Comments Add Comment

चितवनका ५ सरकारी विद्यालय घटुवा, निजीका अवैध कक्षा सञ्चालनमा रोक

३० चैत, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाकाले ५ वटा सरकारी विद्यालयको कक्षा घटुवा गरेको छ । नगर शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र अनुमति नलिई कक्षा सञ्चालन गरेका र विद्यार्थी संख्या कम भएका ५ सरकारी विद्यालयलाई घटुवा गरेको हो ।

अर्को एक विद्यालयलाई भने गाभिएको छ । गाभिएको विद्यालयका विद्यार्थीलाई अन्यत्रै संख्या बढी भएको स्थानमा पठाउने निर्णय भएको नगर शिक्षा समितिका सदस्य प्रेम रिमालले जानकारी दिए । आधारभूत विद्यालय गोठेश्वरले अनुमति नलिई सञ्चालन गरेको कक्षा ७ लाई खारेज गरेको छ ।

नगर कार्यपालिकाको बैंठकले अनुमति नलिई अवैध कक्षा सञ्चालन गर्दै आएका केही निजी विद्यालयलाई कक्षा सञ्चालन गर्न नदिने निर्णय गरेको छ । खैरहनी नगरपालिका वडा नं. ८ मा रहेको ज्ञानसुधा इग्लिस स्कुलले कक्षा २, ३, ४ र ५ दर्ता नगरी अवैध रुपमा सञ्चालन गर्दै आएकोमा कक्षा २ मात्रै सञ्चालनको गर्न अनुमति पाएको छ । कक्षा ३,४ र ५ सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै, एकै बर्षमा जिल्ला शिक्षा कार्यालयबाट दुईवटा कक्षा सञ्चालनको अनुमति लिएको नेशनल आवासीय मावि खैरहनी ८ लाई कक्षा ४ र ५ समेत सञ्चालन गर्न अनुमति दिइएको छ ।
यो पनि पढ्नुहोस चितवन खैरहनीका निजी विद्यालयमा अवैध कक्षा सञ्चालन

दीपज्योती इग्लिस बोर्डिङ स्कुल खैरहनीले कक्षा ६ मात्रै सञ्चालनको अनुमति पाएको छ भने, अवैध रुपमा चलाइएका कक्षा ७ र ८, कम्युनिटी स्कुलका पनि दर्ता नभएका केही कक्षा सञ्चालनमा रोक लगाइएको छ ।

यी विद्यालयहरुले ७/८ वर्ष अगाडिदेखि नै अवैध रुपमा कक्षा सञ्चालन गर्दै आएका थिए । गत वर्ष खैरहनी नगरपालिकाको शिक्षा समितिले अवैध कक्षा बन्द गर्न वा दर्ता प्रकृयामा आउन निर्देशन दिए पनि ती विद्यालय दर्ता हुन आएनन् ।

नगर शिक्षा समितिका सदस्य सचिव एवम् नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले एक वर्षमा एक कक्षा मात्रै सञ्चालनको अनुमति पाउने भएकाले निवेदन दिएका विद्यालयहरुलाई विद्यार्थी संख्याको आधारमा सञ्चालनको अनुमति दिइएको बताए ।

नगर कार्यपालिकाको बैंठकले नगर शिक्षा समितिका तर्फबाट कक्षा अनुमति पाएका विद्यालयमा मात्रै अभिभावकहरुले विद्यार्थी भर्ना गराउन र विद्यालयले पनि अनुमति नपाएका कक्षामा भर्ना नलिन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेपनि अझै सूचना जारी भएको छैन । विद्यालयहरुले यतिबेला धमाधम विद्यार्थी भर्ना कार्यक्रम अघि बढाएका छन् ।

नगर शिक्षा अधिकारी पौडेलले केहीदिनमा नै सूचना जारी गरिने बताए । उनले विद्यालयहरुलाई पनि आफूले अनुमति प्राप्त गरेका कक्षाको विवरण सार्वजनिक सूचना पार्टीमा टाँस गर्न भनिएको बताए ।

कक्षा सञ्चालन अनुमतिमा निजीलाई भन्दा सरकारलाई गाह्रो

नगरपालिकाको शिक्षा समितिले कक्षा सञ्चालनको अनुमति लिन निजीलाई भन्दा सरकारलाई गाह्रो हुने मापदण्ड बनाएको छ । सरकारी विद्यालयले २५ जना विद्यार्थी भएपछि मात्रै कक्षा सञ्चालन अनुमति पाउँछ भने निजीले २२ जना । शिक्षा ऐनमा नै सरकारी विद्यालयले कक्षा अनुमति लिन ५० जना र निजीले ४२ जना विद्यार्थी संख्या पुर्‍याउनुपर्ने मापदण्ड बनाएको छ ।

तर, खैरहनी नगरपालिकाले विद्यार्थीको संख्या आधामा झारेर मापदण्ड बनाएको छ । नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले केन्द्रीय नीति अनुसार संख्याका आधा बनाउँदा निजीले भन्दा सरकारीले कक्षा सञ्चालन अनुमति पाउन धेरै विद्यार्थी पुर्‍याउनुपर्ने मापदण्ड बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment