Comments Add Comment

भारतमा लोकसभा चुनाव सुरु, कसले जित्ला ?

२८ चैत, काठमाडौं । भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटमा निर्वाचन भएको हो । ११ अप्रिलबाट सुरु चुनाव १९ मेसम्म चल्ने छ । मत गणना भने २३ मेबाट सुरु गरिने छ ।

तल्लो  सदन लोकसभाका लागि कुल १ हजार २७९ उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरुको फैसला १४ करोड २० लाख ५४ हजार ९७८ मतदाताले गर्नेछन् । यी मतदाताका लागि १० लाख बढी मतदान केन्द्र तोकिएका छन् । भिन्नाभिन्नै राज्यमा भिन्नाभिन्नै समयमा मतदान हुनेछ ।

लोकसभाका लागि ५४३  सदस्य  निर्वाचित हुनेछन् । कम्तिमा २७२ सिट जुन पार्टीले जित्छ उसैले सरकारको नेतृत्व गर्नेछ । यसै चुनावबाट भाजपा नेता नरेन्द्र माेदी दोस्रो कार्यकालको लागि दोहोरिने कि नदोहोरिने भन्ने फैसला पनि हुने छ ।

यसपटक भाजपालाई राहुल गान्धी नेतृत्वको कांग्रेसले टक्कर दिने बताइएको छ । सन् २०१४ मा भएको लोकसभा चुनावमा २८२ सिट जितेको भाजपाबाट सरकारको नेतृत्वमा पुगेका थिए माेदी । त्यतिबेला कांग्रेसले २८ सिट मात्र जितेको थियो ।

पहिलो चरणमा १० राज्यका सबै सिटमा आज मतदान सम्पन्न हुनेछ । यस्तै आन्ध्रप्रदेशका सबै १७५ सिट, अरुणाचल प्रदेशका सबै ६०, सिक्मिका सबै ३२ र ओडिसाका १४७ मध्ये २८ सिट विधानसभाका लागि पनि बिहीबार नै मतदान भएको छ ।

पहिलो चरणमा ९१ सिटमध्ये ३३ सिटमा भाजपा–कांग्रेस या एनडीए–यूपीए बीच सीधा टक्कर हुने भारतीय मिडियाहरुले अनुमान गरेका छन् । यसमध्ये सबैभन्दा धेरै महाराष्ट्रका सात सिट छन् । चार–चार सिट असम र उत्तराखण्ड तथा पाँच सिट बिहारका छन् ।

यसैगरी ३५ यस्ता सिट यस्ता छन् जहाँ तीनदेखि चार मुख्य राजनीतिक दलका प्रत्यासी आमने सामने छन् । यसमा सबैभन्दा धेरै आन्ध्रप्रदेशका २५ सिट छन् । त्यहाँ तेदेपा, वाईएसआरसीपी, भाजपा र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै ८ सिट उत्तर प्रदेशका छन् जहाँ भाजाप र कांग्रेसका अलावा सपा, बसपा र रालोदले आफ्नो संयुक्त उम्मेदवार उठाएका छन् ।

पहिलो चरणमा आन्ध्रप्रदेश, अरुणाचल, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अन्डमान र निकोबार द्वीप समूह र तेलंगनाका सबै लोकसभाका सिटमा मतदान जारी छ । यसै चरणमा असम, बिहार, छत्तिसगढ, जम्मु–कश्मीर, महाराष्ट्र, मणिपुर, ओडिसा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका केही लोकसभा सिटका लागि पनि मतदान भइरहेको छ ।

पहिलो चरणमा केही मुख्यमन्त्री, धेरै केन्द्रीय मन्त्री र बिभिन्न पार्टीका वरिष्ठ नेताहरुको भविष्य दाउमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment