Comments Add Comment

रोहितकुमारको कप्तानीमा यू-१९ विश्वकप छनोट यात्रा

२३ चैत, काठमाडौं । यू-१९ विश्वकपका लागि छनोट हुन लक्ष्यका साथ नेपाली युवा टोली शनिबार मलेसिया प्रस्थान गरेको छ ।

सन् २००० मा पहिलो यू-१९ विश्वकप खेलेको नेपालसँग २००६ मा प्लेट च्याम्पियन भएको गर्विलो इतिहास छ तर, २०१०, १०१४ सँगै पछिल्लो संस्करण १०१८ मा छनोट नै हुन नसकेको नमिठो विगतले पनि छ । यो पटक भने फेरि उमेर समूहको विश्वकपमा छनोट हुन बलियो दोबदारका रुपमा हेरिएको छ ।

नेपाली युवा टोलीको कप्तानीको जिम्मेवारी रोहितकुमार पौडेललाई दिइएको छ । पछिल्लो समय राष्ट्रिय टिममा नियमित सदस्य जस्तै बनेका रोहित पनि आफ्नो कप्तानीमा नेपाललाई फेरि विश्वकपमा पुर्‍याउन लालायित देखिएका छन् ।

मलेसिया प्रस्थान गर्नुअघि उनले भने, ”मेरो लागि अवसर हो कि आफूलाई प्रमाणित गरौं र नेपाललाई यू-१९ विश्वकपका छनोट गराऔं । २०२० को विश्वकप खेलौं ।’

नेपालको तयारी पनि राम्रो छ । नेपालमा बन्द प्रशिक्षणपछि भारतमा १५ दिन अभ्यास गरेको थियो । त्यसक्रममा खेलेको ६ मध्ये चार खेल नेपाली टोलीले जितेको थियो ।

प्रशिक्षक विनोद दासले भन्छन्, ‘हामीले पहिलो पटक छ वटै म्याचमा २०० प्लस स्कोर सहजै बनाएका थियौं । चाहे ५० मा ४ गएको होस् १०० मा चार गएको होस् । हामीले पुरै ५० ओभरको म्याच खेलेर २२०/२३० रन बनाइरहेका थियौं ।’

नेपालको बलियो पक्ष ब्याटिङ नै मानिएको छ । कप्तान रोहितकुमारसँगै सन्दीप जोरा, भीम सार्की, कुशल मल्ल ठूलो पारी खेल्न सक्ने क्रिकेटर हुन् भने पवन आसिफ शेख, कमल सिंह ऐरीसँगै पवन सरार्फ, रासिद खान लगायतका अनुहार पनि छन् ।

‘ यो पटक यस्तो छैन कि एक जनामा टिम भर परेको छ । म आउट हुँदा पनि २५० रन बनेको छ । नयाँ नयाँ खेलाडीले रन बनाएका छन्’ कप्तान रोहितकुमार भन्छन् ।

त्यसमाथि यो पटक पछिल्लो पटक नेपालका लागि तगारो बनेको अफगानिस्तान छनोट खेलका छैन । आईसीसीको पूर्ण सदस्य राष्ट्र भएकाले उसले सिधै विश्वकप खेल्छ ।

प्रशिक्षक दास भन्छन् ‘हाम्रो अहिलेसम्म छनोटमा अफगान तगारो बनेको थियो । उनीहरु नभएको बेला हामीले राम्रो गर्छौं भन्ने अपेक्षा छ तर, प्रतियोगितामा जे पनि हुन्छ ।’

खासगरी यूएई, हङकङ, कुवेत, ओमानको टिम कस्तो छ भन्ने प्रतियोगिता सुरु नभएसम्म भन्न गाह्रो हुन्छ । पाकिस्तान, भारत, श्रीलंकाबाट गएकाहरुलाई टिममा राख्ने भएकाले विपक्षी टिमबारे अनुमान लगाउन गाह्रो हुन दास बताउँछन् ।

नेपालले पहिलो खेल सिंगापुरविरुद्ध १२ अपि्रलमा खेल्नेछ । त्यसपछि यूएई, मलेसिया, ओमान र कुवेतसँग खेल्नेछ । समूह चरणको शीर्ष टोली विश्वकपमा पुग्नेछ ।

टिम नेपालः रोहितकुमार पौडेल (कप्तान), अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमल सिंह ऐरी, कुशल मल्ल, आशिफ शेख, पवन सरार्फ, प्रतिश जीसी, रासिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा र सूर्य तामाङ

प्रशिक्षकः विनोद दास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment