिएन । आवश्यक परेमा ति हेलिकोप्टर अहिले पनि पठाउन सकिन्छ । हामीसँग स्ट्यान्डबाई छन्, यद्यपि अहिलेसम्म जिल्लाबाट पर्दैन भन्ने रिपोर्टिङ छ ।

सशस्त्र प्रहरीको एपीएफका तीन वटा ठूला ट्रकमा राहत सामग्री भने सडकमार्गबाट राति नै त्यसतर्फ पठाएका छौं । सायद आज बिहान पुगिसके होलान् । त्यसमा औषधि, खाद्यान्न, कपडा, भाँडाकुँडा लगायत छन् ।

जिल्लामा पनि विपद व्यवस्थापन समितिको बैठक बसेर आवश्यक कामहरु भइरहेको छ । केही थप पर्‍यो भने पनि हामी काठमाडौंबाट पठाउँछौं । सबै स्ट्याण्डबाई राखेका छौं । हेलिकोप्टरहरु पनि स्ट्याण्डबाई छन् । नेपाली सेनाको स्काइ ट्रकहरु हिजोदेखि बाराको सिमरामा तयारी अवस्थामा राखिएको छ, घाइतेहरु ल्याउनको लागि ।

औषधि उपचारको लागि हामीले स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर काम गरेका छौं । घाइतेहरुको निःशुल्क उपचार गर्ने भनेका छौं । रक्तदानको लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्न भनेका छौं । सर्वसाधारण, सामाजिक अभियन्ता र सुरक्षाकर्मीहरुले पनि रक्तदान गरेका छन् ।

जिल्ला तहमा हाम्रो समन्वय भइरहेको छ । सीडीओ साबहरुसँग समय समयमा कुराकानी भइरहेको छ । समन्वय गर्दाखेरि धेरै ठूलो समस्या छैन अहिलेसम्म भन्ने कुरा आइरहेको छ ।

धनक्षतिको विवरण आउन बाँकी छ । पोलहरु ढलेका छन् । घरहरु भत्केका, उडेका छन्, बजार क्षेत्रका सटरहरु भाँचिएका छन् । गाडीहरु पल्टिएका छन् भन्ने सूचना त आएको छ, तर ठ्याक्कै धन क्षतीको विवरण एकिन हुन सकेको छैन । त्यो विवरण संकलनको काम भइरहेको छ ।

(अनलाइनखबरसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment