
२१ चैत, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक छन् ।
हाल उनीहरुको परिचय खुलाइएको छैन ।
पक्राउ परेकाहरु थाइ लाइन एयरको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले अनलाइनखबरलाई बताए ।
उनका अनुसार बरामद सुन गहनाको रुपमा ल्याइएको थियो । ‘हामीले सुन सक्कली हो या होइन भन्ने जाँच्नलाई पठाएका छौं’, भण्डारीले भने, ‘जाँच्न पठाएको मध्ये ४ सय ९७ दशमलब ६५ ग्राम सुन सक्कली भएको देखिएको छ । अन्य परीक्षण हुँदैछ ।’
उनले परीक्षणपछि मात्रै थप प्रष्ट हुने बताए । जलप लगाएर गरगहनाको रुपमा सुन ल्याइएकाले परीक्षणपछि मात्रै यकिन हुने उनको भनाइ छ ।
थप अनुसन्धान जारी छ ।
यसअघि उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानका क्रममा करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणको फर्दाफास भएसँगै विमानस्थलबाट हुने तस्करीको सेटिङ ध्वस्त भएको सुरक्षा अधिकारीले बताउँदै आएका छन् ।
तर, तस्करी गर्ने समूहले विभिन्न तरिका अपनाएर सुन भित्र्याउने क्रम अझै जारी छ ।
प्रतिक्रिया 4