Comments Add Comment

च्याम्पियन्स लिग : के होला क्वार्टरफाइनल खेल ?

२६ चैत, काठमाडौं । च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा मंगलबार राति टोटनह्याम र म्यानचेस्टर सिटी साथै लिभरपुल र एफसी पोर्टोबीच खेल हुँदै छ ।

राति पौने १ बजे हुने खेलमा प्रिमियर लिगका क्लब टोटनह्याम र म्यानचेस्टर सिटीले टोटनह्यामको मैदानमा साथै इंग्लिस क्लब लिभरपुल र पोर्चुगिज क्लब पोर्टोले लिभरपुलको मैदानमा खेल्ने छन् ।

टोनह्याम भर्सेस म्यानचेस्टर सिटी

टोटनह्यामका प्रशिक्षक मोउरिसियो पोचेटिनोले म्यानचेस्टर सिटीविरुद्धको खेल आफ्नो प्रशिक्षणकालकै सबैभन्दा महत्वपूर्ण खेल रहेको बताएका छन् । ‘गएको केही वर्षदेखि म्यानचेस्टर सिटी असाध्यै बलियो टिम बनेको छ । यो असाध्यै कठिन खेल हुने छ भन्ने हामीलाई थाहा छ’ उनले भनेका छन्, ‘यदि अहिलेको समय सबै कुरा जित्न सक्ने कुनै टिम छ भने त्यो म्यानचेस्टर सिटी नै हो । तर हामी उनीहरुलाई हराउने तरिकाले नै अगाडि बढ्ने छौं ।’

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले पनि आफूहरुको टिम राम्रो रहे पनि लगातारको खेल रहेकाले कतिसम्म गर्न सकिन्छ एकीन नभएको बताएका छन् ।

‘हामीले कति आराम पाउन सक्छौँ त्यो थाहा छैन । हामीले अवस्थाको मूल्यांकन गरेर सही रुपमा अगाडि बढ्न सक्नुपर्छ’ उनले भनेका छन् ।

केही तथ्य

युरोपियन प्रतिस्पर्धामा १९७३ अप्रिलपछि टोटनह्यामले अहिलेसम्म इंग्लिस टिमको सामना गरेको छैन । १९७३ मा युईएफ कपको सेमिफाइनलमा टोटनह्याम लिभरपुलसँग हारेको थियो ।

म्यानचेस्टर सिटीले प्रिमियर लिगकै प्रतिस्पर्धीसँगको युरोपियन प्रतिस्पर्धामा चारै खेल हारेको छ । १९७०–७१ मा कप विर्नस कपको सेमिफाइनलमा चेल्सीसँग हारेको म्यानचेस्टर सिटी गएको वर्ष क्वार्टरफाइनलमा लिभरपुलसँग दुवै लेगमा हारेको थियो ।

प्रिमियर लिगमा टोटनह्यामसँगको पछिल्लो १६ खेलमा ११ खेल म्यानचेस्टर सिटीले जितेको छ । जसमा १ खेल बराबरी भएको छ भने ४ खेल हारेको छ ।

यसअघि २०१०–११ मा च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पुगेको टोटनह्याम रियल मड्रिडसँग समग्रमा ५–० ले हारेको थियो ।

लिभरपुल भर्सेस एफसी पोर्टो

पोर्टोविरुद्धको खेलको तयारीमा रहेका लिभरपुल प्रशिक्षक जर्गेन क्लोपले भविष्य आफ्नो पक्षमा हुने आँकलन गरिरहेका छन् । गएको वर्ष अन्तिम १६ को खेलमा लिभरपुलले पोर्टोलाई समग्रमा ५–० ले हराएकाले पनि यो सिजन दबाव कम रहेको विश्वासमा क्लोप देखिन्छन् ।

‘हामी अहिले राम्रो अवस्थामा छौं । सबै खेलाडीहरु उत्कृष्ट खेल देखाउन तयार छन् । अभ्यासमा पनि त्यो राम्रो अवस्था देख्न सकिन्छ । यसैले अब भविष्य हाम्रै हो भन्ने लाग्छ’ क्लोपले भनेका छन् ।

तर क्लोपले आफूहरुले क्पाटरफाइनलमा पोर्टोसँग खेल नहोस् भनेर सोचेको पनि बताएका छन् । ‘संख्या र खेलाडीको नाम हेरेर मात्र हुँदैन । फुटबल बुझ्ने जोकोहीले पोर्टोलाई विपक्षी चाहँदैन, हामीले पनि चाहेका थिएनौँ’ उनले भनेका छन् ।

पोर्टोका प्रशिक्षक सर्जियो कोन्सेसाओले लिभरपुललाई हराउनका लागि आफूहरु अलि बढी चनाखो हुनुपर्ने बताएका छन् ।
‘लिभरपुल उच्च स्तरमा रहेको छ । उनीहरुले हरेक हप्ता राम्रो खेल खेलिरहेका छन् । हामी कुनै पनि टिमसँग कमजोर हुँदैनौं ।

लिभरपुललाई हराउन हाम्रो तयारी राम्रो हुनुपर्छ, उनीहरुसँग अलि चनाखो भएर नै खेल्नुपर्छ’ उनले भनेका छन् ।

केही तथ्य

पोर्टोसँगको पछिल्लो ६ खेलमा लिभरपुलले कुनै खेल हारेको छैन । ३ खेल बराबरी खेलेको छ भने ३ खेल जितेको छ ।

यो सिजन च्याम्पियन्स लिगका लिभरपुलले गरेको १२ गोलमा सबै डिबक्स भित्रबाट मात्रै गरेको छ । यस्तै पोर्टोले पनि जारी च्याम्पियन्स लिगमा गरेको ९ गोलमा सबै गोल डिबक्सभित्रबाटै गरेको छ ।

च्याम्पियन्स लिगको नकआउट चरणमा पोर्टोले खेलेका १२ अवे खेलमा कुनै पनि खेल जितेको छैन । चार खेल बराबरी गरेको छ भने ८ खेल हारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment