+
+

जेट एयरका सबै अन्तर्राष्ट्रिय उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २९ गते ६:०३

२९ चैत, काठमाडौं । जेट एयरवेजले सबै अन्तर्राष्ट्रिय उडानहरु रद्द गरेको छ । जेट एयरवेज आर्थिक संकटमा फसेको छ । उडानहरु रद्द गर्नुको कारण पनि त्यही नै रहेको एयरवेजले जनाएको छ ।

भारतीय मिडियाहरुका अनुसार यसका साथै जेट एयरवेजले अन्य १० विमानहरुलाई पनि सेवाबाट हटाएको छ । यसरी जेटले हालसम्म ७९ विमानहरुलाई सेवाबाट हटाइसकेको छ ।

जेटलाई ऋण प्रवाह गरेका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना जारी गरेको छ । एसबीआई क्यापिटलले १२ अप्रिलबाट लिलाम बढाबढको प्रक्रिया सुरु गर्ने जनाएको छ । अन्तिम म्याद ३० अप्रिलसम्म तोकिएको छ ।

जेट एयरकै पूर्वअध्यक्ष नरेश गोयलले शेयर खरिद गर्ने चर्चा छ । नेरश गोयल र उनकी पत्नी अनिताले गत २५ मार्चमा जेट एयरवेजको बोर्डबाट राजीनामा दिएका थिए । उनीहरुले जेट एयरवेजमा आफ्नो हिस्सा पनि घटाएका थिए ।

जेट एयरवेज भारतको सबैभन्दा पुरानो निजी एयरलाइन्समध्ये एक हो । जेट एयरवेज नेपालमा लगातार दुई वर्ष सबैभन्दा बढी पर्यटक भित्राउने कम्पनी बनेको थियो ।

हाल यो एयरलाइन्स ११० करोड डलर घाटामा रहेको भारतीय मिडियाहरुले जनाएका छन् । यदि जेट एयरवेज बन्द भयो भने २३ हजारको नोकरी जोखिममा पर्ने आँकलन गरिएको छ ।

१ अप्रिल १९९२ मा यो कम्पनी खुलेको थियो । १९९३ मा चार बोइङ ७३७ विमानको साथमा पहिलो पटक उडान सेवा सुरु गरेको यो कम्पनी २०१२ मा आइपुग्दा भारतकै सबैभन्दा ठूलो निजी विमान कम्पनी बनेको थियो । तर, सन २०१८ देखि यो आर्थिक संकटमा परेको थियो ।

गत हप्तामात्र जेट एयरवेजका २५० भन्दा कर्मचारी जागिरको खोजीमा स्पाइसजेटमा गएको खबर सार्वजनिक भएको थियो । अंग्रेजी वेबसाइट मनीकन्ट्रोलमा प्रकाशित खबरअनुसार २० मार्चमा आयोजित स्पाइसजेटको वाक-इन-इन्टरभ्यूमा जेट एयरवेजका २६० पाइलट पुगेका थिए, जसमा १५० क्याप्टेन थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?