Comments Add Comment

‘खाँटी एमाले’ भन्दै दिनेश थपलियाविरुद्ध उजुरी

२९ चैत, काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्ध संसदीय सुनुवाई समितिमा ६ वटा उजुरी परेको छ ।

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित प्रदेश सांसद नरोत्तम बैद्यले थपलियाको नेतृत्वमा हुने निर्वाचन स्वतन्त्र हुन नसक्ने दाबी गर्दै सुनुवाई समितिमा उजुरी दिएका छन् ।

थपलियालाई प्रमुख निर्वाचन आयुक्त बनाइए दवाव र प्रभावमा परेर निर्वाचनको परिणाम आउने सक्ने भन्दै उनले उजुरी दिएका हुन् । ‘उहाँ (थपलिया) नेकपा मात्रै होइन खाँटी एमाले हो । त्यो खाँटी एमालेले गरेको निर्वाचनको परिणाम कसले स्वीकार्छ ?’, वैद्यले अनलाइनखबरसँग भने, ‘उहाँलाई प्रमुख आयुक्त बनाइयो भने, दवाव र प्रभावमा परेर निर्वाचनको परिणाम आउँछ । निर्वाचन स्वतन्त्र धाँधलीरहित निश्पक्ष हुँदैन । निर्वाचनको परिणाम विश्वसनीय हुँदैन ।’

निर्वाचन आयोगको आयुक्तमा कांग्रेस र कम्युनिस्ट आउन नहुने भन्दै उनले कर्मचारी आन्दोलनमा एमालेको नेतृत्व गरेका कारण थपलियालाई प्रमुख निर्वाचन आयुक्त बनाउन नहुने जिकिर गरे । ‘संसदीय सुनुवाई समितिले यसलाई सच्चयाउनुपर्यो । जसरी दीपक जोशी (तत्कालिन प्रस्तावित प्रधानन्यायाधीश) को सच्याइएको थियो’ उनले भने ।

थपलियाविरुद्ध सुनुवाई समितिमा अन्य ५ वटा उजुरी पनि परेको छ । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुँदै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका हुन् ।

थपलिया सिफारिस भएकै दिन चैत ११ गते संवैधानिक परिषदद्वारा समावेशी आयोगको सदस्यमा सिफारिस भएकी विष्णुमाया ओझाविरुद्ध भने कुनै पनि उजुरी परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment